
८ असोज, काठमाडौं । त्रिभुवन विश्वविद्यालयका अध्यापक प्रेम चलाउनेमाथि आक्रमण गर्नेहरु विरुद्ध परेको मुद्दामाथि जिल्ला अदालत काठमाडौमा सुनुवाइ सुरु भएको छ ।
न्यायाधीश उत्तम सिलुवालको इजलासले हरि आचार्य लगायतका आरोपितहरु विरुद्ध परेको ज्यान मार्ने उद्योगको मुद्दाको सुनुवाइ सुरु गरेको हो । सुनुवाइले मंगलबार पनि निरन्रतता पाउनेछ ।
२० असोज २०७७ मा कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयमा परिसरमा समाजशास्त्रका उपप्राध्यापक चलाउनेमाथि आक्रमण भएको थियो । नेपाल विद्यार्थी संघको त्रिभुवन विश्वविद्यालय क्याम्पस इकाइका तत्कालिन सभापति हरिप्रसाद आचार्य र सचिव योगेन्द्र रावलको नेतृत्वको समूहले उपप्राध्यापक चलाउनेमाथि आक्रमण गरेको थियो ।
घटनामा आचार्य र रावल सहित दीपकराज ओझा, रुपेश साह, रविन लामा, सयुज श्रेष्ठ, निरज रानामगर लगायत संलग्न भएको आरोप थियो ।
जिल्ला अदालतमा मुद्दा विचाराधीन भएकै अवस्थामा सरकारले आरोपितहरुविरुद्धको मुद्दा फिर्ता लिने निर्णय गरेको थियो । त्यसविरुद्ध उपप्राध्यापक चलाउने सर्वोच्च अदालत गएका थिए ।
सर्वोच्च अदालतले मुद्दा फिर्ता लिने निर्णय तत्काल कार्यान्वयन नगर्नु भनी अन्तरिम आदेश दिएको थियो । त्यही आधारमा जिल्ला अदालतको सुनुवाइ अघि बढेको हो ।
प्रतिक्रिया 4