+
+

कांग्रेस बैठकमा उद्धव थापाको गुनासो : मुख्यमन्त्री हुँदा पार्टीभित्रैबाट सहयोग पाइनँ

अनलाइनखबर अनलाइनखबर
२०८० असोज ४ गते १७:१२

४ असोज, काठमाडौं । कोशीका पूर्वमुख्यमन्त्री उद्धव थापाले कोशीमा आफू नेतृत्वमा सरकार बन्दा पार्टीभित्रैबाट असहयोग भएको गुनासो गरेका छन् ।

बिहीबार सुरु भएको कांग्रेस केन्द्रीय समिति बैठकमा धारणा राख्दै कोशी प्रदेश सभापति थापाले कोशी प्रदेशसभाको अंकगणितका कारण मात्र सरकार बन्न कठिन भएकाले राजनीतिक निर्णय आवश्यक परेको स्पष्टीकरण दिए ।

कोशीमा कांग्रेस नेतृत्वको सरकार बन्दा पार्टीका नेता र शुभेच्छुकहरुले साथ दिनुपर्नेमा नदिएको उनले गुनासो गरेका हुन् ।‘पार्टी र पार्टीका नेताबट सहयोग हुन्छ भन्ने लागेको थियो । जसले सहयोग गर्नुभएको छ, हामी धन्यवाद दिन चाहन्छौं’, उनले भने ।

कोशीमा उद्धव थापाको नेतृत्वमा बनेको सत्ता गठबन्धनको सरकार दुबै पटक सर्वोच्च अदालतको आदेशमा बदर भएको थियो । पछिल्लो पटक ४ भदौमा थापाले लिएको विश्वासको मतलाई अवैधानिक भन्दै सर्वोच्च अदालतले एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीलाई मुख्यमन्त्री नियुक्तिको परमादेश दिएको थियो ।

बिहीबार कांग्रेस बैठकमा थापाले कोशीमा आफू नेतृत्वमा सरकार बनेको विषयमा टिप्पणी गर्दा संविधानको व्यवस्था हेर्न नेताहरुलाई आग्रह गरे । ‘तपाईहरुको कोशी प्रदेशको विषयमा, संवैधानिक वा असंवैधानिक विषयमा धारणा राख्दा संविधानको पुस्तक पढेर आउनुहोला, संविधानको धारा १८६, १८७ र १८८ हेर्नुहोला, त्यसमा पनि १८७ अध्ययन गरिदिनुस्’ उनले भने ।

संविधानको ती धारामा प्रदेशसभामा मतदान, प्रदेशसभाको विशेषाधिकार र विश्वासको मतसम्बन्धी प्रस्तावका व्यवस्था छन् ।

सरकार कसरी गठन गर्ने भन्ने विषय संविधानले व्यवस्था गरे पनि कोशी प्रदेशको प्रसंग अलग भएको बताए । उनले भने, ‘संविधानको बाटोबाट सरकार बनाउनुपर्ने भए पनि गणीतिय हिसाबले राजनीतिक निर्णय गर्नुपर्ने थियो ।’

सर्वोच्च अदालतले आफू नेतृत्वको सरकार बदर गरिदिएको र त्यसलाई आफूले स्वीकार गरिसकेको भन्दै बैठकमा यो विषयमा धेरै छलफल आवश्यक नभएको थापाले बताए । कतिपय नेताले यो विषयमा केन्द्रीय समितिमा कुरा उठाउने भनेर सार्वजनिक अभिव्यक्ति दिएको भन्दै थापाले प्रश्न गरे, ‘हामीले स्वीकारेर बसेपछि फेरि बैठकमा उठाउने कति उपयुक्त हुन्छ ?’

आफूले भदौ ४ गते विश्वासको मत नलिएको भए स्वतः एमाले नेतृत्वमा सरकार बन्ने भन्दै थापाले यदि विश्वासको मत नलिएको भए पनि आफूले आलोचना खेप्नुपर्ने बताए । ‘त्यो बेला विश्वासको मत नलिएको भए एमालेको सरकार बन्थ्यो, विश्वासको मत नलिएको भए तपाईहरुले मलाई किन विश्वासको मत नलिएको भनेर प्रश्न गर्नुहुन्थ्यो’ उनले भने ।

कोशीमा संविधान उल्लंघन आफूहरुले भन्दा पहिले उपसभामुखले गरेको पनि थापाले बताए । आफूले भदौ ३ गते विश्वासको मत लिन खोज्दा ४ गतेको समय दिएको र त्यस दिन ८ जनाको बिदा स्वीकृत गरेर आफू पनि बिदामा बसेदेखि संविधान उल्लंघन सुरु भएको उनले बताए ।

‘संविधानको उल्लंघन, असंवैधानिक व्यवहार त्यहाँबाट सुरु भएको थियो । त्यसमा पार्टीबाट सुरु भएन, नेताहरु पनि जे बाहिर आयो त्यसकै पछि लागे’ उनले भने ।

सभामुखलाई मुख्यमन्त्रीको समर्थनमा हस्ताक्षर गराउनु गल्ती भएको थापाले स्वीकार गरेका छन् । कानुन व्यवसायीका परामर्शमा उक्त निर्णय लिनुपरेको उनले सुनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?