+
+
आईपीओ प्रिभ्यू :

सोनापुर सिमेन्ट : जोखिमपूर्ण आईपीओ, शंकास्पद वित्तीय विवरण

अनलाइनखबर अनलाइनखबर
२०८० असोज १४ गते १९:०६

१४ असोज, काठमाडौं । आयोजना प्रभावित स्थानीयले नकिनेको सेयरसमेत थप गरेर सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडले १४ असोजदेखि सार्वसाधारणलाई प्राथमिक सेयर (आईपीओ) बिक्री गर्दैछ । कम्पनीलाई नेपाल धितोपत्र बोर्डले प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्ने स्वीकृति दिएको थियो ।

कम्पनीले आयोजना प्रभावित स्थानीयलाई १०० रुपैयाँ अंकित मूल्यमा १२५ रुपैयाँ प्रिमियमसहित प्रतिकित्ता २२५ रुपैयाँमा आईपीओ निष्कासन गर्ने स्वीकृति पाएको थियो । यस्तै सर्वसाधारणको लागि भने प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १३७ रुपैयाँ ५८ पैसा प्रिमियमसहित २३७ रुपैयाँ ५८ पैसा प्रतिकित्तामा आईपीओ निष्कासन गर्ने स्वीकृति पाएको हो ।

कम्पनीको जारी पूँजी ३ अर्ब ७ करोड ५० लाख ५० हजार छ । त्यसको ४० प्रतिशतले हुने १ अर्ब २३ करोड २० हजार रुपैयाँ (प्रिमियमबाहेक) बराबरको १ करोड २३ लाख २०० कित्ता साधारण सेयर उद्योग प्रभावित स्थानीय र सर्वसाधारणका लागि निष्कासन गर्ने अनुमति पाएको थियो । त्यसमध्ये ५ प्रतिशतले प्रिमियमबाहेक १५ करोड ३७ लाख ५२ हजारर ५०० रुपैयाँको १५ लाख ३७ हजार ५२५ कित्ता उद्योग प्रभावित क्षेत्र दाङ र रोल्पा जिल्लाका सम्पूर्ण स्थानीयका लागि निस्कासन गर्न धितोपत्र बोर्डबाट स्वीकृति पाएको थियो ।

यस्तै, जारी पूँजीको ३५ प्रतिशतले हुने १ अर्ब ७ करोड ६२ लाख ६७ हजार ५०० रुपैयाँ (प्रिमियमबाहेक) १ करोड ७ लाख ६२ हजार ६७५ कित्ता सर्वसाधारणका लागि छुट्याइएको छ । त्यसको १० प्रतिशतले हुने १० लाख ७६ हजार २६८ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूका २९ साउनबाट निष्कासन खुला गरेको थियो ।

सर्वसाधारणमा निष्कासन गरिने सेयरको ५ प्रतिशतले हुने ५ लाख ३८ हजार १३४ कित्ता सेयर सामूहिक लगानी कोषको लागि र थप ५ लाख ३८ हजार १३३ कित्ता सेयर कर्मचारीका लागि सुरक्षित गरिएको छ । बाँकी रहने ८६ लाख १० हजार १४० कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरिँदै छ ।

तर, उद्योग प्रभावित स्थानीयले उद्योग सार्नुपर्ने माग राख्दै कम्पनीको आईपीओ बहिष्कार गरे । त्यसले गर्दा कम्पनीको आईपीओमा स्थानीयले मागभन्दा न्यून मात्रै आवेदन दिए । स्थानीयलाई छुट्याएको १५ लाख ३७ हजार ५२५ कित्ता सेयरमध्ये १४ लाख ३ हजार ५ कित्ता बिक्री भएन । तर, वैदेशिक रोजगारीमा रहेको नेपालीले भने मागभन्दा बढी आवेदन दिएपछि स्थानीयले नकिनेको सेयरबाट समेत थप गरेर १२ लाख १६ हजार ५६८ कित्ता सेयर बाँडफाँट गरेको थियो ।

