
१० असोज, काठमाडौं । नेपाल समुद्रपार निकासी पैठारी संघले आयातित वस्तुमा लेबल टाँस्नुपर्ने नियमले समस्या सृजना भएको बताएको छ ।
मंगलबार वाणिज्य विभागका महानिर्देशकलाई ज्ञापन पत्र बुझाएर संघले लेबल टाँस्नु पर्ने नियमको विरोध गरेको हो ।
संघका अध्यक्ष विनोदकुमार सेठियाले नेतृत्व गरेको प्रतिनिधिमण्डलले मंगलबार विभागका महानिर्देशक तीर्थराज चिलुवाललाई भेटी सबै आयातित वस्तु बजार पठाउनु अघि आयातकर्ता र बजार वितरकको विवरण उल्लेखित लेबल टाँस्नुपर्ने व्यवस्थाले आयातकर्तालाई निकै अप्ठ्यारो अवस्थामा पुर्याएको बताए ।
अध्यक्ष सेठियाले यो व्यवस्थामा सहजीकरण गरिदिन पनि आग्रह गरे । ‘नक्कली सामान भित्र्याउनेले सक्कली आयातकर्ता र वितरकको विवरण उल्लेखित टेबल टाँसेर बजारमा सामान पठाउन सक्ने जोखिम देखिन्छ,’ अध्यक्ष सेठियाले भने ।
कतिपय वस्तुको प्याकेजिङ खोलेर लेबल टाँसी पुनःप्याकेजिङ गर्न सम्भव नहुने र सम्भव भइहाले पनि व्यवसायको लागत बढ्ने संघको भनाइ छ ।
टुटेफुटेका र म्याद गुज्रेका वस्तु नष्ट गर्ने सहज कानुनी व्यवस्था नहुँदा व्यवसायीले समस्या झेलिरहेको संघको गुनासो छ ।
प्रतिनिधि मण्डलले आयातमा प्रतिबन्ध लागेका वस्तु बजारमा सजिलै बजारमा पाइरहेको विषयमा पनि महानिर्देशक चिलुवालको ध्यानाकर्षण गराएको जनाएको छ ।
यस्तै उधारो असुली ऐन निर्माणका लागि पनि विभागले पहल गर्नुपर्ने माग संघले अघि सारेको छ ।
व्यवसायीहरुसँगको छलफल पछि महानिर्देशक चिलुवालले व्यवसायीहरुको मागहरु जायज भए पनि सरकारका नीति नियमहरुले व्यवसायीलाई नै फाइदा पुग्ने गरी आएको दाबी गरे ।
महानिर्देशक चिलुवालले चोरी पैठारी रोक्नकै लागि लेबलिङको प्रावधान कार्यान्वयन गरिएको उनको भनाइ छ ।
प्रतिक्रिया 4