+
+
डाक्टरमाथि एकपछि अर्को हमला :

अशान्त छ मणिपाल, सशंकित छन् चिकित्सक

आक्रोशित भीडमा जब प्रहरी नै भन्छन्- डाक्टरलाई साफ चुटेर आएँ

अमृत सुवेदी अमृत सुवेदी
२०८० असोज ९ गते २०:५८

९ असोज, पोखरा । कहिले डाक्टर त कहिले विरामीका आफन्तको आन्दोलनले थला परेपछि आनन्दराज बतासको समूहलाई बेचेर भारतीय लगानीकर्ताले हात झिकेको अस्पताल हो– मणिपाल शिक्षण अस्पताल ।

भारतीय समूह मणिपाल एजुकेसन एन्ड मेडिकल ग्रुपले सन् १९९४ मा पोखरा–११ फूलबारीमा मणिपाल खोलेको थियो । तर सर्वसुलभ र गुणस्तरीय सेवामा ख्याति कमाएको मणिपाल प्रत्येक साल हुने आन्दोलनले आजित बनेपछि भारतीय समूह बाहिरिएको थियो ।

त्यही मणिपाल अस्पताल २ दिनदेखि फेरि तनावग्रस्त छ । मणिपाल मात्र होइन, सिंगो पोखराकै स्वास्थ्यकर्मीहरु अशान्त छन् ।

सोमबार बिहान लमजुङ नगरपालिकाकी ५७ वर्षीय सुकमाया दुरालाई उपचारका लागि मणिपाल ल्याइएको थियो ।

श्वासप्रश्वास र डाढ दुख्ने भएर अप्ठ्यारो भएपछि आफन्तले दुरालाई मणिपालमा ल्याएका थिए । उनको उपचारकै क्रममा सोमबार दिउँसो १ बजेतिर निधन भयो ।

दिनभरि विरामीलाई डुलाइएको, के भएको हो भन्ने नखुलाइएको र अघिल्लो दिनसम्म ठिकठाक भएको विरामीको एक्कासी ज्यान गएको भन्दै आफन्त र आक्रोशित भीड अस्पतालमा जम्मा भयो ।

होहल्ला सुरु भएपछि एक जना डाक्टर अरु विरामीलाई पनि असर पर्ने भन्दै हल्ला नगरिदिन आग्रह गर्दै थिए । प्रत्यक्षदर्शी डाक्टरका अनुसार उनीमाथि कन्चटमा पछाडिबाट प्रहार भइहाल्यो र चस्मा नै भुइँमा खस्यो । त्यसपछि मणिपालमा झन् तनावपूर्ण अवस्था बढ्दै गएको छ ।

डाक्टरमाथि हातपातै भएपछि आफन्तको आक्रोसित भीड झनै उग्र बन्यो भने अनाहकमा डाक्टर अनिल शाहले कुटाइ खाएको भन्दै चिकित्सकको समूह पनि आक्रोसित बन्न पुगे ।अस्पतालमा सुरक्षाका लागि ठूलो संख्यामा प्रहरी परिचालन गरियो ।

दुराका परिवार, आफन्त र तिनका शुभचिन्तकको संख्या बढ्दै भयो । ठूलो संख्यामा पोखराका युवाहरु आक्रोसित भीडमा थपिंदै गए । त्यतिमा मात्र यो भीड सिमित रहेन, नेविसंघ, तरुण दलका एक-दुई जना नेताहरु नेतृत्वमा थिए । यसमा थप जोडिँदै गएपछि भीड झनै उग्र बन्यो ।

लमजुङमा वडाध्यक्षले नै जिल्ला अस्पतालका डाक्टरलाई मुक्का प्रहार गरेपछि पोखराका स्वास्थ्यकर्मी यसै पनि अशान्त थिए । त्यसैमाथि पोखरा मणिपालमा पनि डाक्टरमाथि प्रहार भएपछि सबैमा निराशा र आक्रोश बढेको भन्दै चिकित्सकहरु ऐक्यबद्धता जनाउन समेत मणिपाल पुगिरहेका थिए ।

राति अबेरसम्मै मृतकका आफन्त र उनको समर्थनमा पुगेका युवाहरुको ठूलो भीड थियो भने चिकित्सकहरुले भने डाक्टरमाथि हातपात गर्नेमाथि मुद्दा चलाउनुपर्ने माग राख्दै दबाब दिइरहेका थिए ।

प्रहरीले डाक्टरमाथि हातपात गरेको आरोपमा पोखरा–५ मालेपाटन बस्ने ३४ वर्षीय विनय गुरुङलाई पक्राउ गरेको थियो । स्वास्थ्यकर्मीहरुले उनलाई मुद्दा चलाउनुपर्ने माग राख्दै नारा लगाउँदै थिए ।