यस्तै, कम्पनीले सामूहिक लगानी कोषलाई पनि सुरुमा छुट्याएको ५ लाख ३८ हजार १३४ कित्ता सेयरमा थप गरेर ६ लाख ८ हजार २ सय ८४ कित्ता बाँडफाँट गर्यो । यस्तै कर्मचारीलाई छुट्याएको ५ लाख ३८ हजार १३४ कित्ता सेयर छुट्याएकोमा थप गरेर ६ लाख ८ हजार २ सय ८४ कित्ता नै बाँडफाँट ग¥यो । त्यसपछि पनि बाँकी रहेको ११ लाख २२ हजार ४०४ कित्ता सेयर थप गरेर कम्पनीले सर्वसाधारणको लागि ९७ लाख ३२ हजार ५४४ कित्ता साधारण सेयर बिक्री गर्न लागेको हो ।

कस्तो कम्पनी हो सोनापुर मिनिरल्स एण्ड आयल ?

सोनापुर मिनरल्स एण्ड आयल प्राइभेट लिमिटेडको रुपमा ३१ जेठ २०६५ मा मा दर्ता भएको थियो । कम्पनी ७ साउन २०७७ मा पब्लिक लिमिटेडमा परिणत भएको थियो ।

क्लिंकर तथा सिमेन्ट उत्पादन गर्ने उद्देश्य राखेर ठूलो उद्योगको रुपमा कम्पनीले ६ माघ २०६५ मा उद्योग विभागमा दर्ता भएको थियो । कम्पनीले २०६९ जेठदेखि सिमेन्टको व्यावसायिक उत्पादन गर्दै आएको कम्पनीको विवरणपत्रमा उल्लेख छ । दाङको तुलसीपुर उपहानगरपालिका वडा नम्बर १८ मा ८६ बिघामा उद्योगको प्लान्ट फैलिएको कम्पनीले जनाएको छ ।

कम्पनीले दाङको बङ्गलाचुली गाउँपालिकामा ४.१६५ वर्ग किलोमिटर क्षेत्रफलको खानीबाट चुनढुंगा निकाल्ने अनुमति खानी तथा भूगर्भ विभागबाट अनुमति लिएको दाबी गरेको छ । २७ पुस २०६७ मा पाएको खानी उत्खननको अनुमति २६ पुस २०९७ सम्म बहाल रहने कम्पनीले जनाएको छ ।

यस्तै कम्पनीले रोल्पाको रुन्टीगढी गाउँपालिकाको दुई ठाउँमा ४.५० वर्ग कि.मि. र ३ वर्गकिलोमिटर क्षेत्रफलमा चुनढुङ्गाको उत्खननको अनुमति पाएको जनाएको छ । पहिलो खानीको अनुमति ९ पुस २०६६ मा पाएको र ८ पुस २०८६ कायम रहने जनाएको छ । दोस्रो खानीको अनुमति २९ जेठ ०७२ मा पाएकोमा २८ जेठ २०९२ सम्म कायम रहने जनाइएको छ ।

कम्पनीले चुनढुङ्गा उत्खननको क्षमता बढाउने तयारी गरिरहेको जनाएको छ । त्यसका लागि प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन उद्योग विभागबाट ८ पुस २०७५ मा स्वीकृत प्राप्त गरेको विवरणपत्रमा उल्लेख गरेको छ ।

यस्तै कम्पनीले १० पुस २०७५ मा उद्योगको क्षमता विस्तारपछि ओपीसी सिमेन्ट उत्पादन गर्ने वार्षिक क्षमता १ लाख ७२ हजार ७२ मेट्रिक टन पुगेको जनाएको छ । यस्तै पीपीसी सिमेन्ट उत्पादन गर्ने वार्षिक क्षमता ५ लाख ४९ हजार ४८० मे.ट., र पीएसी सिमेन्ट उत्पादनको वार्षिक क्षमता ४९ हजार ९२४ मेट्रिक टन रहेको कम्पनीले जनाएको छ ।

