+
+

फर्निचरमा मुलुकलाई आत्मनिर्भर बनाउन कानुन संशोधन आवश्यक : उद्योगमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०८० असोज १० गते १८:४२

१० असोज, काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले फर्निचर आयात मुलुकका लागि सुखद् नभएको बताएका छन् ।

भृकुटीमण्डपमा बुधबारदेखि सुरू भएको ‘फर्नेक्स-२०२३’ को उद्घाटन गर्दै मन्त्री रिजालले यस्तो धारणा राखेका हुन् ।

नवौं संस्करणको एक्स्पोको उद्घाटन गर्दै मन्त्री रिजालले मुलुक फर्निचरजन्य उत्पादनमा आत्मनिर्भर हुँदै गए पनि पर्याप्त नभएको बताए ।

आयात मुलुकका लागि सुखद् विषय नभएको बताएका उनले फर्निचरजन्य उत्पादनमा मुलुकलाई आत्मनिर्भर बनाउनका लागि विद्यमान कानुनी व्यवस्था संशोधनका लागि सरकार तयारले पहलकदमी लिने आश्वासन पनि दिए ।

कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले स्वदेशमा वर्षेनि अर्बौंको काठ कुहिएर गइरहेको र फर्निचर तथा फर्निसिङका उत्पादन बनाउन विदेशी काठ आयात गर्नुपर्ने अवस्थालाई सुधार गर्न सरकारको ध्यानाकर्षण गराए ।

उनले उद्योग व्यवसायलाई सरकारले संरक्षण र सहयोग नगरेको भन्दै पछिल्ला दिनहरुमा अवलम्बन गरिएका नीति तथा व्यवस्था तत्काल संशोधन गर्न सरकारसँग आग्रह गरे । उनले उद्योग व्यवसाय बन्द हुने अवस्थामा पुग्दा मुखदर्शक भएर नबस्न पनि सरकारको ध्यानाकर्षण गराए ।

नेपाल चेम्बर अफ कमर्शका उपाध्यक्ष कमलेशकुमार अग्रवालले बैंक वित्तीय संस्थाले आफूखुसी तर्जुमा गर्ने नीति नियमका कारण उद्योग व्यवसाय धरापमा परेको भन्दै सरकार र नेपाल राष्ट बैंकको ध्यानाकर्षण गराए ।

फर्निचरजन्य उद्योगलाई फरक व्यवहार गर्ने काम भएको भन्दै एकनाशको व्यवहार गर्न आग्रह गरेका उनले समग्र उद्योग क्षेत्रलाई घेराबन्दीमा पार्ने काम सरकारबाट नै भएको आरोप लगाए ।

नेपाल फर्निचर तथा फर्निसिङ व्यवसायी महासंघका अध्यक्ष सुजिल श्रेष्ठले फर्निचर व्यवसायीलाई स्वदेशी काठ खरिदका लागि लिलामीमा सहभागी हुन नपाउने व्यवस्था अव्यवहारिक भएको भन्दै विभेदकारी नीतिको अन्त्य गर्न माग गरे ।

बैंकको मोनोपोली, उद्योग सञ्चालन गर्ने स्थानको अभाव, तयारी वस्तुमाभन्दा कच्चा पदार्थमा लगाइएको अधिक भन्सारले उद्योग सञ्चालन गर्न असहज भएको उनको भनाइ थियो ।

नेपाल फर्निचर तथा फर्निसिङ संघका अध्यक्ष दिनेशकुमार अग्रवालले अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको फर्निचर तथा फर्निसिङ उद्योग र व्यवसायलाई सरकारले संरक्षण गर्न नसकेको बताएका थिए ।

नेपाल फर्निचर तथा फर्निसिङ संघको आयोजनामा सुरु भएको एक्स्पो ५ दिनसम्म चल्नेछ । एक्सपोमा १०० भन्दा बढी स्टलहरु छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?