+
+
नाडा अटो शो २०२३ :

पेट्रोल गाडी हेर्न आएका ग्राहक विद्युतीयतिर मोडिए

अमृत चिमरिया अमृत चिमरिया
२०८० भदौ ३० गते १८:०३

३० भदौ, काठमाडौं । ललितपुरका नितेश अमात्यले पेट्रोल गाडी बेचेर नाडा अटो शोमा टाटाको इभी टियागो बुक गरेका छन् । ‘टाटाको इभीमा सेफ्टी रेटिङ राम्रो भएर यो रोजेको हुँ । मैले टियागो २ वर्षदेखि कुरिरहेको थिएँ ।’

पेट्रोल गाडी चढ्ने रहर पुगेर विद्युतीय गाडी किन्न लागेको उनको भनाइ छ । ‘पेट्रोलको गाडी अहिले चढिरहेको छु । इभी चढ्न थालेपछि वर्षको २ लाखसम्म जोगिने देखिएको छ । पेट्रोलपम्पमा लाइन बस्न पनि झ्याउ हुने, इभी गाडी भए मोबाइल जसरी चार्जमा हालेर काम गरे पनि भयो’, नितेश भन्छन् ।

इभी (विद्युतीय गाडी) मा लोभिने अमात्य मात्रै होइन, पेट्रोल तथा डिजेलबाट चल्ने गाडी हेर्न आएकाहरु पनि विद्युतीय गाडीतिर मोडिएका छन् । हरिसिद्धिबाट रोयल इन्फिल्डको हन्टर मोटरसाइकल हेर्न आएका सुमित श्रेष्ठ पनि विद्युतीय गाडी किन्ने कि भन्ने सोचाइमा पुगे ।

‘यहाँ आउँदा विद्युतीय गाडीको ठूलो माहोल रहेछ । राम्रो रेन्जमा अहिले टाटाको गाडीहरु रहेछन् । खासमा बाइक किन्ने सोचले आएको हो, तर इभीले तान्ला जस्तो छ’, उनले भने । साथीहरुसँग फेरि पनि आउने शो हेर्न आउने योजना रहेको उनले सुनाए ।

स्वयम्भूबाट आएका दुर्गा परियारले पनि विद्युतीय गाडीले ध्यान खिचेको बताए । ‘यत्रो माहोलमा मुख्य फोकस चाहिँ विद्युतीय सवारी जस्तो देखियो । म पहिलेदेखि नै विद्युतीय सवारीहरु हेरिरहेको हुन्थेँ । बीवाइडीको लक्जरी गाडी रहेछ तर अलि धेरै नै हाइ रेन्जको देखियो । मलाई चाहिँ टियागो सबैभन्दा धेरै मन प¥योे’, परियार भन्छन् ‘मान्छेहरुको धेरै आकर्षण विद्युतीयमा देखियो, त्यसमा पनि विद्युतीय सवारी हेर्न सबैलाई मेलाले मौका दियो ।’

बजारमा चलेकाबाहेक नयाँ गाडी खोज्दै आएका जोरपाटीका कुमार पुडासैनीले स्कोर्पियो मन परेको बताए । ‘अहिले महिन्द्राले ल्याएको स्कोर्पियो बबाल रहेछ, त्यसमा मेरो मन गयो । तर स्पोर्ट्स कारहरु जस्तै विद्युतीय सवारी देख्दा त्यो पनि दामी लाग्यो’, पुडासैनीले भने ।

उनले पछिल्लो समय भित्रिएका नयाँ गाडीबारे जानकारी पाइनए भएकाले मेला राम्रो रहेको बताए । ‘विद्युतीय सवारीमा आकर्षण एकदम राम्रो छ, यहाँ अन्य इन्धनबाट चल्ने सवारी हेर्न आएकाहरु पनि विद्युतीय सवारी देखेपछि मन फेरिन्छ । फेरि पेट्रोल पनि यति धेरै महंगो नै छ’, उनले भने ।

अफ रोड राइडिङ बाइक हेर्न आएका भक्तपुरका सिमोन अमात्य शोमा आएपछि बाइकको साटो विद्युतीय सवारी किन्ने सोच बनाएक छन् । ‘खासमा मलाई अहिले भ्लग बनाउँदै अफरोड हिँड्न मन भएर बाइक हेर्न आएको थिएँ तर यहाँ आएपछि पेट्रोल हालेर चल्ने बाइकमा केही रकम थप्यो भने इभी गाडी आउने रहेछ । बरु गाडी नै किन्छु होला’, अमात्यले भने ।

काठमाडौंकै रीता पोखरेल गाडीबारे महत्वपूर्ण जानकारीका लागि नाडा अटो शो कुरिरहेकी थिइन् । ‘यो एकदम जानकारीमूलक र महत्वपूर्ण देखियो । अहिलेका युवाहरुका लागि यो निकै फलदायी शो हो जस्तो लाग्छ,’ उनी भन्छिन् । पोखरेलले गाडी किन्नुभन्दा अगाडि चाहिने जानकारी र पाउन सक्ने छुट लगायत विषय यो शो महत्वपूर्ण रहेको बताए । ‘यस्तो शोले हामीलाई फाइदा धेरै गर्छ, मेरो आकर्षण विद्युतीय सवारी नै हो । पेट्रोल, डिजेल लगायतको इन्धनको मूल्य बढेकाले नै विद्युतीय सवारीको महत्व बढाएको छ नि’, पोखरेलले भनिन् ।

सवारी साधनको खरिद बिक्रीमा नेपालको सबैभन्दा ठूलो मेला ‘नाडा अटो शो–२०२३’ को १५ औं संस्करण काठमाडौंको भृकुटीमण्डपमा भइरहेको हो । २६ भदौदेखि सुरु भएको यो मेला ६ दिनसम्म चल्नेछ । ‘नाडा अटो शो’ मा दुई पाङ्ग्रे गाडीका २२, कमर्सियल गाडीका ७ र कारका १६ वटा स्टल रहेका छन् । यस्तै सवारी साधनका पार्टपूर्जासँग सम्बन्धित ४२ वटा स्टल छन् ।

लेखकको बारेमा
अमृत चिमरिया

चिमरिया अनलाइनखबर डटकमका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?