८ असोज, हान्झाउ । चीनको हान्झाउमा जारी १९औं एसियन गेम्स (एसियाड) अन्तर्गत तेस्रो दिन सोमबार पनि नेपाली खेलाडीहरुको प्रदर्शन निराशाजनक रह्यो ।
बक्सिङमा रविन थापा र तेक्वान्दोका अन्जली तामाङले एक खेल जित्ने बाहेक अन्य सबै खेलमा नेपाली खेलाडी पराजित भए ।
रविन आफ्नो स्पर्धामा अन्तिम १६ मा पुग्दा अन्जली भने सोमबारै अर्को खेलमा पराजित हुँदै बाहिरिसकेकी छन् ।
यी दुई बाहेक व्यक्तिगत र समूहगत खेलमा नेपालको प्रदर्शन राम्रो हुन सकेन ।
बक्सिङमा रविन विजयी
१९औं एसियाड अन्तर्गत पुरुष बक्सिङमा नेपालका रविन थापाले पुरुष ५१ केजी अन्तर्गत अन्तिम ३२ को खेलमा इन्डोनेसियाका खेलाडी दियो कोएबानुलाई पराजित गरे ।
हान्झाउ जिम्न्यासियममा भएको खेलमा रविन अंकका आधारमा ४-१ ले विजयी भएका हुन् ।
रविनले अब अन्तिम १६ मा उत्तर कोरियाका चोनयोङ सोसँग खेल्नेछन् ।
तेक्वान्दोमा दुवै खेलाडी पराजित
१९औं एसियाड अन्तर्गत तेक्वान्दोमा सोमबार नेपालका दुवै खेलाडी पराजित भएका छन् । लिनान स्पोर्ट्स कल्चर एण्ड एक्जिबिसन सेन्टरमा भएको तेक्वान्दोमा सोमबार नेपालकी अन्जली तामाङले मिश्रित प्रदर्शन गरिन् ।
महिला ४९ केजीमुनी अन्जलीले राउण्ड अफ ३२ मा जित हात पारेपनि अन्तिम १६ को खेलमा पराजित भइन् ।
महिला ४९ केजीमुनि अन्जलीले पहिलो चरणमा कम्बोडियाकी लिडेन क्रिलाई पराजित गरिन् ।
पहिलो राउन्डमा ७–७ को बराबरी खेलेकी अन्जलीले दोश्रो राउन्डमा १०–४ अंकले आफ्नो पक्षमा पार्दै प्रिक्वाटरफाइनलमा स्थान सुरक्षित गरेकी थिइन् ।
प्रिक्वाटरफाइनलमा भने अन्जली थाइल्यान्डकी पानीपक वोङपातान्कितसँग १२–०, १०–० ले पछि परिन् ।
पुरुष ५८ केजीमुनी राउण्ड अफ ३२ मा नेपालका राहुल कुमाल साउदी अरेबियाका रियाद नासेर हम्दीसँग पराजित भए ।
कुमाल साउदी अरबियाका नासिर अहमदी रियादसँग ४–१२ र २–० ले हारे ।
तेक्वान्दोको पहिलो दिन एकल पुम्सेको पुरुषमा प्रेमबहादुर लिम्बू र महिलामा स्वस्तिका तामाङ पराजित भएका थिए ।
जुडोमा मनीता, पुनम र जंगबहादुर पराजित
१९औं एसियाड अन्तर्गत जुडोमा सोमबार प्रतिस्पर्धा गरेका नेपालका सबै तीन खेलाडी पराजित भएका छन् ।
जिओसान लिम्पु जिम्न्यासियममा भएको खेलमा नेपालका मनीता श्रेष्ठ, प्रधान, जंगबहादुर सारु र पुनम श्रेष्ठ इप्पोनका आधारमा पराजित भए ।

१३ औं दक्षिण एसियाली खेलकुदकी स्वर्णधारी समेत रहेकी पुनम महिला ७५ केजीमुनि अन्तिम १६ को खेलमा मंगोलियाकी इड्रेना नयम बात्सुरीसँग पराजित भइन् ।
यस्तै महिला ५७ केजीमुनि मनीता तुर्कमिनिस्तानकी मायसा पार्दायेभा पराजित भइन् भने पुरुष ८१ केजीमुनि जंगबहादुर फिलिपिन्सका भिरोन जोन फेरेरसँग पराजित भए ।
उसुमा कमजोर प्रदर्शन
उसुमा पनि सोमबार नेपाली खेलाडीहरुको प्रदर्शन कमजोर रह्यो ।
एक्सएसजी स्पोर्ट्स सेन्टरमा भएको थाउलोअन्तर्गत महिला चाङक्वानमा नेपालकी सुस्मिता तामाङ ११ खेलाडीमध्ये आठौं स्थानमा रहिन् । उनले ९.४१० अंक स्को गरिन् ।
