+
+

चिकित्सकमाथि आक्रमण र स्वास्थ्यसंस्थामा हुलहुज्जत झन् बढ्यो : चिकित्सक संघ

बृहत छलफलका लागि बोलायो विस्तारित बैठक

अनलाइनखबर अनलाइनखबर
२०८० असोज ९ गते १६:२८

९ असोज, काठमाडौं । देशका विभिन्न ठाउँमा चिकित्सकलाई लक्षित गरी भएका सांघातिक आक्रमण र स्वास्थ्य संस्थामा अस्वाभाविक हुलहुज्जत र गुण्डागर्दी बढेको भन्दै नेपाल चिकित्सक संघले आपत्ति जनाएको छ ।

२७ भदौमा  हेटौंडाको सञ्चो अस्पतालमा दुई चिकित्सकमाथि आक्रमण भएयता बुटबल, लमजुङ, मणिपाल शिक्षण अस्पताल पोखरा, बिराटनगर, बघौडा अस्पताल चितवन, पाटन अस्पताल लगायतमा चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि सांघातिक आक्रमण भएको संघले जनाएको छ ।

हेटौडामा भएको घटनालाई लिएर सरकारसँग सम्झौता गरेको एक हप्ता नपुग्दै देशको विभिन्न स्थानमा चिकित्सकमाथि आक्रमण हुनुले स्वास्थ्य सेवा प्रवाहमा गम्भीर असर पु¥याएको संघको ठहर छ ।

‘…सरकार समक्ष गरिएको सम्झौताको हप्ता दिन पनि नहुँदै देशका विभिन्न स्थानमा चिकित्सकहरुलाई लक्षित गरी सांघातिक आक्रमण गरेर गम्भीर घाइते बनाइनु तथा स्वास्थ्य संस्थामा अत्यन्तै अस्वाभाविक, अनियन्त्रित हुलहुज्जत र गुण्डागर्दीले नेपालको स्वास्थ्य सेवा प्रवाहमा गम्भीर असर पु¥याएको छ’ संघका महासचिव डा. सञ्जीव गिरीले विज्ञप्तिमा भनेका छन् ।

चिकित्सकमाथि आक्रमण गर्नेलाई स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन २०६६ र पहिलो संशोधन ऐन २०७९  बमोजिम कानूनी कारवाही नगरिनु, सुरक्षाकर्मीहरुको भूमिका शंकास्पद हुनु तथा समग्र स्वास्थ्यकर्मीहरु अत्यन्तै असुरक्षित र भयभित भइरहेको विद्यमान अवस्थामा नियमित स्वास्थ्य सेवा प्रवाह गर्न सक्ने वातावरण नभएको संघले उल्लेख गरेको छ ।

पोखरामा चिकित्सकमाथि लाठीचार्ज र हिरासतमा राखिएको घटनाले कानुनी राज्यको उपहास भएको समेत संघले जनाएको छ । संघले दोषीलाई कानुनको दायरामा ल्याई चिकित्सकीय सेवामा संलग्न जनशक्तिको सुरक्षा र कानुनी राज्य छ भन्ने प्रत्याभूति दिलाउन सरकारलाई आग्रह गरेको छ ।

संघले चिकित्सकमाथि भइरहेका आक्रमणको घटनाका विषयमा भावी दिनमा अवलम्बन गर्नुपर्ने रणनीतिक भूमिकाका विषयमा छलफल गर्न भोलि १० गते विस्तारित बैठक बोलाएको छ । बैठकमा अस्पतालका निर्देशक, संघका पूर्व पदाधिकारी, परिषद्का सदस्य, विभिन्न विशेषज्ञ सोसाइटीका पदाधिकारीहरु, संघका शाखा कार्यालयका अध्यक्ष एवं सचिवहरु, रेजिडण्ट एशोसिएसनका पदाधिकारीहरु सहभागी हुने चिकित्सक संघले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?