
काठमाडौं । सन्तोष श्रेष्ठको संगीत र हेम प्रभाष अधिकारीको शव्द रचनामा भारतकी प्रसिद्ध गायिका साधना सरगमले गाएको शान्ति गीतको भिडियो सार्वजनिक भएको छ । शान्ति दिवसको अवसर पारेर बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा भिडियो सार्वजनिक गरिएको हो ।
म्युजिक नेपालको युट्युब च्यानलमा रहेको शान्ति गीतको भिडियोमा रक्षा श्रेष्ठ, दिया गिरी, चक्र साउद, कुमार फुयाल र अभेलिना खड्काको अभिनय छ ।
शान्ति गीतका माध्यमबाट भाइचारा र विश्व बन्धुत्वको भावना जागृत गराउने अभिप्रायका साथ तयार पारिएको गीत भारतको मुम्बईस्थित आर्यान स्टुडियोमा रेकर्ड गरिएको संगीतकार श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार धेरै समयपछि नेपाली भाषाको गीत गाउने अवसर पाएको भन्दै साधना सरगमले खुसी व्यक्त गरेकी थिइन् । ‘अन्य गीतहरुभन्दा यस शान्ति गीतको भावभूमि फरक रहेकाले मैले यो गीत गाएँ । यस गीतको माध्यमबाट विश्वव्यापी रुपमा शान्ति र सदभाव फैलँदै जाने आशा गरेकी छु,’ गायिका साधना सरगमको भनाइ उनले स्मरण गरे ।
भारतकी प्रसिद्ध गायिका साधना सरगमको स्वरमा आफूले संगीत भरेको गीत तयार हुँदा उत्साहित भएको संगीतकार श्रेष्ठले सुनाए ।
प्रतिक्रिया 4