+

घरेलु मैदानमा साफ यू-१९ च्याम्पियन बन्ने नेपालको लक्ष्य

२०८० असोज  २ गते १९:१९ २०८० असोज २ गते १९:१९
घरेलु मैदानमा साफ यू-१९ च्याम्पियन बन्ने नेपालको लक्ष्य

२ असोज, काठमाडौं ।  साफ यू-१९ च्याम्पियनसिपको दुई पटकको विजेता हो  नेपाल । सन् २०१५ मा नेपालबाटै सुरु भएको प्रतियोगिताको विजेता नेपालले पाँचौं संस्करणको सुरुवात बिहीबार घरेलु मैदानमा पाकिस्तानसँगको खेलबाट गर्दै छ ।

पहिलो र दोस्रो संस्करणको विजेता भए पनि त्यसपछिका दुई संस्करणमा खस्कँदो प्रदर्शन गरेको नेपालले यसपटक घरेलु दर्शकको अगाडि उपाधि जित्ने लक्ष्य राखेको छ । तेस्रो संस्करणमा समूह चरणबाटै घर फर्केको नेपाल राउण्ड रोबिन लिगको आधारमा भएको चौथो संस्करणमा तेस्रो स्थानमा रहेको थियो ।

पहिलो संस्करणमा नेपालले उपाधि जित्दा सहायक प्रशिक्षक रहेका सुनिल श्रेष्ठ यस पटक नेपाल यू-१९ टिमको प्रमुख प्रशिक्षक छन् । विगतको प्रदर्शनलाई दोहोर्‍याएर राम्रो नतिजा निकाल्ने लक्ष्य राखेका उनले त्यसका लागि नेपालले राम्रो तयारी गरेको दाबी गरेका छन् ।

‘तयारी राम्रो छ खेलाडीहरु सबैले मिहिनेत गरिरहेका छन् । खेल नजिक आइसक्यो । सबै तयारी पूरा भइसकेको छ,’ श्रेष्ठले अनलाइनखबरसँग भने, ‘अब मैदानमा प्रदर्शन गर्न मात्र बाँकी छ ।’

काठमाडौंको दशरथ रंगशालमा बिहीबार सुरु हुने च्याम्पियनसिपमा नेपालसहित ६ राष्ट्रले प्रतिस्पर्धा गर्नेछन् ।

नेपाल, पाकिस्तान र माल्दिभ्स समूह ए तथा भारत, बंगलादेश र भुटान समूह बी मा छन् । दुवै समूहबाट शीर्ष दुई टिम सेमिफाइनल प्रवेश गर्नेछन् ।

 नेपालको टिम र तयारी

गतवर्ष जस्तै यसपटक पनि खुल्ला छनोट मार्फत यू-१९ टिम बनाइएको छ । देशभरबाट जिल्ला, प्रदेश हुँदै केन्द्रीयत्रको छनोटबाट ३५ खेलाडी चयन गरी क्याम्पमा राखिएको थियो ।

जसबाट अहिले टिममा २५ जना छनोट गरिएको छ र त्यसबाट २३ जनाको अन्तिम टोली घोषणा हुनेछ ।

प्रशिक्षणको क्रममा यू-१९ टोलीले सिनयर टिमसँग मैत्रीपूर्ण खेल खेलेको थियो । जसमा राम्रो नतिजा पनि ल्याएको थियो । यसले केन्द्र र बाहिरका खेलाडीहरुलाई पनि एकजुट बनाएको प्रशिक्षकको बुझाइ छ । त्यसपछि यू-१९ टिम उत्साहित समेत छ ।

‘राष्ट्रिय टिमसँग पनि फ्रेण्ड्ली म्याच खेल्यौँ जसले गर्दा बाहिरबाट आएका खेलाडीहरुलाई पनि सहज वातावरण भएको छ’, प्रशिक्षक श्रेष्ठले भने ।

