
८ असोज । नेपाली र संस्कृत साहित्यका मूर्धन्य विद्वान्हरू प्रा.डा. पूर्णचन्द्र ढुङ्गेल, प्रा.डा. दयाराम श्रेष्ठ, प्रा.प्रभा भट्टराई सम्मानित भएका छन् ।
पं काशीनाथ उपाध्याय हरिप्रिया वाङ्मय प्रतिष्ठान धरानद्वारा यस वर्ष काठमाडौंमा आयोजना गरिएको कार्यक्रममा सिन्धुली जिल्लामा रहेको कुशेश्वर संस्कृत विद्यालयलाई पनि सम्मान गरिएको छ ।
यसैगरी सो प्रतिष्ठानले पिण्डेश्वर विद्यापीठ धरानमा अध्ययनरत दुई जना मेधावी विद्यार्थीलाई पनि पुरस्कृत गर्ने जनाएको छ ।
२०६७ सालमा स्थापित सो वाङ्मय प्रतिष्ठानले प्रत्येक वर्ष आयोजना गर्दै आएको यो कार्यक्रम १२औं वार्षिक शृङ्खला हो । कार्यक्रममा प्राध्यापक नारायणप्रसाद शर्मा कट्टेलद्वारा रचना गरिएको ‘जीवन तरङ्ग’ काव्यको लोकार्पण पनि गरिएको थियो । यसअघिका कार्यक्रमका ११वटा शृङ्खला पूर्वाञ्चलको धरान र विराटनगरमा सम्पन्न हुँदै आएका थिए ।
कार्यक्रममा प्रमुख अतिथि प्रा.डा. माधवप्रसाद पोख्रेलले संस्कृत भाषा तथा साहित्य नेपाली तथा पूर्वीय सभ्यताको मूल जग रहेको र यसमाथि हाल विभिन्न क्षेत्रबाट भइरहेका आक्रमणहरूले हाम्रो पहिचान ध्वस्त पार्दै जान थालेकाले यसको जगेर्ना गर्नु जरूरी रहेको बताए ।
प्रतिष्ठानका सचिव प्रा.गङ्गाधर कट्टेलले सञ्चालन गरेको कार्यक्रममा डा.तुलसीप्रसाद भट्टराई, प्रा.डा.गोविन्दराज भट्टराई, वरिष्ठ पत्रकार एवं भाषाविद् शरच्चन्द्र वस्ती लगायत विभिन्न विशिष्ट वक्ताहरूले मन्तव्य व्यक्त गर्दै प्रतिष्ठानको योगदानको सराहना गरेका थिए ।
प्रतिक्रिया 4