+
+
पुस्तकांश :

मार्क्सवादी दर्शनका ७ विरोधाभास

किन मार्क्सले यस्तो गल्ती गरे ? यसको उत्तर सरल छ । यो मार्क्सको मात्र गल्ती होइन । त्यो वेलाको भौतिक विज्ञान, जीवविज्ञान र मनोविज्ञानमा प्रचलित यान्त्रिक अवधारणालाई हुबहु सामाजिक चिन्तनमा भित्र्याउँदा यो गल्ती हुन गयो ।

मोहन तिम्सिना मोहन तिम्सिना
२०८० असोज ६ गते १३:१२

निःसन्देह मार्क्स/एङ्गेल्स न्यायका पक्षपाती थिए, क्रान्तिकारी थिए । आफ्नो वैचारिकीलाई असल बनाउन उनीहरूले विज्ञानलाई पक्रिने भरमग्दुर कोसिस गरे । दर्शन, अर्थशास्त्र र समाजशास्त्र तीनै क्षेत्रमा धारणा विकास गर्ने प्रयत्न गरे ।

तर उनीहरूले पक्रिएको विज्ञानको निश्चित सीमा थियो । मार्क्स/एङ्गेल्स त्यतिवेलाको विज्ञानको त्यो सीमाभन्दा बाहिर जान सक्दैनथे । आफ्नो दर्शनलाई मार्क्स/एङ्गेल्सले हेगेलको ‘आदर्शवादी द्वन्द्ववाद’ र फायरबाखको ‘यान्त्रिक भौतिकवाद’ को परिमार्जित रूप हो भनेका थिए । यी दुई विचारलाई जोडेर बनाएको धारणालाई उनीहरूले ‘द्वन्द्वात्मक भौतिकवाद’ नाम दिएका थिए ।

वास्तविकतामा हेगेलको द्वन्द्ववाद अरू केही नभएर न्यूटनका गतिका यान्त्रिक नियमको सामाजिक/मानसिक अभिव्यक्ति मात्र थियो । हेगेल ‘सामाजिक डार्बिनवादी’ पनि थिए । न्यूटन जस्तै हेगेल पनि यी नियमहरूमा ‘विश्व आत्माको हात छ’ भन्दथे । फायरबाखको भौतिकवादलाई त मार्क्सले नै ‘यान्त्रिक’ नाम दिएका थिए ।

मार्क्सको दर्शनमा उनले उपयोग गरेका शब्द र भाषाले नै उनको दृष्टिकोण एरिस्टोटल–डेकार्ट मोडेलको यान्त्रिक दृष्टिकोण हो भन्ने बताउँछ । मार्क्सले विपरीत तत्वहरू परिपूरक र आपसमा रूपान्तरण हुन्छन् भनेर प्रष्ट भनेका छन् । तर उनी सङ्घर्षलाई ‘प्रधान’ र एकतालाई ‘गौण’ परिघटना मान्दछन् । यही निष्कर्षमा उनको चिन्तनको सबलता र दुर्बलता दुवै छिपेको छ ।

सबलता यो हो कि, उनले ‘विपरीत तत्वहरू परिपूरक हुन्छन्’ भनेर एरिस्टोटल–डेकार्ट चिन्तनलाई अतिक्रमण गरेका छन् । दुर्बलता यो हो कि, ‘सङ्घर्ष प्रधान, एकता गौण’ हुन्छ भनेर द्वन्द्ववाद सम्बन्धी आफ्ना नियमलाई विरोधाभासपूर्ण बनाएका छन् ।

मार्क्सको द्वन्द्ववादका तीन नियम स्थूल प्रकृतिका लागि सही नै हुन् । तर त्यही नियमलाई समाजमा आयात गर्ने र साम्यवादी एकत्वको प्रक्षेपण गर्ने उनको तरिका चाहिं गलत हो ।

मार्क्स एकातिर ‘सङ्घर्ष प्रधान, एकता गौण’ हुन्छ पनि भन्छन् । अर्कातिर ‘साम्यवादमा वर्ग रहँदैन, यसकारण वर्गसङ्घर्ष रहँदैन’ पनि भन्दछन् । यसरी उनको प्रक्षेपण ‘आदिम साम्यवादी’ एकत्वबाट सुरु भएर ‘वैज्ञानिक साम्यवादी’ एकत्वमै पुग्दछ ।