जियारथ शेखको कप्तानीमा रहेको नेपाली टोलीमा ए डिभिजन लिगको अनुभव भएका दुई खेलाडी पनि छन् । कप्ताज जियारथ र निराजन धामीले गत सिजन मनाङ मर्स्याङ्दीबाट ए डिभिजन खेलेका थिए ।

यू-१७ साफ खेलेका केही खेलाडी पनि अहिलेको टिममा छन् । तर यो टिम राम्रो भएको प्रशिक्षकको दावी छ । ‘हामीले ए डिभिजनको १५ जना खेलाडी छनोटमा बोलाएका थियौं । तर ए डिभिजन लिग खेलेका दुई जना मात्र परे । ए डिभिजन खेलेको भन्दा पनि राम्रो खेलाडी भएकोले टिममा राखेका हौं । यस्तै गतवर्ष यू-१७ खेलेका ९-१० जना छन् ।’

पहिलो पटक कप्तानी गर्न लागेका जियारथले पनि टिम राम्रो बनेको र उत्साहित रहेको बताए । ‘हाम्रो टिम सन्तुलित बनेको छ । मिडफिल्ड सबैभन्दा राम्रो जस्तो छ । अन्य पोजिसनमा पनि राम्रो छौं । प्रशिक्षकले हाई पेसमा प्राक्टिस गराइरहनु भएको छ’, उनले भने ।

जियारथले विगतको टिम भन्दा यो टिम राम्रो बनेको अन्य प्रशिक्षकहरुले प्रतिक्रिया दिएको बताए । ‘हामीले फ्रेण्डली म्याचमा राम्रो खेलेका थियौं । पहिलाका प्रशिक्षकले पनि त्यो टिम र यो टिममा धेरै फरक रहेको भन्दै यो टिमबाट ठूलो आशा रहेको भन्नुभएको छ ।’

प्रशिक्षक सुनिल श्रेष्ठले चुनौतीलाई स्वीकार गरेर नै टिम लिएको र चुनौतीलाई पार गरेर अघि बढ्ने बताए ।

सबै टिमको स्तर उस्तै

पछिल्लो समय दक्षिण एसियामा सबै राष्ट्रले उमेर समूहको फुटबलम लगानी गर्न थालेका छन् । तर कुनै समय बलियो रहेको नेपालको उमेर समूहको प्रदर्शन भने कमजोर बन्दै गएको छ । प्रशिक्षक सुनिल श्रेष्ठले पनि यसलाई स्वीकार गरे ।

नेपालमा एन्फा एकेडेमी सञ्चालनमा हुँदा खेलाडी र टिमको बारेमा जानकारी हुने भएकाले सहज हुने श्रेष्ठले बताए । ‘एकेडेमी हुँदा यो खेलाडीले यो पोजिसनमा खेल्छ सक्छ भन्ने कन्डफिडेन्स हुन्थ्यो । सजिलो हुन्थ्यो,’ उनले भने, ‘अहिले अन्तर्राष्ट्रिय खेल खेलेको भनेको कप्तान र यू-१७ मा खेलेको खेलाडीहरु मात्र हो । अरुलाई सिधै अन्तर्राष्ट्रिय खेल खेल्दा दबाब पनि हुन सक्छ ।’

प्रतियोगिता खेल्न काठमाडौं आइपुगेको भुटानको टिम ।

कुनै समय नेपालले सहजै हराउने भुटान र माल्दिभ्सले पनि अहिले राम्रो गरिरहेको श्रेष्ठले बताए । ‘अहिले बंगलादेशले राम्रो गरिरहेको छ । भुटान पनि माथि आइरहेको छ । पहिला हामीले उमेर समूहमा भुटान माल्दिभ्ससँग खेल्दा सजिलो हुन्थ्यो । अहिले त्यस्तो छैन ।  सबै बराबर हो जसले राम्रो खेल्यो उसैले जित्ने हो ।’