एकातिर आफन्त र शुभचिन्तकको भीड आक्रोसित नै थियो भने अर्कोतिर चिकित्सकले पनि नारा लगाउन थालेपछि प्रहरीले चिकित्सकहरु लाठी चार्ज गर्‍यो । दिउँसोदेखि नै जिल्ला प्रशासनको समन्वयमा अस्पताल व्यवस्थापन, पीडित परिवार र चिकित्सकबीच वार्ता बसिरहेको भए पनि टुंगो लाग्न सकेको थिएन ।

राति अबेरसम्मै वार्ता पनि निष्कर्षमा नपुग्ने र आक्रोश पनि कम नभएपछि प्रहरीले चिकित्सकमाथि नै लाठी चार्ज गरेको थियो । ऐक्यबद्धता जनाउन पुगेका एक डाक्टरलाई आईसीयूमै पुगेर प्रहरीले कुटपिट गरेको चिकित्सकहरुको आरोप छ । प्रहरीले कुटाइबाट पोखराको फेवा सिटी अस्पतालमा कार्यरत डाक्टर दिनेशकुमार विकको ओठ फुटेको छ । प्रहरीले उनलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय पठायो ।

चिकित्सकलाई लाठी चार्ज र ओठ नै फुट्ने गरी हानेपछि जिल्ला प्रहरी कार्यालय कास्कीका इन्स्पेन्टर मदन श्रेष्ठ पीडित परिवारका आफन्त तथा शुभचिन्तकको आक्रोसित भीडमा पुग्छन् । उनले त्यहाँ हेलमेट खोलेर अपशब्द बोल्दै डाक्टरलाई साफ चुटेर आएको बताउँछन् । त्यति मात्र होइन, अपशब्द नै प्रयोग गर्दै कुटाइबाट डाक्टर रगताम्मे भएको बताउँछन् र भीडले ताली ठोक्छ (हेर्नुहोस् तलको भिडियो) ।

भीडलाई थप उत्तेजित गराउने गरी इन्स्पेक्टर श्रेष्ठको अभिव्यक्तिको अहिले पोखरामा आलोचना भइरहेको छ । सुरक्षा दिन पुगेको प्रहरीले नै अपशब्द बोल्दै डाक्टरलाई रगताम्य हुने गरी चुटेको बताउँदा चिकित्सकहरुले असुरक्षाको महसुस गरेको बताइरहेका छन् ।

प्रहरीबाट पक्राउ परेका डाक्टर विकलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका सिनेटर डा. मीनबहादुर गुरुङको रोहबरमा डा. गिरिधारी शर्माको जिम्मा लगाइ पठाइएको प्रहरीले जनाएको छ । प्रहरीको कुटाइ खाएका डाक्टर विकले आफूमाथि इन्स्पेक्टर श्रेष्ठले आईसीयूमै आएर कुटपिट गर्दै पक्राउ गरेको र जिल्ला प्रहरी कार्यालयमा ल्याएपछि माफी मागेको बताए ।

प्रक्राउ परेका गुरुङलाई स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन २०६६ बमोजिम मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको कास्की प्रहरी प्रवक्ता डीएसपी श्रवणकुमार विकले जानकारी दिए । अपशब्द बोल्दै डाक्टरलाई रगताम्मे हुन गरी कुटेको भन्ने इन्स्पेक्टरको भनाइबारे अनुसन्धान हुने डीएसपी विकले बताए ।

के भएको थियो, सुकमाया दुरालाई ?

चिकित्सकहरुले उपचारमा ल्याइएकी दुरालाई मेडिकल भाषामा ‘सेफ्टिक सक’ भएको बताइरहेका छन् । चिकित्सकहरुको अनुसार विरामीको अवस्था गम्भीर थियो ।

‘विरामीको मृत्यु ‘सेफ्टिक सक’का कारण भएको हो । यस्तो हुँदा सुरुमा प्रेसर घट्छ अनि विस्तारै अरु अंगले काम गर्न छोड्दै जान्छ । त्यस्तो बेलामा हुने किड्नीको समस्यालाई एकेआई अर्थात् एक्युड किड्नी इन्जुरी भनिन्छ । यस्तो हुँदा बिस्तारै फोक्सोले पनि काम गर्दै जान छोड्छ’ उपचारमा संलग्न एक डाक्टरले भने, ‘सेफ्टिक सक’ बारे आफन्तलाई पनि जानकारी गराइएको थियो । विरामीका एक जना आफन्त मेडिकल लाइनकै हुनुहुँदो रहेछ, यसबारे उहाँलाई बताउँदा, तपाईंहरुले बेस्ट दिनुस् भनेर निस्किनुभएको हो ।’