मार्क्सले आफू सर्वहारा वर्गीय पक्षधर भएको घोषणा गरे । झट्ट हेर्दा मार्क्सको यो कदम सही र क्रान्तिकारी जस्तो लाग्छ । तर यथार्थमा कुनै पनि वैज्ञानिक नियमहरू पक्षधर हुँदैनन् । ‘दर्शन पक्षधर हुन्छ’ भन्ने मार्क्सको निष्कर्ष त्रुटिपूर्ण थियो ।

यहींनेर प्रश्न उठ्छ । साम्यवादमा वर्गसङ्घर्ष हुँदैन भने ‘सङ्घर्ष निरपेक्ष हुन्छ’ भन्ने अगाडिको मान्यता कसरी मिल्यो त ? मार्क्सको समाज विकासको परिपथ त ‘एकत्वदेखि एकत्वसम्म’ को देखियो । सुरुवात पनि सङ्घर्षहीन अवस्था र अन्त्य पनि सङ्घर्षहीन अवस्थामै पुगियो । सङ्घर्ष त बीचको विल्कुल अस्थायी घटना भयो ।

यदि यही कुरा ठिक हो भने सङ्घर्ष जहिल्यै निरपेक्ष (स्थायी) हुन्छ भन्न पाइन्छ ? यदि वर्गविहीन साम्यवाद नै समाजको अन्तिम गन्तव्य हुन्छ भने ‘सङ्घर्ष अस्थायी हुन्छ’ भन्नु पर्‍यो । यदि वर्ग सधैंभरि रहिरहन्छ भने एकत्वको राजनीतिक गन्तव्य गलत हुन्छ भन्नुपर्‍यो ।

मार्क्स एकातिर वर्गविहीन साम्यवादी एकत्वको वकालत पनि गर्दछन् । अर्कातिर ‘सङ्घर्ष स्थायी हुन्छ’ पनि भन्दछन् । मार्क्सको दर्शन ठिक यहाँनेर विरोधाभासमा फसेको छ ।

यो विरोधाभासलाई समाधान गर्न मार्क्सले प्रयास नगरेका भने होइनन् । उनी यो विरोधाभास समाधान गर्न प्रकृतितिर फर्कन्छन् र भन्दछन्– त्यसपछि (साम्यवादमा) मानिस र प्रकृतिबीच सङ्घर्ष हुन्छ र यो चाहिं सदाकाल चलिरहन्छ ।

यसो भनेर उनले आफ्नो ‘सङ्घर्ष स्थायी हुन्छ’ भन्ने मान्यताको बचाउ गर्ने प्रयास त गरेका छन् तर उनको यो प्रयास पनि विरोधाभासमा फसेको छ । कारण, प्रकृति–विज्ञान र समाज–विज्ञान एकआपसमा समानान्तर एवम् स्वायत्त प्रवर्ग हुन् । यिनीहरू अन्तरसम्बन्धित त छन् । तर एकआपसमा जोडिंदैनन् । समानान्तर सम्बन्ध सहित सक्रिय हुन्छन् ।
सामाजिक नियमलाई प्राकृतिक नियममा लगेर मिसाउन वा प्राकृतिक नियमलाई सामाजिक नियममा लगेर मिसाउन मिल्दैन । हरेक सामाजिक नियम समाजबाट सुरु भएर समाजमै अन्त्य भएको हुनुपर्दछ । प्राकृतिक नियम पनि प्रकृतिबाट सुरु भएर प्रकृतिमै अन्त्य भएको हुनुपर्दछ ।

तर मार्क्सले आफ्ना साम्यवाद र ‘निरपेक्ष सङ्घर्ष’ सम्बन्धी मान्यतालाई सही देखाउन सामाजिक नियमलाई प्रकृतिका नियमसँग लगेर मिसाइदिए । तर यसो गर्दा पनि समस्याको युक्तिसङ्गत समाधान हुने कुरै थिएन । किनकि, ‘प्रकृतिसँग सङ्घर्ष’ सम्बन्धी मार्क्सको मान्यता आफैंमा अप्राकृतिक सोच हो ।

प्रकृतिसँग मानिसको सम्बन्ध सङ्घर्षको होइन । मानिस प्रकृतिकै उत्पादन हो, अझ मानिस स्वयम् प्रकृति हो । प्रकृतिसँग सङ्घर्ष गरेर मानिस बाँच्न सक्दैन । प्रकृतिसँग त मानिसले गहिरो सहकार्य गर्दछ । तर मार्क्स ‘प्रकृतिसँग सङ्घर्ष’ भन्दछन् । यो आफैंमा प्रकृति र जीवनविरोधी कुरा हो । यसको सार के हो भने मार्क्सको साम्यवादको राजनीतिक सिद्धान्तको वैज्ञानिक पुष्टि हुन सक्दैन ।