यस्तै क्लिंकरको वार्षिक उत्पादन २ लाख १३ हजार ३५७ मे.ट पुगेको कम्पनीको दाबी छ ।

कम्पनीका आधारभूत सेयरधनीहरु

कम्पनीको आधारभूत सेयरधनीमा तायल ग्रुपका लगानीकर्ताको बाहुल्यता छ । कम्पनीमा प्रबन्ध सञ्चालकको रुपमा कार्यरत रहेका निपेश तायलको ४६ लाख ६१ हजार ४४४ कित्ता सेयर छ । कम्पनीको सञ्चालक रहेका प्रकाश तायलको १५ करोड ७४ लाख ८०७ कित्ता सेयर रहेको छ । यस्तै, रतनलाल तायलको १५ करोड ७४ लाख ८०६ कित्ता सेयर छ । उनी कम्पनीको सञ्चालक समिति अध्यक्ष छन् । कम्पनीमा अशोक तायलको ८ लाख ३७ हजार ६३८ कित्ता सेयर छ । उनीहरु ४ जना नै झापाका हुन् ।

यस्तै कम्पनीमा अन्य व्यक्तिगत लगानीकर्तामा झापाको एलिसा पाण्डेको १ लाख ८४ हजार ५०२ कित्ता, झापाकै कल्पना शर्माको ४ लाख ६१ हजार २५५ कित्ता र झापा नै स्थायि घर भएका इन्द्र प्रसाईंको २ लाख ६१ हजार ४०० कित्ता सेयर रहेको छ । कम्पनीमा आरपी माइनिङको ४८ लाख ५८ हजार ५७७ कित्ता र एएन माइनिङको ३८ लाख ३५ हजार ८७१ कित्ता सेयर रहेको छ ।

आरपी माइनिङको अध्यक्षमा रतनलाल तायल छन् भने प्रकाश तायल सञ्चालक छन् । यस्तै एएन माइनिङको अध्यक्षमा निपेश तायल र सञ्चालकमा भीमप्रकाश तायल छन् ।

कम्पनीको सञ्चालक समिति अध्यक्ष रतनलाल तायल छन् । यस्तै निपेश तायल, प्रकाश तायल, भीमप्रकाश पाठक र एलिसा पाण्डे सञ्चालक छन् । कम्पनीको व्यवस्थापकीय नेतृत्व प्रबन्ध सञ्चालकको रुपमा निपेश तायलले गर्दै आएका छन् । यस्तै, महाप्रबन्धकमा भीमप्रसाद पाठक छन् । कम्पनीमा कुल ४७१ जना कर्मचारी रहेको विवरणपत्रमा उल्लेख छ ।

सन्तोषजनक छैन वित्तीय अवस्था

नेपाल धितोपत्र बोर्डले प्रिमियम मूल्यमा आईपीओ निष्कासनको स्वीकृति दिए पनि कम्पनीको वित्तीय अवस्था भने सन्तोषजनक छैन । वित्तीय विवरणअनुसार आर्थिक वर्ष २०७५/७६ सम्म कम्पनी १४ करोड ८३ लाख ३१ हजार रुपैयाँ सञ्चित घाटामा थियो । साधारण सेयर निस्कासन गर्ने उद्देश्यसहित कम्पनी २०७७ साउनमा पब्लिक लिमिटेड कम्पनीमा रुपान्तरण भयो । पब्लिक लिमिटेडमा गएलगत्तै सोही आवदेखि कम्पनी नाफामा गएको देखिन्छ ।

प्रिमियममा आईपीओ निष्कासन गर्न लगातार ३ आर्थिक वर्षदेखि नाफामा रहेको र पब्लिक लिमिटेड कम्पनीमा रुपान्तरण भएर एक आर्थिक वर्षको कारोबार पुरा गरेको हुनुपर्ने व्यवस्था धितोपत्र दर्ता तथा निष्कासन नियमावलीमा छ । त्यहीअनुरुप कम्पनीले योजनाबद्ध रुपमा नाफा देखाएको वित्तीय विवरणमा देख्न सकिन्छ । कम्पनीले आर्थिक वर्ष ०७६/७७, आर्थिक वर्ष ०७७/७८ र आर्थिक वर्ष ०७८/७९ मा नाफामा रहेको वित्तीय विवरणको आधारमा कम्पनीले प्रिमियमा आईपीओ निष्कासनको स्वीकृति पाएको हो ।