तर उमेर समूहमा सबै टिम उस्तै हुने प्रशिक्षक श्रेष्ठले बताए । ‘साउथ एसियामा भारतलाई सबैभन्दा राम्रो मानिन्छ । तर उमेर समूहमा सबै बराबर जस्तै हो । जसले राम्रो खेल्यो उसैले जित्ने हो,’ उनले भने, ‘राम्रो म्याच खेल्नकै लागि हामीले राम्रो प्राक्टिस गरिराखेका छौं। हाम्रो टार्गेट राम्रो खेल्ने हो । ’

घरेलु मैदानको साथ र लक्ष्य उपाधि जित्ने

नेपालले तेस्रो पटक घरेलु मैदानमा साफ यू-१९ च्याम्पियनसिप खेल्न लागेको हो । घरेलु मैदान र दर्शकको साथ हुँदा फाइदा हुने र मनोबल पनि बढ्ने नेपाली टिमको विश्वास छ ।

‘अवश्य पनि घरेलु मैदानमा खेल्दा दर्शकको साथ हुन्छ केटाहरुलाई पनि ब्याकअप राम्रो हुन्छ’, प्रशिक्षक श्रेष्ठले भने ।

‘आफ्नो होम मैदानमा हुँदा फाइदा भयो । दर्शकको साथ पाउँदा अझ फाइदा हुन्छ’, कप्तान जियारथले भने ।

च्याम्पियन बन्ने लक्ष्य राखेको नेपालले पहिलो खेलदेखि नै राम्रो प्रदर्शन गर्दै जाने योजना बनाएको छ ।

नेपालले सेप्टेम्बर २१ मा पाकिस्तानसँग समूहको पहिलो खेल खेल्दैछ । त्यो खेल जित्दै सुखद सुरुवात गर्ने नेपालको लक्ष्य हुनेछ ।

‘फस्ट इम्प्रेसन राम्रो भयो भने पछि राम्रो हुँदै जान्छ, पाकिस्तानलाई हराएर सुखद सुरुवात गर्‍यौं भने राम्रो हुन्छ’, प्रशिक्षक श्रेष्ठले भने, ‘फुटबल म्याच मैदानमा उत्रेपछि नै चुनौती सुरु हुन्छ । कुनै पनि टिमलाई कमजोर मान्ने कुरा भएन ।’

त्यसैले एक समयमा एक खेलमा केन्द्रित भएर अघि बढ्ने उनले बताए । ‘साफ रिजनबाट अहिलेसम्म भारतसँग कडा प्रतिस्पर्धा भइराखेको छ । तर सुरुमा भारत भन्दा पनि पाकिस्तानलाई बलियो मान्नुपर्छ ।’

नेपालले समूहको अन्तिम खेल माल्दिभ्ससँग सेप्टेम्बर २५ मा खेल्नेछ ।

‘हाम्रो लक्ष्य जसरी पनि उपाधि जित्ने नै हो । हाम्रो केटाहरुले मिहिनेत गरिराखेका छन् । फुटबल टिमवर्क भएकोले खेलाडी, कोच, अफिसियल सबैको कम्बिनेसन राम्रो हुनुपर्छ र भइराखेको छ । त्यसैले पनि च्याम्पियन बन्ने लक्ष्य हो । टिमको रुपमा सबैले त्यही लक्ष्य राखेका छौं। ’

प्रशिक्षक श्रेष्ठले हरेक चरणमा चुनौती आउने र त्यसलाई सामना गर्दै अघि बढिरहेको बताए ।

‘मेरो लागि टिम ह्यान्डल गर्ना साथ च्यालेन्ज हो । सुरुमा खेलाडी छनोट गर्दा नै राम्रो टिम बनाउन पर्‍यो । त्यसपछि खेलाडीलाई ट्रेनिङमा फिट बनाउन पर्‍यो । अबको मुख्य चुनौती म्याच खेल्ने हो । त्यसलाई सहर्ष स्वीकारेर अघि बढ्छौं ।’

नेपाली फुटबल साफ यू-१९ च्याम्पियनसिप
लेखक
गोविन्दराज नेपाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय