+
+

नालाको ढक्कन ठेकेदारको छतमा, सडकमा खेल्दाखेल्दै विलुप्त भए रोहन

शैलेन्द्र महतो शैलेन्द्र महतो
२०८० भदौ २९ गते २०:४५

२९ भदौ, जनकपुरधाम । करिब दुई वर्षका बालक रोहनलाई घरी आमा पुनिताले काखी च्याप्छिन्, घरी अँगालो हाल्छिन् । घरी हजुरआमा अनिताले ओछ्यानमा सुताउँछिन्, घरी म्वाईं खान्छिन् ।

र, विलाप गर्छन्- ‘रे बउवा, रे उठन रे ! रे पोता कतगेले रे ! अब हम केकरा देख धिरज धरब रे ! रे कत छोइरक चलिगेले रे !’

धनुषाको जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २५ लोहनाको हजाम टोल बिहानैदेखि शोकमा छ । रञ्जित मुखियाको आँगनमा जम्मा भएकाहरूले सासू–बुहारी अनिता–पुनितालाई सम्झाइरहेका मात्र छैनन्, आक्रोश पनि पोखिरहेका छन् ।

क्रोधको कारण हो, करिब दुई वर्षअघि ढलान गरिएको नालाको चेम्बर खुला छाड्नु । त्यही खुला चेम्बरबाट नालामा खसेर शुक्रबार बिहान रञ्जितका करिब दुई वर्षीय छोरा रोहनको मृत्यु भएको छ ।

आमा पुनिता र हजुरआमा अनिता बिहानै उठेर घरको काममा व्यस्त भए । अनिताका जेठो छोरा ८ वर्षीय अजित र कान्छो रोहन उठेर घर अगाडिको सडकमा खेल्न थाले ।

सडकमा खेलिरहेका रोहन क्षणभरमै हराए । पुनिता र अनिता छिमेकको घरघरमा पुगेर खोज्न थाले ।

त्यही बेला छिमेकी अमृताले सडकको नछोपिएको नाला (चेम्बर) मा बालकको थोरै खुट्टा देखिन् । खेलिरहेको बिरालोलाई पछ्याउने क्रममा नालामा खसेको हुनसक्ने स्थानीयको आशंका छ ।

‘म भैंसीलाई घाँस हाल्न आउँदा नालामा थोरै खुट्टा देखें’ उनले अनलाइनखबरसँग भनिन्, ‘अत्तालिएर चिच्याएँ, तुरुन्तै निकालें । हल्का सास चलेको जस्तो मात्र लाग्यो ।’

स्थानीय नन्दकुमार महराका अनुसार परिवारजनले फोहोर धोएर सुरुमा नजिकको क्लिनिक पुर्‍याए । त्यसपछि प्रादेशिक अस्पताल जनकपुर पुर्‍याएका थिए । तर रोहनको मृत्यु भइसकेको थियो । चिकित्सकले मृत घोषणा गरे ।

परिवारको आर्थिक अवस्था कमजोर छ । मृतकका बाबु रञ्जित डेढ वर्षदेखि कतारमा छन् । बालकको उपचार र लालनपालनका क्रममा लागेको ऋण तिर्न, अनि घरव्यवहार चलाउने रकम जोहो गर्न उनी वैदेशिक रोजगारीमा गएका थिए ।

बालक खसेको नाला ।

रोहन सात महिनामै जन्मिएको थियो । ऊ बिरामी परिरहन्थ्यो । ऋण काढेर उपचार गरे । ‘छोराको उपचारमा लागेको ऋण चुक्ता गर्न रञ्जित विदेश गएका थिए’ स्थानीय पवित्री देवी भन्छिन्, ‘तर ठेकेदारको बदमासीले रोहन अब यस दुनियाँमा रहेन ।’

स्थानीय जनप्रतिनिधि र उपभोक्ता समितिलाई पटक–पटक ध्यानाकर्षण गराउँदा पनि नालामा ढकनी नराखेकै कारण बालकको ज्यान गएको भन्दै स्थानीय आक्रोशित छन् । ‘ढकनीले नछोप्दा दुर्घटना हुन सक्छ भनेर हामीले पटक–पटक वडाध्यक्ष, उपभोक्ता समिति लगायतलाई जानकारी गरायौं । तर कसैले वास्ता गरेनन्’ स्थानीय जितेन्द्र मण्डल आक्रोश पोख्छन्, ‘त्यही कारण आज बालकले ज्यान गुमाउनु परेको छ । दोषीमाथि कारबाही हुनुपर्छ ।’

चार दिनअघि मात्र नाला सफा राख्नुपर्ने र ढकनी लगाउनुपर्ने भन्दै स्थानीय युवाहरू वडा कार्यालयमा पुगेका थिए । तर वडाध्यक्षले दर्ता नै नगरेको नन्दकुमार महराले गुनासो गरे । घटनापछि उनीहरूले वडाध्यक्ष चन्देश्वर साहलाई खबर गरेका थिए, तर उनी नआएपछि वडा कार्यालयमा तालाबन्दी गरेका छन् ।