उद्योगले ब्याज पूँजीकरण गरेकाले ती आर्थिक वर्षमा नाफा भएको देखिन्छ । ती तीन आर्थिक वर्षमा कम्पनीले करिब ८० करोड रुपैयाँ ब्याज पूँजीकरण गरेको देखिन्छ । उत्पानमूलक कम्पनीले उद्योगको पूर्वाधार निर्माणका लागि लिएको ऋण व्यावसायिक उत्पादन सुरु नगर्दासम्म पूँजीकरण गर्नसक्छ । तर, उद्योग उद्योग सञ्चालनमा आएसँगै त्यसलाई क्रमशः भुक्तानी गर्दै जानुपर्ने हुन्छ ।

नेपाल राष्ट्र बैंकले ग्रेस अवधिको पूँजीकृत ब्याजलाई छुट्टै लेखांकन गर्नुपर्ने र त्यसलाई आवधिक कर्जाका रुपमा भुक्तानी तालिका तय गर्नुपर्ने व्यवस्था गरेको छ । उद्योग सञ्चालनमा आएसँगै नियमित ऋण भुक्तानी तालिका र पूँजीकृत ब्याजको भुक्तानी तालिका फरक फरक हुन्छ । पूँजीकृत गरिएको ब्याज पनि कम्पनीको दायित्व नै हो ।

कम्पनीको चुक्ता पूँजी १ अर्ब ८४ करोड ५० लाख १९ हजार रुपैयाँ छ । कम्पनीले विवरणपत्रमा उद्योगको कुल लागत ८ अर्ब ७१ करोड दाबी गरेको छ । ०७८/७९ मा कम्पनीको दीर्घकालीन बैंक कर्जा ३ अर्ब ७० करोड १४ लाख ७४ हजार र अल्पकालीन बैंक कर्जा १ अर्ब ७९ करोड ९१ लाख २४ हजार रुपैयाँ रहेको दाबी गरेको छ । त्यसमध्ये दीर्घकालीन प्रकृति र क्षमता विकासका लागि लिएको कर्जामा मात्रै ब्याज पूँजीकरण गर्न पाइन्छ । तर, कम्पनीले सबै कर्जाको ब्याज पूँजीकरण गरेको वित्तीय विवरणमा देखिन्छ ।

कम्पनीको पुरानो ऋण बाँकी कति हो र क्षमता विस्तार गर्न लिएको ऋण कति हो भन्ने नछुट्याएकाले सबै ऋणको ब्याज पूँजीकरण भएको प्रष्ट हुन्छ । अझ अन्तिम लेखापरीक्षण नै नभएको गत आर्थिक वर्षको २०७९/८० को वित्तीय विवरणमा पनि ब्याज पूँजीकरण गर्नुले कम्पनीको संस्थागत सुशासनमाथि प्रश्न उठेको एक चार्टर्ड एकाउन्टेन्टले बताए । कम्पनीको वित्तीय विवरणमा डेडिकेटेड फिडरबापत तिर्नुपर्ने रकमलाई पनि नाफामा देखाइएको पाइएको थियो ।

कम्पनीले पछिल्लो ३ आर्थिक वर्षमा सेयरधनीलाई लाभांश दिएको छैन । कम्पनीको सञ्चित नाफा तथा जगेडाभन्दा बढी पूँजीकरण गरिएको ब्याज छ । एकातिर ब्याज पूँजीकरण गरेर नाफा देखाएको छ भने अर्कोतर्फ पूँजीकरण गरेको ब्याज भन्दा कम्पनीको सञ्चित नाफा कम हुँदा कम्पनीको प्रिमियम मुल्यको औचित्यमाथि प्रश्न भने गर्नुपर्ने देखिन्छ ।

घट्दो बिक्री आम्दानी र अस्वाभाविक प्रक्षेपण

विगतका वर्षहरुमा कम्पनीको उत्पादन बिक्रीबाट हुने आम्दानी घट्दो क्रममा छ । गत आर्थिक वर्ष ०७९/८० मा कम्पनीले बिक्रीबाट गरेको आम्दानी १ अर्ब ७७ करोड रुपैयाँ छ । तर, चालू आर्थिक वर्षमा त्यो ४ अर्ब ८९ करोड ५५ लाख रुपैयाँ पुग्ने अनुमान गरेको छ । यो गत आर्थिक वर्षको तुलनामा करिब ३ गुणा (२.७५ गुणा) बढी हो ।