यस्तै थाउलोकै पुरुष ताजिक्वानमा नेपालका पासाङ शेर्पा १८ खेलाडीमा अन्तिममा रहे । उनले ९.०१३ अंक स्कोर गरे ।
पुरुष ताइजिजियानमा प्रतिस्पर्धा गरेका पासाङ १८ खेलाडीमध्ये १७ औं स्थानमा रहे । उनले ८.९७३ अंक ल्याए ।
पौडीमा हिटबाटै बाहिर
पौडीमा पनि सोमबार नेपाली खेलाडी हिट चरणबाटै बाहिरिए ।
हाङ्झाउ स्पोर्टस सेन्टरको पौडी पोखरीमा भएको महिला २०० मिटर फ्रिस्टायलमा नेपालकी डुवाना लामा हिट चरणबाटै बाहिरिइन् ।
हिट-२ मा प्रतिस्पर्धा गरेकी डुवाना २ मिनेट १६.२९ सेकेन्ड टाइमिङसहित आठ खेलाडी सहभागि हिटमा अन्तिम स्थानमा रहिन् ।
यस्तै पुरुष ५० मिटर फ्रिस्टायलमा एलेक्स शाह पनि आफ्नो हिटमा अन्तिम स्थानमा रहँदै बाहिरिए । उनले २४.१५ सेकेण्डको टाइमिङ निकालेका थिए ।
टेनिसमा सबै पराजित
टेनिसमा सोमबार नेपालका सबै खेलाडी पराजित भए । चारै स्पर्धामा नेपाल पराजित भएको हो ।
अघिल्लो दिन पुरुष सिंगल्समा पहिलो चरणको खेल जितेका नेपालका प्रदीप खड्का सोमबार जापानी खेलाडी शिन्तारो मोचिजुकीसँग सोझो सेटमा पराजित भएका हुन् ।
पहिलो सेटमा प्रदीपले कडा प्रतिस्पर्धाका बावजुत ७-५ ले पछि परे भने दोस्रो सेट जापानी खेलाडीले सहजै ६-१ ले आफ्नो पक्षमा पार्दै खेल जितेका हुन् ।
पुरुष सिंगल्सतर्फ नै नेपालका अभिषेक बास्तोला हङकङका चाक लाम कोलेमन वोङसँग ६-२, ६-० ले पराजित हुँदै बाहिरिए ।
यसैगरी महिला डबल्समा नेपालकी अभिलाषा विष्ट र माहिका राणाको जोडी दक्षिण कोरियाली दाएन ब्याक र बोयोङ जिओङको जोडीसँग ६-१, ६-० ले पराजित भए ।
मिक्स डबल्समा नेपालका अभिषेक बास्तोला र अभिलाषा विष्टको जोडी इन्डोनेसियाको अल्दिला सुत्जिएदी र क्रिस्टोफर बेन्जामिन रनग्कातको जोडीसँग ६-०, ६-० ले पराजित भए ।
फेन्सिङमा नेपालको सबै हार
एसियाड अन्तर्गत तेस्रो दिन सोमबार फेन्सिङमा नेपालका सबै खेलाडी पराजित भएका छन् ।
हानझाउ डियान्जी युनिभर्सिटी जिम्नयासियममा भएको खेलमा कुनै पनि नेपाली खेलाडीले जित निकाल्न सकेनन् ।
पुरुष साब्रे व्यक्तिगत स्पर्धामा नेपालका प्रयास योञ्जन ५ वटै खेलमा पराजित भए । काजकिस्तानका अर्टोक सर्किस्यान र हङकङका हो थिन लोसँग समान ५–० ले पराजित भएका प्रयास उज्वेकिस्तानका सर्जोद ममुतोभ, इरानलका पाक्दामान सायद इस्माइलजादेह र साउदी अरेबियाका अदेल मुख्लिद अल्मुलाइरीसँग समान ५–१ ले पराजित भए ।
पुरुष साब्रे व्यक्तिगत स्पर्धामै राजेन्द्र गजुरेल कुवेतका मोहम्मद अब्दुल करिमसँग ५–२, हङकङका लोन आरोन हो स्जे, चीनका यिनगुइ यान, भियतनामका भान क्वुयतसँग एनगुएन, दक्षिण कोरियाका सानगुक हो र जापानका काइलो स्ट्रिटसँग समान ५–० ले पराजित भए ।
महिला फोइल व्यक्तिगततर्फ नेपालकी मन्दिरा थापा हङकङकी नोक डाफी चेन, जापानकी सिरा अजुमा, जोर्डनकी राआ मजाली र दक्षिण कोरियाकी हियो जिन होङ्गसँग समान ५–० ले, मकाउकी हियो ल्याम कुसँग ५–१ तथा थाइल्यान्डकी चायदा स्मृतिसुकुलसँग ५–३ ले पराजित भइन् ।