वडाध्यक्ष साह भने आफूलाई आउनुपर्छ भनेर कसैले नभनेकाले नगएको दाबी गर्छन् । ‘बिहान मैले थाहा पाएपछि प्रहरीलाई खबर गरिदिएँ’ उनले भने, ‘मलाई कसैले आउनुपर्छ भनेर जानकारी नै दिएन । कसैले आउन भने पो जानू ।’

साथै यो सडक र नालाको काम आफ्नो पालामा नभएको र कसैले नाला खुल्ला छ भनेर नभनेको दावी गर्छन् । उनले दावी गरे जस्तै यो सडक उनको पालामा बनेको होइन, तर नालामा ढक्कन नलगाएको बेखबर चाहिं थिएनन् ।

ठेकेदारको घरको छतमा थुप्रिएका छन् ढक्कन

यो सडक र नाला आर्थिक वर्ष २०७७/७८ मा संघीय बजेटबाट बनेको थियो । ५० लाखको लागतमा स्थानीय शम्भु मण्डल अध्यक्ष रहेको उपभोक्ता समितिले ३५० मिटर बाटोमा पीसीसी ढलान र नाला बनाउने काम गरेको थियो । उपभोक्ता समितिले स्थानीय ठेकेदार अजित मण्डल मार्फत काम गराएको थियो । अजित उपभोक्ता समितिका अध्यक्ष शम्भुका भाइ हुन् ।

ठेकेदारले बाटो ढलान गरे, तर नालाको ढकनी लगाएनन् । ५८ वटा चेम्बरमा ढकनी लगाउनुपर्ने थियो । तर उपभोक्ता समितिका अध्यक्ष शम्भुको घर अगाडि पर्ने बाटोमा तीन वटा चेम्बरमा भने ढकनी लगाइएको छ ।

अन्य ठाउँमा लगाइएको छैन । बाँकी ढकनी भने ठेकेदार अजितको घरको छतमा थुपारिएको छ ।

नाला खुला राख्दा जोखिम बढेपछि केही स्थानीयले आफ्नै खर्चमा बनाएर ढकनी लगाएका छन् । ठेकेदार अजित आफूले उपभोक्ता समितिबाट काम गरेको र समयमा नालाको चेम्बरमा ढकनी लगाउन नसकेको स्वीकार गर्छन् ।

‘ढक्कन बनाउन अर्डर दिएको थिएँ, ३० वटा जति बनिसकेको थियो । तर पूरै लगाउन नसक्दा कार्यालयले भुक्तानी दिएन’ ५० लाखमध्ये ढक्कनको ६ लाख कटाएर ४४ लाख मात्र पाएको भन्दै उनले अनलाइनखबरसँग भने, त्यो ढक्कनी मेरो घरको छतमा छ । मैले भने भुक्तानी दिन भन्नुस्, म लगाइदिन्छु ।’

उपभोक्ता समितिका अध्यक्ष शम्भु सम्पर्कमा आएनन् । समितिका कोषाध्यक्ष अनुप मण्डलका अनुसार ढकनीको काम नभएकाले ४२ लाख भुक्तानी गरेको हिसाब शम्भुले सुनाएका थिए । भन्छन्, ‘म लेखपढ जान्दिनँ, सबै उनैले गरे ।’

ठेकेदार र उपभोक्ता समितिको दावीसँग संघीय आयोजना कार्यान्वयन इकाइका अधिकारीहरू सहमत छैनन् । संघीय आयोजना कार्यान्वयन इकाई कार्यालयका सव ओभरसियर मनोजकुमार मण्डल साइट भिजिट गर्दा ५२ वटा ढकनी जडान गरिएको पाएपछि मात्र उपभोक्ता समितिलाई भुक्तानी गरेको दावी गर्छन् । ‘केही काम र ६–७ वटा ढक्कन मात्र लगाउन बाँकी थियो’ उनले भने, ‘त्यसको अढाइ लाख रुपैयाँ काटेर बाँकी भुक्तानी दिएको थियो ।’

आयोजना कार्यान्वयन इकाई जनकपुरका प्रमुख प्रदीप खनाल पनि काम सम्पन्न गरे अनुसार भुक्तानी भएको दावी गर्छन् । कामविशेषले बाहिर भएका कारण (आज) शुक्रबारको घटनाबारे आफूलाई थाहा नभएको भन्दै उनले भने, ‘यो विषयमा म उपभोक्ता समितिसँग बुझ्छु । तर यो घटनामा हाम्रो कुनै दोष छैन ।’

जनकपुरधामका मेयर मनोज साह पनि यो सडकको काम उपमहानगरबाट नभएको कारण आफूलाई थाहा नभएको बताए । काठमाडौंमा रहेका उनले जनकपुर पुगेर पीडित परिवारलाई भेट्ने र लापरबाही गर्नेलाई कारबाही गर्ने दाबी गरे ।

लेखकको बारेमा
शैलेन्द्र महतो

महतो अनलाइनखबरका जनकपुर संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?