+
+
सरुवामा राजनीतिको दृष्टान्त :

प्रशासकीय अधिकृतमा मन्त्री र मेयरको स्वार्थले हैरान हरिपूर्वा

रवीन्द्र घिमिरे रवीन्द्र घिमिरे
२०८० असोज १२ गते २०:४८

१२ असोज, काठमाडौं । सर्लाहीको हरिपूर्वा नगरपालिकाका प्रमुख विनोदकुमार साह दुई सातादेखि सिंहदरबार धाइरहेका छन् । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनिता देवी, सचिव विनोदसिंह कुँवर सबैलाई भेटेर प्रमुख प्रशासकीय अधिकृत खटाउने निर्णय पुनर्विचार गर्न आग्रह गरेका छन् ।

मन्त्रालयले ५ असोजमा सिरहा नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रहेका शाखा अधिकृत दिलीपकुमार यादवलाई हरिपूर्वामा सरुवा गरेको थियो ।

सिरहाबाट पठाइएका दिलीपकुमार हरिपूर्वा जान तयार छैनन् । उनले निवेदन मार्फत सर्लाही नपठाउन र सिरहाकै छिमेकी नगरपालिकाहरूमा सरुवा मागेका छन् ।

मेयर साह पनि निमित्त प्रमुख प्रशासकीय अधिकृतलाई नगरपालिका हाजिर गराउन चाहँदैनन् । उनको जोड शम्भुकुमार यादवलाई प्रमुख प्रशासकीय अधिकृत बनाएर लैजाने छ, जसले २४ भदौमा मन्त्रालयले आफू खटिन इच्छुक रहेको स्थानीय तह उल्लेख गरेर निवेदन माग्दा हरिपूर्वामा सरुवा माग्दै आवेदन दिएका थिए । रौतहटको देवाही गोनाहीमा प्रमुख प्रशासकीय अधिकृत रहेका उनले घरपायक हुने गरी हरिपूर्वा नगरपालिकामा सरुवा मागेका थिए ।

मेयर साह आफूले व्यक्तिभन्दा पनि प्रमुख प्रशासकीय अधिकृतमा उपसचिव आओस् भन्ने चाहेको बताउँछन् । तर संघीय मामिला मन्त्रालयले हरिपूर्वामाथि खेलबाड गरिरहेको भन्दै उनले भने, ‘कुनै उपसचिव खटाएर हामीलाई समस्या छैन, अरूले उपसचिव नै पाउने हरिपूर्वाले निमित्तका भरमा चलाउनुपर्ने ?’

तर मन्त्रालयले शम्भुकुमारको साटो निवेदन नै नहालेका दिलीपकुमारलाई सिरहाबाट हरिपूर्वा पठाउने निर्णय गर्‍यो । यसमा संघीय सरकारका खानेपानी मन्त्री महेन्द्र राय यादव ‘फ्याक्टर’ले काम गरेको अधिकारीहरू बताउँछन् ।

हरिपूर्वामा काम गरिसकेका एक जना पूर्व प्रमुख प्रशासकीय अधिकृत हरिपूर्वा जानुअघि आफूले पनि संघीय खानेपानीमन्त्री यादवसँग छलफल गर्नुपरेको सम्झन्छन् । तर, हरिपूर्वामा किचलो रहिरहनुमा मेयर पनि कम दोषी नभएको उनको टिप्पणी छ ।  ‘नगरपालिकामा डेढ करोडभन्दा बढीको पुरानो भुक्तानीको कागज थन्किएको छ, कर्यादेश समेत नभएको अवस्थामा माटो भरेकोजस्ता कामका बिलमा कसले भुक्तानीको निर्णय गर्न सक्छ ?’ उनी भन्छन्,‘मेयरसा‘बले पनि निःस्वार्थ रुपमै आफूले चाहेकै मान्छे लैजान खोज्नु भएको त पक्कै हैन ।’

यही कारण चैत यता हरिपूर्वा नगरपालिकामा ४ जना प्रमुख प्रशासकीय अधिकृत खटिइसके । तर कसैले पनि हाजिर भएर राम्रोसँग काम गर्न पाएका छैनन् ।