किन मार्क्सले यस्तो गल्ती गरे ? यसको उत्तर सरल छ । यो मार्क्सको मात्र गल्ती होइन । त्यो वेलाको भौतिक विज्ञान, जीवविज्ञान र मनोविज्ञानमा प्रचलित यान्त्रिक अवधारणालाई हुबहु सामाजिक चिन्तनमा भित्र्याउँदा यो गल्ती हुन गयो । त्यसैले, यदि गल्ती नै भन्ने हो भने यो मूलतः तत्कालीन भौतिकशास्त्री र जीवशास्त्रीहरूको गल्ती हो ।

यद्यपि यसलाई गल्ती भन्नु उपयुक्त हुन्न । यसलाई तत्कालीन ज्ञानको सीमा भन्नु नै उपयुक्त हुन्छ । यस्तै ज्ञानका सीमाका कारण मार्क्सका दार्शनिक नियमहरू त्रुटिपूर्ण हुन गए । जसलाई निम्नानुसार समीक्षा गर्न सकिन्छ :

पहिलो, मार्क्सको दर्शनमा विरोधाभास पैदा हुनुमा प्रकृति र समाजलाई हेर्ने ‘यान्त्रिक बिम्ब’ नै जिम्मेवार छ । प्रकृति र समाजको यान्त्रिक बिम्बले एकैचोटि दुई विरोधाभासी तथ्य देखाइदिन्छ ।

एकातिर त्यसले हरेक यथार्थको भौतिक संरचना हुनुपर्दछ भन्दछ । यसरी भौतिक संरचना खोज्दा त्यो द्वैत तथा बहुल संरचनाका रूपमा देखापर्दछ । ती द्वैत/बहुल संरचनाहरू विपरीत तत्व जस्तो लाग्दछन् । तिनीहरू बीचमा सङ्घर्ष भएको जस्तो पनि देखिन्छ । यो तथ्यले मार्क्सलाई समाजमा पनि सङ्घर्ष अनिवार्य नियम हो भन्ने ठाउँसम्म पुर्‍यायो ।

यही यान्त्रिक बिम्बले अर्कातिर हरेक यथार्थ ‘आधारभूत इकाइ’को फैलावटबाट बनेको हुन्छ भन्दछ । आधारभूत इकाइ खोज्दा त्यो एकत्व स्वरूपमा रहेजस्तो देखिन्छ । तब हरेक चिजको सुरुवात र अन्तिम अवस्था चाहिं एकत्वयुक्त हुने रहेछ भन्ने बुझाइ बन्दछ । मार्क्सले पनि यही तथ्यलाई पक्रिएर समाजमा वर्ग द्वैत मासिएर सामाजिक एकत्व (साम्यवाद) स्थापित हुने दावी गरे ।

प्रकृति र समाजलाई यान्त्रिक बिम्बमा हेर्नु नै त्रुटिपूर्ण थियो । आज भौतिक विज्ञानका आधुनिक धाराहरूले प्रकृतिको यान्त्रिक बिम्बलाई खण्डन गरिसकेका छन् । योसँगै समाजलाई हेर्ने यान्त्रिक बिम्ब पनि खण्डित भएको छ । फलतः मार्क्सका दार्शनिक नियमहरूको पनि खण्डन भइसकेको छ ।

दोस्रो, मार्क्सले आफू सर्वहारा वर्गीय पक्षधर भएको घोषणा गरे । झट्ट हेर्दा मार्क्सको यो कदम सही र क्रान्तिकारी जस्तो लाग्छ । तर यथार्थमा कुनै पनि वैज्ञानिक नियमहरू पक्षधर हुँदैनन् । ‘दर्शन पक्षधर हुन्छ’ भन्ने मार्क्सको निष्कर्ष त्रुटिपूर्ण थियो ।

दर्शन त विशुद्ध विज्ञान जस्तै हो । यसले ‘के हो’ को उत्तर खोज्छ । ‘कस्तो हुनुपर्छ’ भन्ने त्यसपछिको कुरा हो । ‘के हो’ को उत्तर नखोजी ‘कस्तो हुनुपर्दछ’ भन्ने प्रश्नको उत्तर आउँदैन ।

