
काठमाडौं । गायन टेलिभिजन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’को सिजन–५ यही असोज १२ गतेदेखि प्रसारण हुँदैछ । नयाँ सिजनसँगै शोले नेपालमा धेरै प्रसारण हुने म्युजिकल रियालिटी शोको कीर्तिमान रच्नेछ । पाँचौं श्रृंखलासम्म आइपुग्दा भ्वाइसले नेपाली टेलिभिजनको रियालिटी शोमा यस्तो पद्चाप छाडेको छ जसलाई संगीतमा करिअर बनाउन चाहने नयाँ पुस्ताले पछ्याइरहेका छन् ।
देशका दूरदराजका आवाज समेटेर भ्वाइसले नयाँ गायन प्रतिभा जन्माएको छ । पाँचौं सिजनसम्म आइपुग्दा शोको प्रविधि र विषयवस्तुको गुणस्तरमा परिवर्तन स्पष्ट देखिन्छ । आगामी श्रृंखला र नेपाली संगीतमा यसको आयामबारे ‘द भ्वाइस अफ नेपाल’का निर्देशक लक्ष्मण पौडेलसँग अनलाइनखबरले गरेको संक्षिप्त कुराकानी :
‘भ्वाइस अफ नेपाल सिजन–५’ ले लामो सांगीतिक रियालिटी शोको रुपमा कीर्तिमान रच्दैछ । निर्देशकको रुपमा तपाईंले यो उपलब्धिलाई कसरी लिनुहुन्छ ?
कुनै समय गायक-गायिका भएर के हुन्छ भन्ने धारणा थियो, तर यहाँ सहभागी भएर पनि यो सबथोक भइरहेको छ । यो हेर्दा मलाई राम्रो लागिरहेको छ । प्रतिस्पर्धीको रुपमा यहाँ आउनेहरु गायकभन्दा बढी पपुलर हुन्छन् । बढी चिनिन्छन् । फ्यान फलोइङ धेरै हुन्छन् । यस्तो होला भन्ने त मलाई लागेकै थिएन, यो खुसीको कुरा हो ।
हरेक कुराको क्राइटेरिया धेरै छ । कति म्युजिक कम्पनी छन् जसले नयाँ प्रतिस्पर्धीलाई गीत गाउनै दिंदैनन् । गाउन दिन्छु भनेर अतिरिक्त पैसा मागिदिनुहुन्छ उहाँहरुले । अर्को कुरा प्राविधिक रुपमा प्रकाश र क्यामेरा संयोजनको चुनौती छ । जुन उचाइमा आइपुगेका छौं, यी सबथोकका पछाडि अवरोध मात्र छ । यी काम गर्नको लागि नेपालमा यी इस्यु छन् । यी अवरोधले कठिन बनाएको बेला पाँचौं सिजनसम्म आइपुग्नु र प्रतिस्पर्धी पनि सिंगर बन्नु भनेको सायद देशले संगीत क्षेत्रमा राम्रो परिवर्तन गर्न खोजिरहेको छ । यो देशले गायक-गायिकालाई माया गर्दो रहेछ, देशले गायक खोजिराख्या रैछ भन्ने थाहा भो मलाई । अझै सहयोग पाउनुपर्नेजस्तो लागिरहेको छ ।

कुन उद्देश्य लिएर तपाईंहरुले भ्वाइस अफ नेपालको थालनी गर्नुभएको थियो ?
यो भन्दा अघि पनि गायन प्रतिस्पर्धा हुन्थे । गायक-गायिकालाई जज राखिएको हुन्थ्यो । उहाँलाई जज गर्ने अधिकार किन दिइयो भन्ने लाग्थ्यो मलाई पनि । जजमेन्टवाला शो सकेसम्म कलामा नभएको भए राम्रो हुन्थ्यो भन्ने लाग्थ्यो मलाई । जहाँ आएर तैंले यो बिगारिस्, त्यो बिगारिस्, यो राम्रो हैन भनिन्थ्यो । खोज्दै जाँदा हामीले जजमेन्ट भन्दा पनि कोचिङ भन्ने शब्दलाई प्रयोगमा ल्यायौं । जहाँ व्यावसायिक मान्छे कोच गर्छन् र गाउँछन् । जहाँ आवाज मात्र हेरिन्छ । पहिला दुःख पाएको मान्छे हो, यसलाई हेरौं न त भन्ने हुँदैन ।
राम्रो आवाज छ भने त्यसलाई निखारौं भन्ने हुन्थ्यो । सायद नेपालमा विवादित नहोला भन्ने लागेर सुरु गरेका हौं । किनभने रियालिटी शो भन्ने बित्तिकै कन्ट्रोभर्सी अलि बढी हुन्छ । त्यो विवादबाट टाढा बस्न पनि यो शो उपयुक्त लाग्यो नेपालमा । यसरी हामीले सुरु गरेको हो ।
नेपाली संगीतको विकासमा भ्वाइस अफ नेपालको योगदान कस्तो देख्नुहुन्छ ?
