
१२ असोज, काठमाडौं । नेपाल धितोपत्र बोर्डले मुक्तिनाथ कृषि कम्पनी र नेपाल वेयरहाउजिङ कम्पनीलाई प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने स्वीकृति दिएको छ । धितोपत्र बोर्डले १० असोजमा दुवै कम्पनीलाई आईपीओ निष्कासन गर्ने स्वीकृति दिएको थियो ।
मुक्तिनाथ कृषि कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १४ करोड रुपैयाँ बराबरको १४ लाख कित्ता साधारण सेयर निष्कासन गर्ने स्वीकृति पाएको हो । कम्पनीले जारी पूँजी ७० करोडको २० प्रतिशत सेयर सार्वजनिक निष्कासन गर्ने भएको हो ।
यस्तै नेपाल वेयरहाउजिङ कम्पनीलाई पनि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १३ करोड ७५ लाख रुपैयाँ बराबरको १३ लाख ७५ हजार कित्ता साधारण सेयर निष्कासन गर्ने स्वीकृति दिएको हो । ६८ करोड ७५ लाख रुपैयाँ जारी पूँजी रहेको कम्पनीले २० प्रतिशत साधारण सेयर निष्कासन गर्ने भएको हो ।
मुक्तिनाथ कृषि कम्पनीले धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल र नेपाल वेयरहाउजिङ कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल रहेको छ ।
प्रतिक्रिया 4