दर्शनले ‘के हो’ को उत्तर खोज्ने हो । ‘कस्तो हुनुपर्दछ’ भन्ने प्रश्न नीतिशास्त्रको विषय हो, दर्शनको होइन । तर मार्क्सले दर्शन र नीतिशास्त्रलाई एकै ठाउँ मिसाइदिए । यसले मार्क्सको सारा चिन्तनलाई पूर्वाग्रही र एकाङ्गी बनाइदियो । मार्क्सको पक्षधरताको निष्कर्षका पछाडि पनि समाजलाई हेर्ने यान्त्रिक बिम्ब नै जिम्मेवार छ ।

तेस्रो, मार्क्सले सामाजिक द्वैतलाई मास्ने कुरा गरे । यथार्थमा सामाजिक द्वैतहरू कहिल्यै मासिंदैनन् । अलग–थलग पनि हुँदैनन् । प्रकट हुँदा दुवै संयुक्त रूपमा प्रकट हुन्छन् । विलय हुँदा पनि संयुक्त रूपमा विलय हुन्छन् । द्वैतमध्ये कुनै एक निषेध हुने र अर्को चाहिं बच्ने कुरा असम्भव छ ।

जस्तो कि, व्यक्तिलाई मेटाउने हो भने समाज पनि मेटिन्छ । व्यक्तिलाई बचाउने हो भने मात्र समाज बच्दछ । श्रमलाई मेटाउने हो भने ‘पूँजी’ पनि मेटिन्छ । श्रमलाई बचाउने हो भने मात्र ‘पूँजी’ पनि बच्दछ ।

यसलाई ठिक उल्टो पारेर पनि भन्न सकिन्छ । यदि समाजलाई मेटाउने हो भने व्यक्ति पनि मेटिन्छ । समाजलाई बचाउने हो भने मात्र व्यक्ति पनि बच्छ । ‘पूँजी’ लाई मेटाउने हो भने श्रम पनि मेटिन्छ । ‘पूँजी’ लाई बचाउने हो भने मात्र श्रम पनि बच्दछ ।

यो त ठिक यस्तो हो कि, उकालो बाटोलाई मेटाउने हो भने ओरालो बाटो पनि मेटिन्छ । उकालो बाटोलाई बचाउने हो भने मात्र ओरालो बाटो पनि बच्दछ । जन्म खोज्ने हो भने मृत्यु पनि सँगै उपस्थित हुन्छ । जन्म नखोज्ने हो भने मात्र मृत्यु अनुपस्थित हुन्छ ।

तर मार्क्स यसरी सोच्दैनन् । उनी समाजको द्वैततालाई अलग–अलग विषय मान्दछन् । दुईमध्ये कुनै एकलाई मेटाएर अर्कोलाई बचाउने कुरा गर्दछन् । ‘व्यक्ति’ लाई मेटाएर ‘समाज’ लाई बचाउने कुरा गर्दछन् । ‘पूँजीपति वर्ग’ लाई मेटाएर ‘सर्वहारा वर्ग’ लाई बचाउने कुरा गर्दछन् । जुन अप्राकृतिक र असम्भव कुरा हो ।

सारमा मार्क्सको दर्शन शास्त्रीय विज्ञानको घेराभित्रै सीमित छ । त्यसैले उनको विचारधारा पनि शास्त्रीय चरित्रमै सीमित हुन पुग्यो । मार्क्सपछि लेनिन र माओले मार्क्सवादी दर्शनको थप व्याख्या गर्ने प्रयत्न त गरे, तर शास्त्रीय विज्ञानको घेरामा कैद भएर सोच्दा आउने परिणाम भनेको गोलचक्कर मात्र हो ।

समाजलाई यन्त्रको बिम्बमा हेर्दा र यान्त्रिक नियमलाई नै हुबहु समाजमा आयातित गर्दा मात्र यस्तो निष्कर्ष आउँछ । मार्क्सले यसै गरेका थिए । यही कारण उनका दार्शनिक नियमहरूमा विरोधाभास पैदा भए ।

चौथो, मार्क्स समाज र सामाजिक विषयलाई कार्य र कारणमा, मात्रा र गुणमा विभाजन गर्दछन् । त्यसको गणितीय हिसाब–किताब गर्दछन् । उनका लागि हरेक सामाजिक परिघटनाहरू ‘स्थानीय परिघटना’ नै हुन् । जसको गणितीय नापजोख सम्भव छ । उनी आफैं ‘वैज्ञानिक निर्धारणवाद’ को घोषित वकालतकर्ता हुन् ।

