+
+

मासिक ८० हजार तलबमा दक्षिण अफ्रिका पठाउने प्रलोभन देखाएर २६ लाख ठगी

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ २९ गते १८:२०

२९ भदौ, काठमाडौं । वैदेशिक रोजगारीको प्रलोभनमा मोटो रकम ठगी गर्ने व्यक्ति तथा म्यानपावर कम्पनी कारवाहीमा परेका छन् । वैदेशिक रोजगारी विभागले शुक्रबार उनीहरुमाथि गरिएको कारवाहीबारे जानकारी गराएको हो ।

विभागका प्रवक्ता कविराज उप्रेतीका अनुसार खिमप्रसाद गुरुङ नाम व्यक्तिले दक्षिण अफ्रिकामा मासिक ८० हजार रुपैयाँ तलबमा काम लगाइने प्रलोभन देखाएर विभिन्न व्यक्तिबाट २६ लाख रुपैयाँ उठाएको उजुरी गरेको थियो ।

उनले सुगरमार्केटमा काममा लगाइदिने र त्यसका लागि प्रतिव्यक्ति ७ लाख खर्च हुन्छ भन्दै रकम उठाएको पाइएको छ । सो रकम उठाएर दक्षिण अफ्रिका नपठाएको र रकम समेत फिर्ता नगरेको उजुरी परेसँगै विभागले अनुसन्धान थालेको थियो ।

विभागले खिमप्रसाद गुरुङको जाहेरीबाट लिएको बिगो रकम र त्यसको ५० प्रतिशतका दरले हर्जाना समेत तिर्ने गरी वैदेशिक रोजगार न्यायाधीकरण समक्ष अभियोग पत्र दर्ता गरेको हो ।

अर्जुन पोख्रेल नामक प्रतिवादीले मासिक ६ सय रकम कमाइ हुने प्रलोभनमा सर्बिया पठाउने भन्दै ४ लाख ठगी गरेको उजुरी परेको थियो । सो बारे परेको उजुरीमा अनुसन्धान गरी बिगो रकम भर्पाई गर्न र ५० प्रतिशत जरिवाना तिर्ने समेत निर्णय गराई वैदेशिक रोजगार न्यायाधीकरणमा अभियोग पत्र दर्ता गरेको विभागले जनाएको छ ।

पोर्चुगल र कम्बोडिया पठाउने प्रलोभन देखाएर ५५ लाख ठगी

यसैगरी विभागले पोर्चुगल र कम्बोडिया पठाउने प्रलोभन देखाएर ५५ लाख रुपैयाँ ठगी गरेको आरोपमा दुई जनालाई कारवाहीका लागि सिफारिस गरेको छ ।

उमेश सेती सुराल र आर्जु सेती सुरालले सो रकम बराबरको ठगी गरेको उजुरी पछि गरेको अनुसन्धानबाट निज दुई जनालाई वैदेशिक रोजगार न्यायाधीकरणसमक्ष अभियोग पत्र दर्ता गरेको विभागले जनाएको छ ।

विभागका अनुसार दुई जनाले पोर्चुगल पठाउन तीन जनाबाट प्रतिव्यक्ति १३ लाख रुपैयाँ लिएको भेटिएको छ । एक जनाबाट ११ लाख रुपैयाँ लिएका थिए ।

कम्बोडिया पठाउने प्रलोभनमा एक जनाबाट ५ लाख र एक जनाबाट ५० हजार रुपैयाँ उनीहरुले उठाएको पाइएको छ । वैदेशिक रोजगारीमा समेत नपठाएको र रकम समेत फिर्ता नगरेपछि उनीहरुमाथि उजुरी परेको थियो । विभागले बिगो रकम र ५० प्रतिशत क्षतिपूर्ति भराउने निर्णय गर्दै अभियोग पत्र दायर गरेको जनाएको छ ।

यसैगरी युनाइटेड अरब इमिरेट्स पठाइदिने प्रलोभनमा करिब १२ लाख रुपैयाँ ठगी गर्ने मोतिबाबु अन्सारीविरुद्ध समेत अभियोग पत्र दर्ता भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?