कसैले मान्दैन होला तर नेपाली संगीतको विकासमा भ्वाइस अफ नेपालको सबैभन्दा ठूलो हात जस्तो लाग्छ सिंगरको क्रेज हुनुमा । सबैको चल्छ, चल्दैन म भन्न सक्दिन तर आठ-दश जना, १५-२० जना हेर्नुभयो भने पनि नाम पाउनुहुन्छ । भन्नुको अर्थ, भ्वाइस अफ नेपालसँग जोडिने कोच होस् वा सिंगर होस् या सिकारु कोही गायक-गायिका हुन् । सबैलाई नोटिस बनाउँछ । उसले गायकले हरेक कुरालाई नोटिस बनाउँछ । उसले गाएको हरेक कुरामा सुझाव दिन्छ र इन्जोय गर्न थाल्छ ।
रोचक कुरा के भने भ्वाइस अफ नेपाल आएपछि अरु गायन रियालिटी शो पनि आउन थाले । यस्तो शो भइदियो जसले संगीत क्षेत्रलाई मात्र होइन, अन्य क्षेत्रलाई पनि माथि ल्याउन मद्दत गर्यो । यो कुरा आफैंले भन्दा खण्डन गर्न मिल्ला तर एउटा पाटोलाई हेर्यो भने हो भन्ने लाग्छ ।
पछिल्लो समय रियालिटी शो आउने तर बन्द हुने क्रम जारी छ । तर भ्वाइस अफ नेपालले निरन्तरता पाइरहेको छ । यस पछाडिको कारण के हो ?
यसमा एउटा व्यावसायिक पाटो पनि छ । आजको नेपालको सन्दर्भमा दुःखको कुरा के हो भने दर्शकको लागि मात्र बनाइँदैन । तपाईंको शोमा करोडौं भ्युज छ तर स्पोन्सर आएन भने तपाईंले त्यसलाई ‘नेक्स्ट’मा राख्नुहुन्न । यदि कोही स्पोन्सर तपाईंसामु आएर हाम्रो शो करोडौंले हेर्छन् र हामी स्पोन्सर दिन्छौं भनेपछि त्यसले निरन्तरता दिन्छ । भन्नुको अर्थ यो नेपालको प्रणालीको समस्या हो । दर्शकको लागि शो बनाइन्छ भने दर्शक नै सर्वस्व हुनुपर्छ । दर्शकले मन पराएर उक्त शो सर्भाइभ हुनुपर्थ्यो ।
आजको दिनसम्म हामी कति भाग्यमानी छौं भने हाम्रो शोलाई आजको दिनसम्म दर्शक र स्पोन्सरले मन पराइरहेका छन् । दुवै साइडबाट राम्रो भइरहेको छ र हामीले कन्टिन्यु गरिराख्या छौं । दर्शकसँगै विज्ञापनदाताले पनि यसरी नै साथ दिइराख्नुभयो भने निकै माथि जान्छ । विज्ञापन आउँछ वा आउँदैन, दर्शकले मनपराउनुहुन्छ या हुँदैन भन्ने कुराले उहाँहरुलाई कठिन भएको होला । तर आजभोलि आउने रियालिटी शो त्यति साह्रो नराम्रो हुँदैनन्, राम्रै देखिएका छन् ।
पाँचौं सिजनमा दर्शकले के कुरा नयाँ देख्न पाउनुहुन्छ ?
यो भनेको फर्म्याट हो । कोच पनि नयाँ परिवर्तन गरेका छौं दुई जना । उदय सोताङ र मिलन नेवारजी नयाँ सिजनमा हुनुहुन्छ । राजेशपायल राई र प्रमोद खरेलले कोचको रुपमा निरन्तरता पाउनुभएको छ । यो बाहेक नयाँ संरचनामा ‘ब्लक्ड’ भन्नेछ । यो भनेको कुनै पनि कोचले अर्को कोचलाई ब्लक गर्न सक्छ । प्रतिस्पर्धी अर्को कोचको रुपमा नजाओस् भन्ने लाग्छ भने उसले ब्लक गर्न सक्छ । एउटा कोचले एक पटकसम्म त्यो अधिकार पाउँछ । शोभरि चारपटक यस्तो अधिकार प्राप्त हुन्छ । हामी र्यांकिङ चेयर फर्म्याटमा जाँदैछौं । अहिलेको लागि दुईवटा परिवर्तन यिनै हुन् ।
प्रतिक्रिया 4