मार्क्सको यो बुझाइ पनि समाजको स्वभाव अनुकूल थिएन । आजको आधुनिक विज्ञानले भन्दछ– वैज्ञानिक निर्धारणवादको सिद्धान्त प्रकृतिमै पूरापूर लागु हुँदैन, झन् समाजमा हुबहु लागु हुनसक्ने कुरै होइन । समाजका घटनाहरू पनि ब्रह्माण्डीय घटना नै हुन् । समाजको गति एकलरेखीय होइन, गैरएकलरेखीय हुन्छ । गहिरो अर्थमा समाजको गति अगणितीय छ ।

तर मार्क्सले वैज्ञानिक निर्धारणवादको सिद्धान्तलाई समाजको अनिवार्य नियमका रूपमा देखाउने प्रयास गरे । जसले गर्दा उनको दर्शनले समाजको एकलरेखीय गति देखायो । जुन समाजको वास्तविक स्वाभाव अनुकूल थिएन । त्यसैले अव्यावहारिक सावित भयो ।

पाँचौं, राज्यसत्ताको गन्तव्य देखाउने प्रयास आफैंमा गल्ती थियो । राज्यव्यवस्था आफैंमा ‘प्रक्रिया’ हो । यसको गन्तव्य नै हुँदैन । यसको गुणधर्म नै ‘प्रक्रिया’ को हो । राज्यको दायित्व नै हो, सामाजिक द्वैतता वा बहुलतालाई गतिशील र सन्तुलित हुन मद्दत गर्नु । यो कामको कहिल्यै विश्राम आउँदैन ।

तर राज्यसत्तालाई जबरजस्ती गन्तव्य भिराउन खोजियो । यही कारण विरोधाभास पैदा भयो । यदि राज्यसत्ताको गन्तव्य हुँदैन भनेको थियो र समाजवादी वा साम्यवादी एकत्वप्रतिको आग्रह नलिएको थियो भने माथिका नियमलाई स्थूल तहमा पुष्टि गर्न मार्क्सलाई कुनै समस्या पर्ने थिएन । ती नियम स्थूल प्रकृतिमा र समाजको स्थूल हिस्सामा राम्ररी लागु हुन सक्थे । तर उनको आग्रहले नै उनलाई यसो गर्न दिएन ।

छैटौं, मार्क्सको साम्यवादी एकत्वको आग्रहमा मनोविज्ञानको यान्त्रिक सिद्धान्तले पनि काम गरेको छ । मार्क्सको चेतना सम्बन्धी बुझाइ मनोविज्ञानको व्यवहारवादी धारामा आधारित थियो । व्यवहारवादीहरू मानिसको चेतन प्रक्रियालाई ‘परावर्तन सिद्धान्त’ का नाममा यान्त्रिक ढाँचामा देखाउने प्रयास गर्दथे ।

उनीहरूका लागि मानिसको चेतना एउटै प्रक्रियाबाट निर्मित हुन्छ । त्यो भनेको संवेदन अङ्गहरूले बाहिरबाट संवेदना ग्रहण गर्ने र मस्तिष्कले त्यसलाई परावर्तन गर्ने । यसरी व्यवहारवादीहरूका लागि चेतना भन्नु नै सामाजिक चेतना थियो । यसको अर्को अर्थ, एउटा समाजमा एकैखालको चेतना भएका मान्छे हुन्छन् भन्ने पनि हो । गुणवत्ताका हिसाबले मानिसहरू फरक हुन्छन् भन्ने कुरा यसमा पर्दैनथ्यो ।

चेतनाबारे मार्क्सको बुझाइ पनि यही थियो । उनको चेतनाको परिभाषामा सामाजिक चेतनालाई नै महत्व दिइएको छ । मार्क्सले सोचे कि, यदि मानवीय चेतना समाजकै प्रतिबिम्ब हो भने एकपल्ट बल गरेर भए पनि समाजमा वर्गहरू मासिदियो र केही समय त्यसलाई निरन्तरता दियो भने त त्यसपछि मानिसको चेतनामा वर्गको धारणा नपस्ने भयो । अझ नयाँ पुस्ताले त झन् वर्गबारे सोच्नै नसक्ने भए । यसरी पनि साम्यवादी एकत्व कायम हुनसक्ने रहेछ ।

