
काठमाडौं । राष्ट्रिय चलचित्र पुरस्कार-२०८० मा सर्वोत्कृष्ट फिल्मको घोषणा नगर्ने निर्णयविरुद्ध फिल्म ‘प्रकाश’का लेखक र निर्देशकले बिहीबार उच्च अदालत पाटनमा रिट दायर गरेका छन् ।
चलचित्र विकास बोर्डलाई विपक्षी बनाएर दायर गरिएको रिटमा जुरीको निर्णयको सक्कल प्रति झिकाउनुपर्ने र कारण देखाउन भन्दै परमादेशको माग गरिएको छ ।
फिल्म ‘प्रकाश’का निर्देशक दिनेश राउत, लेखक विकास सुवेदी र फिल्म छायांकन भएको थलो जुम्लाको सिंजाका स्थानीय मीनराज आचार्यले रिट दायर गरेका हुन् । निवेदकतर्फका कानुन व्यवसायी रौनकराज अर्यालले शुक्रबार बिहान ११ बजे अदालतमा छलफलमा बोलाएको बताए ।
‘प्रकाशले अवार्ड पाउनुपर्छ भनेर होइन, सर्वोत्कृष्ट विधामा किन फिल्मलाई पुरस्कृत गरिएन भन्ने कारण सार्वजनिक गर्न हामीले माग गरेका हौं,’ रिट दायरपछि लेखक सुवेदीले भने ।
भदौ १२ गते राष्ट्रपति कार्यालय शीतल निवासमा सर्वश्रेष्ठ फिल्मलाई छाडेर अन्य विधामा मात्र पुरस्कार वितरण गरिएको थियो । एक जना जुरी सदस्यले ‘प्रकाश’लाई सिफारिस गरिएको तर बोर्ड नेतृत्वले नमानेको बताएका थिए । खासगरी सत्तारुढ माओवादी दललाई उक्त फिल्ममा नकारात्मक चित्रण गरिएकाले राजनीतिक हस्तक्षेपमा उक्त विधामा पुरस्कार नबाँडिएको भन्ने प्रतिक्रिया पनि आएका थिए ।
प्रतिक्रिया 4