
लुनकरणदास गङ्गादेवी चौधरी साहित्य कला मन्दिरले विभिन्न स्रष्टालाई सम्मान गर्दैछ । विगत तीन दशकदेखि प्रदान गर्दै आएको सो सम्मानका लागि स्रष्टाहरुको नाम घोषणा गरिएको हो ।
यस अन्तर्गत विगतमा झैं शिरोमणि बाबुराम आचार्य शोध सम्मान, सरस्वती सम्मान र नारायणगोपाल संगीत सम्मान दिन लागेको हो । यस वर्ष इतिहास शिरोमणि बाबुराम आचार्य शोध सम्मान प्रा. विद्यानाथ उपाध्याय भट्टलाई दिइने भएको छ । उनी तन्त्र विज्ञानका ज्ञाता हुन् ।
सरस्वती सम्मान यसपालि संयुक्त रुपमा कवि तथा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति डा. विष्णुविभु घिमिरे र कवि एवं व्यङ्ग्यकार लक्ष्मण नेवटियालाई दिइने भएको छ । यसैगरी नारायणगोपाल संगीत सम्मान यसपालि रैथाने संगीतको खोजकर्ता एवं गायिका झुमा लिम्बुलाई दिइने निर्णय गरिएको छ ।
लुनकरणदास गङ्गादेवी चौधरी साहित्य कला मन्दिर स्रष्टा सम्मानको यो ३०औं संस्करण हो । साहित्य कला मन्दिरका अध्यक्ष मेघा चौधरीका अनुसार ३०औं वार्षिकोत्सवको अवसरमा एक विशेष कार्यक्रम गरी स्रष्टाहरुलाई सम्मानित गरिनेछ ।
आगामी असोज २९ गते काठमाडौंमा सम्मान कार्यक्रमको तय गरिएको साहित्य कला मन्दिरका महासचिव रमण घिमिरेले बताए ।
प्रतिक्रिया 4