मार्क्सको एकत्वको आग्रहमा मनोविज्ञानको यो बुझाइले पनि काम गरेको छ । तर यो पनि मार्क्सको एकाङ्की बुझाइ हो । हरेक मानिसभित्र सामाजिक चेतना जहिल्यै सहायक हुन्छ र जन्मजात गुण नै निर्णायक हुन्छ । हरेक मानिस जन्मले नै फरक–फरक स्वभाव लिएर जन्मन्छन् ।

यही कारण मानव रहुञ्जेल समाजमा अनेक किसिमको द्वैतता र विविधता रहिरहन्छ । सबैको सामाजिक चेतनाबाट एकैचोटि वर्ग मेटाइदिएर साम्यवादी एकत्व कायम गर्न सकिन्छ भन्ने मार्क्सको सोच पनि अप्राकृतिक नै थियो ।

सातौं, मार्क्सको ज्ञान सिद्धान्त पनि यान्त्रिक नै थियो जसले गर्दा उनीलाई साम्यवादी एकत्वको निष्कर्षमा पुर्‍यायो । उनी जोन लक जस्तै ‘मानिस जन्मँदा खाली कागज जस्तो हुन्छ, समाजले त्यसमा पछि केही कोरिदिन्छ’ भन्ने कुरामा विश्वास गर्दथे । उनको ज्ञानको परिभाषामा तार्किक र वस्तुगत ज्ञान मात्र पर्दथ्यो । जुन सामाजिक चेतनाबाट निर्मित हुन्थ्यो ।

ज्ञान सम्बन्धी यो बुझाइका कारण मार्क्सले सोचे कि यदि मानिसको मस्तिष्क सादा कागज हो भने त एकपल्ट साम्यवाद ल्याएपछि जन्मिएका नयाँ पुस्ताको मस्तिष्कमा सदाकाल साम्यवादै साम्यवाद कोर्न सकिने भयो । यसरी पनि साम्यवाद सदाकाल टिक्ने देखियो ।

यो मार्क्सको अर्को ठूलो भ्रम थियो । ज्ञान सिद्धान्तको यान्त्रिक दृष्टिले मात्र यस्तो सोच्न सक्छ । यदि मानिसभित्र जन्मजात गुण हुन्छन् र हरेक व्यक्ति सार्वभौम हुन्छ भनेर मान्ने हो भने कुनै हालतमा साम्यवादी एकत्वको निष्कर्ष आउँदैन ।

सारमा मार्क्सको दर्शन शास्त्रीय विज्ञानको घेराभित्रै सीमित छ । त्यसैले उनको विचारधारा पनि शास्त्रीय चरित्रमै सीमित हुन पुग्यो । मार्क्सपछि लेनिन र माओले मार्क्सवादी दर्शनको थप व्याख्या गर्ने प्रयत्न त गरे, तर शास्त्रीय विज्ञानको घेरामा कैद भएर सोच्दा आउने परिणाम भनेको गोलचक्कर मात्र हो । लेनिन र माओको प्रयासले यस्तै गोलचक्कर काट्ने काम गर्‍यो । नयाँ धारणा निर्माण गर्न सकेन ।

माओको मुलुकमा ताओपन्थी र बौद्धपन्थीहरूको समृद्ध परम्परा थियो । पूरै तिब्बत धार्मिक आश्रम जस्तो थियो । जहाँ हरेक चार जनामा एक जना बौद्ध भिक्षु थिए । त्यहाँ सयौं वर्षदेखि भिक्षुहरूको नेतृत्वमा शासन चलाउने मौलिक अभ्यास भइरहेको थियो । जुन पूरै विश्वका लागि चासो र अध्ययनको विषय हुन सक्थ्यो ।

तर माओ र उनको पार्टीले यी समृद्ध परम्पराको महत्व बुझ्न सकेनन् । सामन्तवाद र रुढिवाद भन्दै ‘सांस्कृतिक क्रान्ति’ कालमा यस्तो परम्परालाई ध्वंस गरियो । नेपाल र भारतका कम्युनिष्टहरूको हालत पनि यस्तै हो ।

(तिम्सिनाको आज लोकार्पण हुने पुस्तक ‘जैविक दर्शन’ को अंश)

लेखकको बारेमा
मोहन तिम्सिना

लेखक वैकल्पिक विचार र जैविक दर्शनको विषयमा कलम चलाउँछन् । उनको नियमित स्तम्भ 'मन्थन' प्रकाशित हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?