+
+

पोखराको फोहोर व्यवस्थापनमा कोइकाको चासो

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ २९ गते १७:३६

२९ भदौ, पोखरा । कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग कोइकाले पोखरा महानगरपालिकाको फोहोर व्यवस्थापनमा सहयोग गर्ने भएको छ ।

पोखरा महानगरपालिका र कोइकाबीच फोहोर व्यवस्थापन गर्न ‘रिसाइक्लिङ’ र ‘अपसाइक्लिङ’मार्फत हरित रोजगारी सिर्जना परियोजना सञ्चालनसम्बन्धी पारस्परिक प्रतिबद्धता पत्रमा हस्ताक्षर भएको छ ।

प्रतिबद्धता पत्रमा कोइकाले हरित अर्थतन्त्रमा योगदान पुर्‍याउने दीगो ‘रिसाइकल र अपसाइकल’ (आरयू) उद्यमहरूलाई बढवा दिन उपयुक्त माध्यम सिर्जना गर्ने उल्लेख गरेको छ । त्यस्तै ग्रिन भेन्चर जोन (जीभीजेड) स्थापना गर्ने र नयाँ तथा ‘आरयू’ उद्यमहरूलाई वित्तीय, प्राविधिक र बजार प्रदान गर्नेसमेत प्रतिबद्धता पत्रमा उल्लेख छ ।

प्रतिबद्धता अनुसार ग्रिन भेन्चर जोन (जीभीजेड) स्थापना गर्न पोखरा महानगरले पोखरा ६, वसुन्धरा पार्कमा ५ हजार ९० वर्ग मिटर क्षेत्रफल जमिन उपलब्ध गराउने छ । प्रतिबद्धता पत्रमा पोखरा महानगरका मेयर धनराज आचार्य र कोइकाको तर्फबाट उपप्रमुख युन यङ् लीले हस्ताक्षर गरेका थिए ।

पोखरा महानगरमा ‘जीभीजेड र आरयू’ परियोजना सञ्चालन गर्न यसअघि नै कोइका र पोखरा महानगरबीच परियोजनाको प्रारम्भिक मस्यौदामा हस्ताक्षर भइसकेको थियो । महानगर र कोइका प्रतिनिधिबीच ३० अगस्ट २०२३ मा उक्त परियोजना सम्बन्धी प्रारम्भिक मस्यौदामा हस्ताक्षर भएको थियो ।

हाल सो परियोजना नेपाल सरकार र गणतन्त्र कोरिया सरकारबीच स्वीकृतिको अन्तिम प्रक्रियामा रहेको महानगर मेयर मानबहादुर जिसीले जानकारी दिए । उक्त परियोजना दुवै पक्षबाट स्वीकृृत भए कोइकाले ९.८ मिलियन अमेरिकी डलर र यूएनडीपीले ०.८७ मिलियन अमेरिकी डलर खर्च गर्नेछ ।

परियोजनाले विशेषगरी नकुहिने फोहोर प्रशोधन सहित फोहोरबाट नयाँ चिजहरू उत्पादन गर्नेछ । यसलाई सिकाइ केन्द्रका रूपमा विकास गरिने र पोखराका लागि एक पर्यटन गन्तव्यको रुपमा स्थापित हुने र फोहरमैला सचेतनासम्बन्धी नागरिक व्यवहारमा परिवर्तन ल्याउन यस परियोजनाले महत्वपूर्ण सहयोग पुग्ने विश्वास महानगरको छ ।

कोइकाका उपप्रमुख युन यङ लीले यस परियोजनाले युवाहरूका लागि रोजगारी सृजनामा महत्वपूर्ण योगदान गर्ने विश्वास व्यक्त गरे । उनले भने, ‘पोहोर मैलाको उचित व्यवस्थापन मार्फत हरित रोजगारी सृजना र चक्रीय अर्थतन्त्रको सृजनशील उपयोग आम समुदायका लागि आवश्यक छ ।’

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले फोहोर मैलाको व्यवस्थापन निकै चुनौतीपूर्ण रहेको बताउँदै यसलाई मोहोरमा बदल्ने प्रयास स्वरूप हरित रोजगारी सृजनामा जोड्न लागिएको बताए । उनले भने, ‘यस परियोजनाले युवाहरूलाई रोजगारीसँग जोड्ने छ भने, फोहोरबाट मोहोर आर्जन हुनेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?