
काठमाडौं । पाँचौं ‘डिस होम बाह्रखरी कथा लेखन प्रतियोगिता-२०८०’ का लागि कथा आह्वान गरिएको छ । बाह्रखरी मिडियाले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी प्रतियोगिताको नयाँ संस्करणको घोषणासँगै कथा आह्वान गरेको हो ।
नेपालको कथा लेखन प्रतियोगिताको सबैभन्दा ठूलो पुरस्कार राशी रहेको यस प्रतियोगितामा आउँदो असोज ३० गतेसम्म इमेलमार्फत पठाउन सकिने जनाइएको छ । विश्वभरबाट नेपाली भाषामा कथा पठाउन सकिने जनाइएको छ ।
समीक्षक प्रा. डा. सावित्री कक्षपति नेतृत्वको निर्णायक समितिले विजेता छनोट गर्नेछ । समितिको सदस्यहरुमा कथाकार महेशविक्रम शाह र सुविन भट्टराई सदस्य छन् । सर्वोत्कृष्ट तीन कथालाई अघिल्ला वर्षहरूमा जस्तै क्रमशः एक लाख, ६० हजार र ४० हजार रुपैयाँ नगद राशीका साथ पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिनेछ ।
अन्तिम चरणसम्म पुग्न सफल उत्कृष्ट २५ कथाको पुस्तक प्रकाशन गरिनेछ । संग्रहमा प्रकाशित हुने बाँकी २२ कथाकारलाई जनही पाँच हजार रुपैयाँ सम्मानस्वरूप प्रदान गरिनेछ ।
गत वर्ष प्रतियोगितामा संसारभरबाट ५९६ कथाहरू प्राप्त भएको थियो । कथा प्रतियोगिताको नतिजा २०८० पुस ६ गते शुक्रबार एक विशेष समारोहका बीच सार्वजनिक गरिने भएको छ । सोही दिन कथासंग्रहको पुस्तक ‘उत्कृष्ट कथा-२०८०’ को लोकार्पण पनि गरिनेछ ।
प्रतिस्पर्धामा सहभागिताका लागि केही मापदण्ड तय गरिएको छ । जसमा कथा यसअघि प्रकाशित नभएको हुनुपर्ने, कथा कम्तीमा १५ सय बढीमा चार हजार शब्दको हुनुपर्ने लगायतका सर्त छन् ।
प्रतिक्रिया 4