+
+

सरकारले फेरि थप्यो सहायक रथी यमबहादुर अधिकारीको पदावधि

अनलाइनखबर अनलाइनखबर
२०८० असोज २ गते ७:३४
सहायक रथीमा बढुवा भएपछि यमबहादुर अधिकारीलाई दर्ज्यानी चिह्न लगाइदिंदै तत्कालीन प्रधान सेनापति गौरव शम्शेर जबरा ।

२ असोज, काठमाडौं । माओवादीका पूर्वलडाकु एवम् नेपाली सेनाका सहायक रथी यमबहादुर अधिकारी (प्रतीक्षा)को पदावधि सरकारले तीन वर्ष थपिदिएको छ ।

असोज १ गतेदेखि अवकाशमा जान लागेका अधिकारीको पदावधि अघिल्लो मन्त्रिपरिषद् बैठकको निर्णयबाट थप गरिएको हो । धादिङ घर भएका अधिकारी हाल वन तथा पर्यावरण सुरक्षा निर्देशनालयको निर्देशक पदमा कार्यरत छन् ।

नेपाली सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले रक्षा मन्त्रालयबाट अधिकारीको पदावधि मन्त्रिपरिषद् बैठकबाट थपिएको जानकारीसहितको पत्र नेपाली सेनालाई प्राप्त भएको जानकारी दिए ।

‘उहाँको विशेष पद सिर्जना गरेर सहायक रथीमा पदोन्नति भएको थियो । चारवर्षे त्यो पदावधि असोज १ गते सकिने भए पनि पुनः तीन वर्ष थपिएको पत्र मन्त्रालयबाट प्राप्त भएको छ,’ सैनिक प्रवक्ता एवम् सहायक रथी भण्डारीले अनलाइनखबरसँग भने ।

यसअघि सरकारकी प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गर्दा अधिकारीको पदावधि थपिएकोबारे जानकारी दिएकी थिइनन् ।

माओवादी लडाकुहरुको सेनामा समायोजन हुँदा अधिकारीले महासेनानीको दर्जा पाएका थिए । माओवादी लडाकुहरुले पाएको यो सबैभन्दा उपल्लो दर्जा हो ।

नेपाली सेनामा समायोजन भएका माओवादी पूर्वलडाकुहरु ।

२०७६ असोज १ गतेको मन्त्रिपरिषद बैठकले उनलाई सहायक रथीमा बढुवा गरेको थियो । त्यतिबेला नेकपा माओवादी केन्द्रसहितको सरकारको प्रधानमन्त्री नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली थिए । ओली नेतृत्वको सरकारले सैनिक नियमावली अनुसार एकपटकका लागि सहायक रथीमा बढुवा दिन सकिने व्यवस्थामा टेकेर अधिकारीलाई विशेष पद सिर्जना गरी बढुवा गरेको थियो ।

अधिकारीको पदावधि सकिएपछि विशेष पद स्वतः खारेज हुने भए पनि सरकारले उनको जागिर पुनः तीन वर्ष थपिदिएको छ ।

को हुन् अधिकारी ?

उत्तरी धादिङको मार्पाकमा बाबु बोरसिंह अधिकारी र आमा खड्ककुमारीको कान्छो छोरोका रुपमा २०२९ असार १ गते जन्मिएका अधिकारीले २०४६ सालमा एसएलसी पास गरेपछि क्याम्पस पढ्न काठमाडौं आएका थिए ।

सुरुमा मशालको विद्यार्थी राजनीतिमा सक्रिय उनी युद्ध सुरु भएपछि माओवादी पार्टीका संलग्न भई पूर्णकालीन भएका थिए । पूर्णकालीन भएदेखि उनले जनमिलिसिया, स्क्वायड, प्लाटुन, कम्पनी, बटालियन, ब्रिगेड हुँदै डिभिजन कमाण्डरसम्मको नेतृत्व गरेका थिए । माओवादी लडाकुभित्र उनी पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको विश्वासपात्र कमाण्डर भनेर चिनिन्थे ।

धादिङको कृष्णभीरमा नेपाली सेनासँगको लडाइँको नेतृत्व उनै अधिकारीले गरेका थिए । त्यतिबेला नेपाली सेनालाई एम्बुसमा पारेर ठूलो परिमाणमा हतियार कब्जा गर्न सफल भएको प्रचार माओवादीहरुले गरेका थिए ।

०६३ मंसिर ५ को शान्ति सम्झौतापछि नवलपरासीको झ्याल्टुङडाँडास्थित चौथो डिभिजनमा अधिकारी सहायक कमाण्डर बनेका थिए । त्यतिबेला डिभिजन कमाण्डर गणेशमान पुन थिए । पुनलाई वाईसीएल अध्यक्ष बनाएर माओवादीले काठमाडौं केन्द्रित राजनीतिमा सक्रिय बनाएपछि अधिकारी स्वतः डिभिजन कमाण्डरमा बढुवा भएका थिए । डिभिजनमा कमाण्डरहरुको कार्यक्षेत्र फेरबदल हुँदा उनले इलामको चुलाचुलीस्थित पहिलो डिभिजनको कमाण्ड सम्हालेका थिए ।

२०६३ मंसिर ५ गते सरकार र तत्कालीन माओवादीबीच भएको विस्तृत शान्ति सम्झौताअनुसार ७ मुख्य र २१ सहायक शिविरमा बस्दै आएका माओवादी पूर्वलडाकुहरु ०६९ चैत ३० गतेदेखि औपचारिक रुपमा नेपाली सेनामा समायोजन भएका थिए ।

सेनामा समायोजन भएका १ हजार ३१३ जना माओवादी लडाकुहरुमध्येबाट अधिकारीले सबैभन्दा उपल्लो दर्जा महासेनानी पद पाएका थिए । यसैगरी बासुदेव घिमिरे र पदम तामाङ प्रमुख सेनानी पदमा र वीरेन्द्र बीएमसहित १३ जना सेनानी पदमा समायोजन भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?