सवारी चालक र कार्यालय सहयोगी भर्नालाई लिएर नगरपालिकाकै जनप्रतिनिधिले दुर्व्यवहार गरेपछि तत्कालीन प्रमुख प्रशासकीय अधिकृत बसन्त न्यौपाने १५ चैत २०७९ मा मिथिला नगरपालिका सरुवा लिएर हिंडेका थिए । उनको स्थानमा गएका ध्रुवराज आचार्य हरपूर्वामा हाजिर हुनै पाएनन् । नगरपालिका नटेक्दै धम्की खेपेका उनी २९ चैत २०७९ मा बाटैबाट सरुवा भए ।

त्यसपछि निमेष मिश्र प्रमुख प्रशासकीय अधिकृत भएर गए । २४ वैशाखमा सरुवा भएका उनी ‘राजनीतिक विवादको भुमरीमा नफस्ने’ भन्दै लामो समय नगरपालिकामा हाजिर हुनै चाहेनन् ।  ४ महिनादेखिको झगडाका कारण नगरपालिकामा तालाबन्दी समेत भएकाले उनी हरिपूर्वा जान खोज्दा पनि हच्किएका थिए ।

तत्कालीन संघीय मामिला सचिव कृष्णहरि पुष्करसँग सहमतिपछि मिश्र १० असारमा नगरपालिकामा हाजिर भए । २० असारमा बसेको नगर बैठकले २९ असारमा नगरसभा बोलाउने निर्णय गर्‍यो, तर नगरसभा बस्नुअघि नै प्रमुख प्रशासकीय अधिकृत मिश्रले हरिपूर्वा छाडे । मेयर साहले बहुमतका बलमा नगरसभाबाट बजेट पास गर्न खोजेपछि सद्भाव नै खल्बलिने डर भएको भन्दै उनी सर्लाहीबाट हिँडेका थिए ।

काठमाडौं आएका मिश्र नगरपालिका नफर्किएपछि नगरसभा नै प्रभावित भयो । २३ साउनमा नगरपालिकाले मिश्रलाई हाजिर गराइदिन संघीय मामिला मन्त्रालयलाई पत्र लेख्यो । पत्रमा मिश्र फर्किन नमाने अर्को कुनै उपसचिव पठाउन आग्रह गरिएको थियो । ४ भदौमा मिश्र सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकामा सरुवा भए, तर हरिपूर्वामा नयाँ प्रमुख प्रशासकीय अधिकृत तोकिएन ।

त्यसपछि मेयर साहले नगरवासी समेत रहेका उपसचिव शम्भुकुमार यादवलाई हरिपूर्वा ल्याउन लबिइङ थाले । त्यसमा सहमत शम्भुकुमारले मन्त्रालयमा आवेदन समेत दिए ।

तर मन्त्रालयले अधिकृतस्तरका कर्मचारीलाई सिरहाबाट प्रमुख प्रशासकीय अधिकृत बनाएर पठायो ।

शम्भुकुमारलाई हरिपूर्वा नगरपालिकामा जान रोकिएको यो पहिलो पटक भने होइन । १७ वैशाखमा हाजिर भएको एक घण्टामै उनको काजमा खटाउने निर्णय फिर्ता भएको थियो । मधेश प्रदेशको मुख्यमन्त्री कार्यालयमा शाखा अधिकृत रहेका उनले हरिपूर्वामा खटाएलगत्तै हाजिर नहुन दबाब खेप्नु परेको थियो  जोडबल गरेर नगरपालिकामा हाजिर भएका उनलाई एक घण्टामै सामान्य प्रशासन मन्त्रालयबाट साविककै जिम्मेवारीमा फर्किन पत्र काट्यो ।