यो प्रक्षेपित वित्तीय विवरण एनबीएसएम एण्ड एसोसिएट्स नामको चार्टर्ड एकाउन्टेन्ट फर्मले पुनरवलोकन गरी प्रमाणित गरेको छ । साथै, नेपाल धितोपत्र बोर्डले समेत स्वीकृति दिएको छ । बोर्डले नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्था (आईक्यान) बाट प्रतिनिधित्व गर्ने सञ्चालकको नेतृत्वमा अध्ययन गरेपछि मात्रै वित्तीय विवरणलाई स्वीकृति दिन्छ । तर, यसरी उच्च रुपमा बिक्री आय बढ्ने प्रक्षेपण तथ्यमा आधारित नभएको एक चार्टर्ड एकाउन्टेन्टले बताए । ‘आयको प्रक्षेपण कम्पनी स्वयमले गर्ने हो, तर त्यो यथार्थपरक छ कि छैन भनेर हेर्ने काम नियामकको हो, यसमा नियामक चुकेको देखिन्छ,’ उनले भने ।

यो कुरा बोर्डकै अधिकारीहरु पनि स्वीकार गर्छन् । सेयरमा १० कित्ते नीति हुँदासम्म जस्तो कम्पनीको पनि सेयर बिक्री हुने अवस्था देखिएकोले अन्डरराइटिङ प्रभावकारी हुन नसकेको बोर्डकै एक उच्च अधिकारी बताउँछन् । ‘कम्पनीको विवरणपत्र प्रक्रिया पूरा गर्न बुझाउनुपर्ने कागजात मात्रै भएको छ, त्यसमा अन्डरराइटरको भूमिका नै देखिएन,’ उनले भने ।

कम्पनीको प्रक्षेपित विवरणलाई आफ्नै फर्मले स्वकिृति दिएको र कम्पनीको विवरणमा प्रिमियम मुल्य निर्धारण गर्दा सबै खर्चलाई हटाइएको एनबीएसएम एण्ड एसोसिएट्सका चार्टर्ड एकाउन्टेन्ट राजेशकुमार शाहले दाबी गरे । जबकि, कम्पनीको बिक्री आम्दानी करिब तीन गुणा बढ्ने प्रक्षेपित विवरणलाई उनैले प्रमाणित गरेका हुन् ।

आईपीओबाट संकलित रकम कहाँ लगानी हुन्छ ?

कम्पनीले आईपीओबाट २ अर्ब ८९ करोड ६१ लाख ७० हजार रकम संकलन गर्ने र त्यसमध्ये १ अर्ब कम्पनीको चालु दायित्वअन्तर्गतको सप्लायर्सको रकम भुक्तानी गर्ने जनाएको छ ।

यस्तै ८९ करोड ६१ लाख ७० चालु प्रकृतिका सम्पत्तिहरु चुनढुङ्गाको उत्खनन् तथा खरिद, अन्य सम्पूर्ण कच्चा पदार्थ, प्याकिङ मेटेरियल, कोइला र इन्धनको खरिद/पैठारी गरी मौज्दात कायम गर्न लगानी गर्ने बताएको छ । १ अर्ब भने विभिन्न बैंकको ऋण तिर्न प्रयोग गर्ने कम्पनीको विवरणपत्रमा उल्लेख छ ।

जोखिमपूर्ण आईपीओ

कम्पनीले आईपीओ निष्कासनका लागि गराएको रेटिङमा इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले ‘आईआरएन ट्रिपल बी माइनस इस्यूअर रेटिङ’ प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्दछ ।

ब्याज पूँजीकरणले कम्पनी नाफा देखिए पनि कम्पनीको बिक्री आम्दानीमा लगातार देखिएको गिरावटले पनि कम्पनीमा लगानी गर्नु जोखिमपूर्ण देखिन्छ । कम्पनीले डेडिकेटेड फिडरबापत् नेपाल विद्युत् प्राधिकरणलाई भुक्तानी गर्नुपर्ने दायित्वलाई पनि नाफामा लेखांकन गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?