
११ असोज, काठमाडौं । सचिव रवीन्द्रनाथ श्रेष्ठले बिहीबारदेखि अवकाश पाएका छन् । शहरी विकास मन्त्रालयका सचिव रहेका श्रेष्ठले उमेर हदका कारण अवकाश पाएका हुन् ।
खानेपानी इन्जिनियरका रुपमा २०४७ सालमा निजामती सेवा प्रवेश गरेका श्रेष्ठले खानेपानी, शहरी विकास, सिँचाइ र सडकसम्बद्ध निकायमा काम गरेका थिए ।
०६२ सालमा उपसचिवमा बढुवा भएका श्रेष्ठ ०६६ सालमा सहसचिव बनेका थिए ।
सडक विभागको महानिर्देशक समेत भएका उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पनि प्राविधिक सहसचिवका रुपमा काम गरेका थिए ।
उनले सहरी विकास सहित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सिँचाइ मन्त्रालय र राष्ट्रिय सतर्कता केन्द्रमा सचिवका रुपमा काम गरेका थिए ।
को बन्ला सचिव ?
श्रेष्ठको अवकाशपछि इन्जिनियरिङ सेवाबाट एक जना सहसचिव सचिवमा बढुवा हुनेछन् । त्यसका लागि सचिव बढुवा सिफारिस समितिले तीन जना वरिष्ठ प्राविधिक सहसचिवको नाम सिफारिस गर्नेछ ।
इन्जिनियरिङतर्फको वरीयताक्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको पारमाणविक पदार्थ व्यवस्थापन महाशाखा प्रुमख रहेका विश्वबाबु पुडासैनी पहिलो नम्बरमा छन् । उनी लामो समय गुणस्तर तथा नापतौल विभागका महानिर्देशक भएर काम गरेका सहसचिव हुन् ।
दोस्रो नम्बरमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको विकास सहायता समन्वय तथा गुणस्तर महाशाखा प्रुमख रहेका अर्जुनजंग थापा छन् । उनी सडक विभागका दोहोरिएर महानिर्देशक बनेका सहसचिव हुन् ।
तेस्रो नम्बरमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको जलस्रोत अनुसन्धान तथा विकास केन्द्रकी कार्यकारी निर्देशक सरिता दवाडी छिन् ।
लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षताको समितिले तीन जनालाई बुढावाका लागि सिफारिस गर्नेछ । उनीहरुमध्येबाटै एकजनालाई मन्त्रिपरिषदले सचिव बनाउनेछ ।
दोस्रो नम्बरका थापा एक महिनापछि उमेरहदका कारण अनिवार्य अवकाशमा जाँदै छन् । त्यसैले सचिवमा बढुवा भइहाले पनि थापाले लामो समय काम गर्न पाउने छैनन् । पुडासैनी र दवाडीले भने सचिवका रुपमा ५ वर्ष नै काम गर्न पाउने सम्भावना छ ।
अवकाशमा मुखमा पुगेका सहसचिवलाई सम्मान र पेन्सन सुविधा बढ्ने गरी सचिव बनाउने प्रचलन रहेकाले थापा नै सचिव बन्ने सम्भावना छ ।
निजामती सेवा ऐनअनुसार ५८ वर्ष पूरा भएका सचिव अनिवार्य अवकाशमा जाने व्यवस्था छ । तर ५ वर्ष सचिवको कार्यकाल पूरा गरेमा भने ५८ वर्ष पुग्नुअघि नै अनिवार्य अवकाश पाउने व्यवस्था छ ।
को-को छन् अवकाशको नजिक ?
निजामती किताबखानाको अभिलेखअनुसार चालु आर्थिक वर्षमा अवकाशमा जाने सचिवको सूची लामै छ । सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव दामोदर रेग्मीले ११ कात्तिकमा अवकाश पाउँदैछन् । परराष्ट्र सचिव भरतराज पौडेलको २० मंसिरमा र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका ऊर्जा सचिव दिनेशकुमार घिमिरेको ९ पुसमा अवकास हुँदैछ ।
त्यस्तै ६ फागुनमा निर्वाचन आयोगका सचिव सूर्यप्रसाद गौतम र २६ फागुनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी जनसंख्या मामिला हेर्ने सचिव देवकुमारी गुरागाईँ अवकाशमा जानेछन् ।
११ चैतमा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव केवलप्रसाद भण्डारी, १७ वैशाख २०८१ मा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका शिक्षा सचिव सुरेश अधिकारी, २८ वैशाखमा कृषि तथा पशुपन्छी विकास मन्त्राका पशुपक्षी सचिव रेवतीरमण पौडेल, १३ असार २०८० मा जल तथा ऊर्जा आयोगका सचिव सुशीलचन्द्र तिवारीको अवकाश हुने निजामति किताबखानाको अभिलेख छ ।
निजामती सेवाका सचिवहरुबाहेक विशिष्ट श्रेणीका अरु कर्मचारीले पनि आगामी असारअघि अवकाश पाउँदैछन् ।
१२ माघमा कार्यवहाक महालेखा परीक्षक महेश्वर काफ्ले, २९ माघमा सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार लालबहादुर कुँवर र १७ वैशाख २०८१ मा सर्वोच्चका रजिष्ट्रार नारायणप्रसाद पन्थी र महान्यायाधिवक्ता कार्यालयका नायब महान्याधिवक्ता विश्वराज कोइराला पनि अवकाशमा जानेछन् ।
आगामी असारअघि केही सहसचिवहरु सचिवमा बढुवा हुने र ५८ वर्षे उमेरहदका कारण तुरुन्तै अवकाश हुने पनि सम्भावना छ ।
प्रतिक्रिया 4