यसैगरी गोमा आचार्य दक्षिण कोरियाकी सिना होङसँग ५–३, थाइल्यान्डकी चोक छायानीतपाट स्पिननेकर, जापानकी युका युनोसँग ५–१, सिंगापुरकी म्याक्सिन वाङ्गसँग ५–४, युएईकी अलहायाम अलब्लोसीसँग ५-२ र चीनकी क्वानक्यान हुआङ्गसँग ५–० ले पराजित भइन् ।
रग्बीमा नेपाल जित विहीन
पहिलो पटक एसियाडमा सहभागिता जनाएको नेपालको पुरुष रग्बी टोली जितविहीन रह्यो । समूह सी मा रहेको नेपाल आइतबार यूएई, चीन र अफगानिस्तानसँग पराजित भएको थियो ।
सोमबार वरीयताका लागि भएको खेलमा नेपाल फिलिपिन्स र थाइल्याण्डसँग पनि पराजित भएपछि जितविहीन बनेको हो ।
९ देखि १३औं स्थानसम्मका लागि भएको खेलमा नेपाल फिलिपिन्ससँग ५५-० र थाइल्याण्डसँग ३६-० ले पराजित भयो ।
साइक्लिङमा नेपाल खेलाडीले रेस पूरा गर्न सकेनन्
१९औं एसियाडमा सोमबार साइक्लिङ क्रस कन्ट्रीमा प्रतिस्पर्धा गरेका नेपालका दुवै खेलाडीले रेस पूरा गर्न सकेनन् ।
चुनान जिएसोउ स्पोर्ट्स सेन्टर माउन्टेन बाइक कोर्समा भएको प्रतिस्पर्धामा महिलातर्फ उषा खनाल र पुरुषतर्फ सुरज राना मगर सहभागी भएकोमा उनीहरुले निर्धारित दूरी पूरा गर्न नसकेका हुन् ।
दुवैले माउन्टेन बाइक क्रसकन्ट्रीमा प्रतिस्पर्धा गरेका थिए । योसँगै साइक्लिङमा नेपालको चुनौती समाप्त भएको छ । टोली मंगलबार स्वदेश फर्किदै छ ।
पुरुषतर्फ कूल १७ खेलाडी सहभागी थिए । जसमा नेपालका सुरजसहित ५ खेलाडीले दूरी पूरा गर्न सकेनन् ।
पुरुष २५.५ किलोमिटरमा सुरज दोश्रो ल्यापमा घाइते भएको प्रशिक्षक देवेन्द्र बस्नेतले जनाएका छन् । ५ ल्यापको प्रतिस्पर्धामा सुरजसँगै फिलिपिन्सका २ तथा दक्षिण कोरिया र युएइका १–१ खेलाडीले पनि दूरा पार गर्न सकेनन् ।
चीनका खेलाडीले स्वर्ण र रजत जित्दा जापानका खेलाडीले कांस्यमा चित्त बुझाए ।
महिलाको २०.५६ किलोमिटर दूरीमा उषासहित १५ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । प्रतिस्पर्धा गर्ने क्रममा उषालाई ‘हाइपर थर्मिया’ भएको प्रशिक्षक बस्नेतले जानकारी गराए ।
४ ल्यापको प्रतिस्पर्धामा उषा र जापानकी अकारी कोबायासीले दूरी पूरा गर्न सकेनन् । यो स्पर्धामा पनि चीनका खेलाडीले स्वर्ण र रजत तथा इरानी खेलाडीले कास्य हात पारे ।
बास्केटबलमा नेपाल जापानसँग पराजित
१९औं एसियाड अन्तर्गत महिला थ्री बाई थ्री बास्केटबलमा नेपाल पराजित भएको छ । समूह बी अन्तर्गत देकिङ जिओग्राफिक इन्फरमेसन पार्क बास्केटबल कोर्टमा सोमबार दिउँसो भएको खेलमा नेपाल जापानसँग २२-४ ले पराजित भएको हो ।
नेपालको लागि गरिसा सिलवालले र मिना गुरुङले २-२ अंक स्कोर गरिन् ।
फिबा एसियन गेम्सको वरियतामा जापान दोस्रो वरीयतामा थियो भने नपाल १५औं वरीयतामा थियो ।
जापानको लागि मायु लुसी कुबोताले सर्वाधिक १२ अंक स्कोर गरिन् ।
नेपाली महिला टोलीले एसियाडमा लगातार तेस्रो पटक बास्केटबलमा सहभागिता जनाएको हो भने थ्री बाई थ्री मा लगातार दोस्रो पटक खेलेको हो ।
श्रेया खड्काको कप्तानीमा रहेको नेपाली टोलीमा गरिसा सिलवाल, मिना गुरुङ र रिन्छेन मोक्तान छन् ।
नेपालले अब बुधबार काजाकिस्तानसँग तथा ताइपेईंसँग शुक्रबार प्रतिस्पर्धा गर्ने छ ।
प्रतिक्रिया 4