+
+

चौथो बुँदामा बालेनको संशोधनले भाँडियो ई: र महानगरको वार्ता

वार्ता टोलीस्तरमा जुटेको सहमति अनुमोदन भए ईःलाई मंगलबार बेलुकी प्रदर्शन अन्त्य गराउने तयारी थियो । तर जब सहमतिको खाका मेयर बालेनसम्म पुग्यो, सहमतिको मस्यौदाको चौथो बुँदामा संशोधन भयो । त्यसपछि वार्ता भाँडियो ।

गौरव पोखरेल गौरव पोखरेल
२०८० असोज ९ गते २१:५०

९ असोज, काठमाडौं । फुटपाथ व्यवसायीको व्यवस्थापन गर्न माग गर्दै प्रदर्शनरत अभियन्ता ईः का प्रतिनिधि र काठमाडौं महानगरका टोलीबीच मंगलबार झण्डै साढे ५ घन्टा चलेको वार्ता सहमति नजिक पुगेर पनि भाँडिएको छ ।

अभियन्ता ईः ले ८ दिनदेखि राष्ट्रिय सभा गृहको गेट अगाडि निरन्तर उभिएर प्रदर्शन गरेपछि महानगरले मंगलबार वार्ता गरेको थियो । अभियन्ता ईः तर्फबाट गोविन्द नारायण नेतृत्वको टोली र काठमाडौं महानगरबाट प्रवक्ता नविन मानन्धर नेतृत्वको टोली वार्तामा बसेको थियो ।

सभागृहमा साढे ५ घन्टा चलेको वार्तामा चार बुँदे सहमतिको खाका समेत बनिसकेको थियो । तर, अन्तिममा मेयर बालेन शाहले सहमतिको चौथो बुँदामा संशोधन गरेपछि सहमति हुन सकेन ।

दुवै पक्षका वार्ता टोली सदस्यहरुका अनुसार, सहमतिको तीन वटा बुँदामा दुवै पक्षको पूर्णतः सहमति थियो ।

पहिलो बुँदामा, ८ दिनदेखि राष्ट्रियसभा गृहको मुल गेटमा उभिएर प्रदर्शन गरिरहेका अभियन्ता ईः र सहभागीका अन्यको स्वास्थ्य लाभको काम गर्दै प्रदर्शन स्थगत गर्ने भनिएको थियो ।

दोस्रोमा फुटपाथ, सार्वजनिक स्थलमा व्यापार गर्ने क्रममा जफत भएका सामग्रीहरु महानगरको स्टोरमा भएसम्म यकिन गरेर सम्बन्धित धनीलाई फिर्ता गर्ने भनिएको थियो ।

तेस्रो बुँदामा, अनौपचारिक क्षेत्रमार्फत हुने व्यापारलाई व्यवस्थित गर्न व्यापार गर्ने स्थल, समय, व्यापार गर्न आवश्यक मानिने व्यक्ति यकिन गर्न र स्थान उपलब्ध गराउन सुझाव दिने गरी एउटा अध्ययन समिति बनाउने भनिएको थियो ।

समितिमा महानगरले तोकेका ३ जना, ईःका तर्फबाट दुई प्रतिनिधि, भौतिक तथा यातायात मन्त्रालयका एक प्रतिनिधि, शहरी विकास मन्त्रालय र ट्राफिक प्रहरीबाट एक/एक जना प्रतिनिधि रहने भनिएको थियो ।

चौथो बुँदामा फुटपाथ, सार्वजनिक स्थलमा व्यापार गरेका व्यवसायीहरुका लागि उपयुक्त स्थलको तत्काल पहिचान गर्न महानगरले पहल गर्ने भनिएको थियो ।

कोटेश्वर चोकदेखि जडिबुटी जाने बाटो, तिलगंगा अगाडि, चाबहिल मालपोत अगाडि, बालाजु क्षेत्र, भृकुटीमण्डप र सम्भावित अन्य क्षेत्रमा तत्कालका लागि व्यापार गर्न दिने गरी अध्ययन गर्ने भनिएको थियो ।

‘दशैं–तिहार र छठसम्मका लागि वैकल्पिक व्यापार गर्ने स्थल उपलब्ध गराउने सम्बन्धमा एक हप्ताभित्र स्थलगत अध्ययन, अवलोकन र पहिचान गरी व्यवसायीहरुलाई निश्चित समय र निश्चित स्थानमा व्यवसाय गर्न दिइने’ भनिएको थियो ।

वार्ता टोलीस्तरमा जुटेको सहमति अनुमोदन भए ईःलाई मंगलबार बेलुकी प्रदर्शन अन्त्य गराउने तयारी थियो । तर जब सहमतिको खाका मेयर बालेनसम्म पुग्यो, उनले सहमतिको मस्यौदाको चौथो बुँदामा संशोधन गरे ।

उनले कोटेश्वर, तिलगंगा अगाडि, चाबहिल लगायतका ठाँउ तोकेर तत्कालका लागि व्यापार गर्न दिने भन्ने हटाए र ‘साबिकमा फुटपाथ, सार्वजनिक स्थलमा व्यापार गरेका व्यवसायीहरुका लागि आजको मितिले एक हप्ताभित्र उपयुक्त स्थल पहिचान गर्न महानगरपालिकाले पहल गर्नेछ’ मात्र राख्न लगाए ।