अस्पताल ल्याउँदा बिरामीको प्रेसर धेरै नै घटेकाले बढाउन फूल डोजमा औषधि चलाइएको पनि उपचारमा संलग्न डाक्टरले बताए । उनले आफ्नो सुरक्षाको कारण देखाउँदै नाम खुलाउन चाहेनन् ।

‘उहाँको एक्कासी मुटुको चाल बन्द भइसकेको थियो । विरामीको अवस्था गम्भीर थियो । भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । मुटुले धकेल्न सकिरहेको थिएन र बन्द भयो । हामीले सीपीआर गर्‍यौं, यो भनेको छातीमा हातले दबाएर मुटुको चाल फर्काउने प्रयास हो’ उपचारमा संलग्न अर्का एक चिकित्सकले भने, ‘आधा घन्टा पहिले नै यसबारे आफन्तलाई बिफ्रिङ गरेको हो । बाँच्ने सम्भावना एक प्रतिशत मात्र छ भनेर भनिएको थियो । हामीले खेलेको त्यही एक प्रतिशतमा हो ।’

विरामीको मृत्यु भएपछि एक्कासी आक्रोसित भीड आएर डाक्टरमाथि आक्रमण भएको उनले बताए । आक्रमणमा पर्ने ग्यास्ट्रो वार्डमा कार्यरत थिए । ‘उनी उपचारमा संलग्न पनि होइनन्, आफ्नै विरामीको सेवामा ग्यास्ट्रो वार्डमा थिए’ एक डाक्टरले भने, ‘उनले अनाहकमा कुटाए खाए, हामी सम्पूर्ण डाक्टरहरुमाथि असुरक्षा पैदा भयो ।’

डाक्टरमाथि आक्रमण हुँदा राजनीतिक रुपमा स्वार्थ गाँस्ने काम भएको उनीहरुको गुनासो थियो ।

आकस्मिक बाहेक पोखराका अस्पतालका सबै सेवा बन्द

डाक्टरमाथि भएको आक्रमणको विरोधमा पोखराका सबै अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा बन्द गरिएका छन् । हेटौंडा, लमजुङपछि लगत्तै पोखरामा पनि डाक्टरमाथि आक्रमण भएपछि चिकित्सकहरुले आकस्मिक बाहेकका सबै सेवा बन्द गरेका हुन् ।

गण्डकी प्रदेशकै ठूलो सरकारी अस्पताल पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको पनि आकस्मिकबाहेक सेवा बन्द गरिएको निर्देशक डा. भरत खत्रीले जानकारी दिए । मणिपाल शिक्षण अस्पतालमा स्वास्थ्यकर्मी अहिले पनि खुलेर बोल्न डराइरहेका छन् ।

एकपछि अर्को घटनाले चिकित्सकहरुमाथि ठूलो असुरक्षा पैदा गरेको स्वास्थ्यकर्मीहरुले बताइरहेका छन् । मणिपाल शिक्षण अस्पतालका एक डाक्टरको प्रश्न छ, ‘जुन हस्पिटलमा काम गर्छौं । त्यही हस्पिटलबाट लुकेर बाहिर निस्कनुपर्‍यो भनेपछि डाक्टरको सुरक्षा कसले गर्छ ? हामीलाई पनि जबरजस्ती विदेश जानुपर्ने अवस्थामा धकेलिंदैछ । यस्तो अवस्थामा कसरी काम गर्न सकिन्छ ?’

एकपछि अर्को डाक्टरमाथि आक्रमण हुने क्रमले केही वर्षमा देशमा कोही डाक्टर बस्ने स्थिति नरहने अर्का एक डाक्टरको भनाइ थियो । ‘अहिले हामीले आन्दोलन गरिरहनु परेको छ । नोक्सान कसलाई भइरहेको छ, सामान्य नागरिकलाई भइरहेको छ नि होइन र ?’ मणिपालका एक डाक्टरले भने, ‘यस्तै अवस्था हो भने जो पनि हामीलाई पिटेर हिंड्न सक्छ ।’

एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन नेपाल गण्डकी प्रदेश अध्यक्ष गिरिधारी शर्माले डाक्टरमाथि भइरहेको आक्रमणले सिंगो मेडिकल क्षेत्रलाई सशंकित बनाइरहेको बताए ।

लेखकको बारेमा
अमृत सुवेदी

पोखरामा रहेर पत्रकारिता गरिरहेका सुवेदी अनलाइनखबरका गण्डकी प्रदेश ब्युरो प्रमुख हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?