+
+

तीनकुने घटनाका आरोपीको सनसनीपूर्ण बयानपछि पुराना फाइल खोतल्दैछ प्रहरी

अरु ६ भन्दा बढी हत्यामा संलग्न भएको भन्दै अनुसन्धान गर्न आरोपीको चुनौती

गौरव पोखरेल गौरव पोखरेल
२०८० असोज १४ गते १९:५५

१४ असोज, काठमाडौं । दुई साताअघि तीनकुनेमा भएको सामूहिक हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका सिन्धुपाल्चोकका सञ्जय भण्डारीले अनुसन्धान अधिकृतहरुसामु कम्तीमा थप ६ जनाको हत्यामा संलग्न रहेको दाबी गरेका छन् ।

पटकपटक सनसनीपूर्ण बयान दिन थालेपछि जिल्ला प्रहरी परिसर, काठमाडौंका अनुसन्धान अधिकृतहरु समेत हैरान बनेका छन् ।

तीनकुनेस्थित दिव्य सः मिलभित्र २९ भदौमा ४ जनाको हत्या भएको घटनामा प्रहरीले क्लोज सर्किट (सीसी) क्यामरा फुटेजको आधारमा भण्डारीलाई पक्राउ गरेको थियो । जिल्ला प्रहरी परिसर, टेकुको हिरासतमा रहेका भण्डारी जन्मजात बोल्न नसक्ने हुन् ।

विशेष शिक्षामार्फत कक्षा १२ सम्म पढेका उनले घटनामा संलग्न रहेको स्वीकारोक्ति सहित बयान दिएपछि प्रहरी डकुमेन्टेसनको काममा जुटेको थियो । उनले भनेका विषयहरुलाई अदालतमा प्रमाणित गराउन थप तथ्यहरुको संकलन गरिरहेको थियो ।

तर, अनुसन्धानमा त्यतिबेला ट्वीस्ट आयो, जब भण्डारीले राष्ट्रिय बहिरा महासंघका अध्यक्ष केदारप्रसाद अधिकारीको उपस्थितिमा अन्यत्र पनि आफूले विभिन्न व्यक्तिको हत्या गरेको बताइदिए ।

सुरुमा बयान दिंदा मिडियामा पढेका विषयलाई लिएर प्रहरीलाई हैरान पार्न मात्रै भनेको हुनसक्ने अनुसन्धान अधिकृतहरुको आशंका थियो ।

तर जब बाहिर आउँदै नआएका केही विषयहरु पनि बताउन थाले, प्रहरीले विस्तृत अनुसन्धान थालेको हो ।

उनको दाबीमाथि विस्तृत अनुसन्धान गर्नुपर्ने प्रशस्तै आधारहरु देखिएको अनुसन्धान अधिकृतहरु बताउँछन् ।

स्रोतका अनुसार, त्यसक्रममा काठमाडौं प्रहरीले केही पुराना घटनाका फाइल समेत मगाएर अनुसन्धान गरिरहेको छ । २७ जेठ २०७८ मा बौद्धमा बोह्रामा भेटिएको खुट्टा र लकडाउनमा भक्तपुरको हनुमन्ते खोलामा भेटिएको टाउको विनाको शव प्रकरणको फाइल समेत प्रहरीले मगाएको छ ।

‘उनले बौद्धको केशमा शरीरका अरु भाग खोइ भन्दा अन्यत्र फालेको थिएँ, कुकुरले खाइहाल्छ नि भनेका छन्’ अनुसन्धान अधिकृत भन्छन्, ‘भक्तपुरमा पनि त्यो विषय धेरैतिर आएको थिएन, तर उनले टाउको नभएकै भनेका छन् । त्यसैले गम्भीरतापूर्वक अनुसन्धान थालेका हौं ।’

जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख एसएसपी भुपेन्द्र खत्रीले पनि भण्डारीको बयानका आधारमा अरु घटनाहरुबारे पनि प्रहरीले अनुसन्धान गरिरहेको अनलाइनखबरलाई बताए ।

‘बयानबाट अनुसन्धान गर्नुपर्ने केही तथ्यहरु खुलेका छन्, त्यसलाई भेरिफाइ गर्ने प्रयास गरिरहेका छौं’ उनले थपे, ‘तर प्रमाणहरु फेला नपरी केही भन्नसक्ने अवस्था छैन ।’