उपसचिव भएपछि अहिले रौतहटमा देवाही गोनाहीमा प्रमुख प्रशासकीय अधिकृत रहेका उनी फेरि हरिपूर्वा जान चाहन्छन्, मेयर पनि लैजान चाहन्छन् । तर मन्त्रालयले उनको साटो शाखा अधिकृत दिलीपकुमारलाई पठाएपछि मेयर काठमाडौं आएका हुन् । उनले संघीय मामिलामन्त्री अनिता देवीसँगै उनको दल जनमत पार्टीका नेताहरूलाई समेत भेटेर गुनासो पोखेका छन् । तर, संघीय मामिला मन्त्रीले क्याबिनेट मन्त्री विरुद्ध उभिएर निर्णय गर्न नसक्ने बताएकी छन् ।

खानेपानी मन्त्री यादव सर्लाही २ का निर्वाचित सांसद हुन् । उनमाथि आफ्नो गृहनगर समेत रहेको हरिपूर्वामा आफूअनुकूलका प्रमुख प्रशासकीय अधिकृत राख्न दबाब दिने गरेको आरोप लाग्दै आएको छ ।

मेयर साह भने नगरको प्रमुख प्रशासकीय अधिकृत को राख्ने÷नराख्ने भन्नेबारे मन्त्रीहरूको चासो नाजायज मान्छन् । ‘पालिका मेयर र कार्यपालिकाले चलाउने हो, कुनै मन्त्रीले चलाउने त हैन भनेर हामीले सम्बद्ध पदाधिकारीलाई जवाफ दिएका छौं’ हरिपूर्वाका मेयर साह भन्छन्, ‘तर उहाँहरूबाट प्रधानमन्त्री मार्फत नै भन्न लगाउनुभयो भने मात्रै हुन्छ भनेर जवाफ आएको छ ।’

स्रोतका अनुसार अनिता यादवभन्दा अघिल्ला संघीय मामिलामन्त्री अमनलाल मोदीले हरिपूर्वाको प्रमुख प्रशासकीय अधिकृतमा अधिक चासो देखाएका खानेपानी मन्त्री यादव र मेयरलाई मन्त्री क्वार्टरमै बोलाएर छलफल गराउन चाहेका थिए । तर खानेपानी मन्त्री यादवले छलफल नै गर्न चाहेनन्, आफूले नरुचाएका व्यक्तिलाई प्रमुख प्रशासकीय अधिकृतका रूपमा जान पनि दिएका छैनन् । मेयर साह पनि सकेसम्म शम्भु यादव नै लैजाने जोडबलमा छन् ।

प्रशासकीय अधिकृत समेत नहुँदा हरिपूर्वाले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट नगरसभामा पेश गर्न पाएको छैन । यसले नगरका योजनाहरू अलपत्र परेका छन् भने चालु योजनामा भुक्तानी दिन समस्या परेको छ ।

दशैंको मुखमा कर्मचारीले तलब पाएका छैनन् भने संघबाट गएको सामाजिक सुरक्षाभत्ता समेत वितरण हुनसकेको छैन । नगरपालिका निर्णयको बन्दी बनेको छ । गत चैतदेखि नै काम बन्द भएपछि संघ सरकारबाट गएको १५ करोड अनुदान फ्रिज भएको अध्यक्ष साह बताउँछन् ।

चैतदेखि नै पटक–पटक प्रशासकीय अधिकृत माग्दा सिंहदरबार धाउनुपरेको भन्दै उनले जनताको काममा लाग्नुपर्ने बेलामा संघीय मन्त्रीको इच्छा अनुसार प्रशासक  लैजाने भन्नेबारे छलफल गर्नुपर्ने विडम्बनापूर्ण अवस्था बनाइएको बताए । ‘उपसचिवस्तरको प्रमुख प्रशासकीय अधिकृत माग्न अब म प्रधानमन्त्रीकहाँ जाऊँ ?’ हरिपूर्वाका मेयर साहले अनलाइनखबरसँग भने, ‘कि त मन्त्रालयले रोजेको उपसचिव नै पठाइदिए हुने, नभए निवेदन हालेर मागेका व्यक्तिलाई पठाइदिंदा पनि हुन्थ्यो, जनताको कामकाजै रोकियो !’

लेखकको बारेमा
रवीन्द्र घिमिरे

घिमिरे अनलाइनखबरका प्रशासन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?