त्यसमा ईः पक्षधर सहमत भएनन् । ‘महानगरबाट वार्ता टोलीले सहमतिका लागि इमान्दार प्रयास गरेको हो, टोलीले भनेका विषयमा हामी सहमत पनि थियौं’, आफ्नो प्रदर्शन जारी राखेका अभियन्ता ईः ले अनलाइनखबरसँग भने, ‘तर मेयर लचिलो हुनुभएन, त्यहीकारण वार्ता निष्कर्षविहीन भयो ।’

अभियन्ता ईः र काठमाडौं महानगरबीच वार्ता गर्न बसेको टोली ।

महानगरको तर्फबाट वार्तामा सहभागीहरुले भने सहमतिको बुँदा पहिल्यै सार्वजनिक भएपछि वडाध्यक्षहरुबाट स्थान तोक्ने विषयमा नराख्न दबाब बढेको दाबी गरेका छन् । स्थान उल्लेख गर्दा भोलिदेखि नै व्यवसाय सुरु हुने र अन्यत्र पनि थेग्न नसक्ने स्थिति हुने भएकाले संशोधन गरिएको उनीहरूको तर्क छ ।

‘कोटेश्वर पर्ने वडा नं. ३२ का वडाध्यक्ष त्यो सुनेर आफैं वार्ता स्थलमा आउनु भयो र स्थान तोक्दा समस्या हुने बताउनुभयो’, बालेन पक्षको वार्ता टोलीका एक सदस्यले भने, ‘वडाध्यक्षहरुको प्रेसरपछि तत्काललाई अध्ययन गर्ने भन्ने बुँदा मात्र राख्ने भन्ने भएको थियो । तर अभियन्ताहरुले मान्नु भएन ।’

काठमाडौं महानगरले फुटपाथमा व्यवसाय गर्नेहरुलाई हटाएको छ भने ठेला र साइकलमा व्यापार गर्न समेत रोक लगाएको छ । ठेला र साइकलमा व्यापार गरेको भेटिए जफत गर्ने क्रममा नगर प्रहरीले लछारपछार गर्ने गरेको छ ।

मेयर बालेनले चुनावी बाचा विपरित वैकल्पिक व्यवस्थापन नगरी हटाएको भन्दै अभियान्ताहरुले ‘गरिबको चमेली बोल्दिने कोही छैन’ अभियान चलाएका थिए । अभियान्ता ईः ले दुई महिना अघि मेयरको सचिवालयमा साना सडक व्यवसायीको व्यवस्थापनबारे ‘पोलिसी फ्रेम वर्क’ बनाएर बुझाएका थिए ।

तत्काललाई बिहान र बेलुकीको समयमा फुटपाथ व्यवसाय गर्न दिनुपर्ने, ठेला, गाडा वा साइकल लिलाम रोक्नुपर्ने, जफत गरिएको सामान फिर्ता वा मुआब्जा दिनुपर्ने उनको माग थियो । साथै दीर्घकालका लागि भने निश्चित स्थान तोकेर साना व्यवसायीलाई व्यापार गर्न दिन भनिएको थियो ।

पटकपटक ध्यानाकर्षण गराउँदा पनि महानगरले सुनुवाइ नगरेपनि ईः सहितका युवाहरुले अघिल्लो मंगलबार महानगरको कार्यालय अगाडि उभिन थालेका थिए । सुरुमा ७७ घन्टा भनेर उभिएका अभियन्ता ईः ८ दिनदेखि निरन्तर प्रदर्शनरत छन् ।

लगातार उभिरहँदा उनको स्वास्थ्य अवस्था जटिल हुँदै गएको छ भने मेयर बालेनको आलोचना भयो ।

सोमबार मेयर बालेनले ‘वान टु वान’ वार्ता गर्ने भदै राष्ट्रियसभा गृहको चौरमा दुई कुर्सी राखेर बोलाएर ईःलाई बोलाउन नगर प्रहरी समेत पठाएका थिए । तर ईःले वार्ता टोलीस्तरमा सम्वाद गर्ने बताए । नगर प्रहरीले तत्काल नआए नभेट्ने बताएपछि मेयर र अभियन्ता ईःबीच आरोप–प्रत्यारोप चल्यो ।

मंगलबार बिहान उपमेयर सुनिता डंगोल आफैं अभियन्ता ईः लाई भेट्न पुगेकी थिइन् । त्यसपछि भने दुबै पक्षबीच वार्ता टोली बनाएर सम्वाद सुरु भएको थियो ।

ईःका तर्फबाट गोविन्द नारायणको नेतृत्वमा सञ्जय अधिकारी, प्रज्वलत्ता कार्की, सञ्जय गिरी र राज महर्जन रहेको टोली वार्तामा सहभागी थिए । महानगरपालिकाका तर्फबाट महानगरका प्रवक्ता नवीन मानन्धरको नेतृत्वमा वडाध्यक्ष चिनकाजी महर्जन, कानून विभाग प्रमुख वसन्त आचार्य, कुमार बेञ्जनकार र धिरज जोशी सदस्य रहेको टोली वार्तामा थियो ।

प्रदर्शनरत् अभियन्ता ईः ले भने मेयर वालेनसमक्ष सहमतिको खाका पुगेर फर्किँदा अमान्य हुने गरी केरमेट हुनुलाई बालेनको गलत मनसाय भनेका छन् । ‘उहाँले यो वार्ता नै प्रेसर थेग्नका लागि मात्र नियतवश गरेको देखियो’, ईः ले थपे, ‘समस्यालाई समाधानतर्फ लानेभन्दा पनि मुभमेन्टलाई डिफ्यूज गर्ने मनसाय देखियो ।’

लेखकको बारेमा
गौरव पोखरेल

पोखरेल अनलाइनखबरका लागि राष्ट्रिय सुरक्षा एवं समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?