हेर्नुस् सीसी टीभी फुटेज 

सिन्धुपाल्चोकदेखि भक्तपुरमासम्म हत्या गरेको दाबी

सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–९ घर भएका २३ वर्षीय भण्डारीले कक्षा ८ सम्म बहिरा आधारभूत विद्यालय, बाह्रबिसेमा अध्ययन गरेका थिए । काठमाडौं आएर नक्सालस्थित केन्द्रीय बहिरा उच्च माध्यम विद्यालयबाट कक्षा १२ सम्म अध्ययन गरेका थिए ।

भूकम्पका बेला सिन्धुपाल्चोकमा रहँदा आफूले केही महिलाको हत्या गरेको भण्डारीको दाबी छ । ‘उनले हत्या गरेको भन्दै फेहरिस्त बताएका छन्, सिन्धुपाल्चोकको हकमा भेरिफाई गर्न त्यहाँ जानुपर्ने स्थिति पनि हुनसक्छ’ अनुसन्धान संलग्न एक अधिकृत भन्छन्, ‘काठमाडौंमा पनि रातोपुल, भत्केको पुल, बालुवाटार लगायतका क्षेत्रमा पनि हत्या गरेको बताएका छन् ।’

भण्डारीको बयानका अनुसार प्रहरीले उनलाई काठमाडौंका विभिन्न ठाउँमा समेत लगेको छ । कतिपय स्थानमा अहिले घर बनिसकेको पाइएको छ । भक्तपुरको बोडेमा महिलाको हत्या गरेर खोलामा फ्याँकिदिएको उनले बयान दिएका छन् । यो घटना लकडाउनको समयको भएको उनको दाबी छ ।

कोरोना महामारीविरुद्ध सरकारले २०७७ सालमा लकडाउन घोषणा गरेको पहिलो साता गठ्ठाघर र बालकोटको सिमानामा पर्ने हनुमन्ते खोला किनारमा टाउको विनाको शव भेटिएको थियो । त्यसबेला शवमा खुट्टा र हातको पञ्जा पनि काटिएको थियो भने हुलिया नखुल्दा अनुसन्धान अलपत्र परेको थियो । आसपास सीसी टीभी क्यामरा पनि नहुँदा अनुसन्धान अघि बढ्न सकेको थिएन ।

फरेन्सिक विज्ञहरुले भने शवको प्रकृति हेरेर १७ देखि १९ वर्षको युवती हुनसक्ने आशंका गरेका थिए । उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर, भक्तपुरले यो घटनामा लामो समयसम्म अनुसन्धान गरेको थियो ।

तर अनुसन्धानमा कुनै क्लू फेला परेन, बरु हराएका युवतीहरुमध्ये १०० बढी फेला परेका थिए । भण्डारीको बयानपछि प्रहरीले यो घटनाको फाइल पनि खोलेको छ । किनकि उनले टाउको विनाको शव खोलामा फ्याँकेको बताएका थिए ।

बौद्धमा पनि आफूले एउटा शव टुक्राटुक्रा पारेर फ्यालिदिएको उनको दाबी छ ।

बौद्धको टाउनप्लानिङमा २५ जेठ २०७८ मा एउटा बोराभित्र मानिसको खुट्टा भेटिएको थियो । प्रहरीले लामो समयसम्म अनुसन्धान गरे पनि यसमा कुनै ‘क्लू’ पाउन सकेको थिएन । पछि ‘तान्त्रिकले शंख बनाउनलाई आर्यघाटबाट उठाएर ल्याएको’ हुनसक्ने भन्दै अनुसन्धान बन्द भएको थियो ।

तीनकुने घटनामा पक्राउ परेका भण्डारीले भने त्यो खुट्टा पनि आफूले राखेको दाबी गर्दै बयान मात्र दिएनन्, सीसीटीभी फुटेज हेर्न प्रहरीलाई चुनौती दिएका छन् । भण्डारीको सनसनीपूर्ण बयानपछि प्रहरीले पहिलेको अनुसन्धान टोलीले राखेको सीसीटीभीको ‘हार्ड डिस्क’ मगाएको थियो । ‘त्यसमा तीन जना व्यक्ति देखिएका थिए, त्योमध्ये एक जना मै हुँ भन्छ’, अनुसन्धानमा संलग्न एक अधिकृत भन्छन्, ‘तर फुटेज राम्रोसँग बुझिने खालको छैन ।’

प्रहरीले उनलाई सिन्धुपाल्चोक लगेर समेत हत्या गरेको स्थान देखाउन लगाउने तयारी गरेको छ । ‘तर त्यहाँ गएको बेला भाग्छ कि भन्ने डर हो’ अनुसन्धान अधिकृतहरु भन्छन्, ‘हरेक पटक प्रहरीलाई चुनौती दिने गरेकाले संवदनशील हुनुपर्ने अवस्था छ ।’ ३१ भदौको पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्दा पनि उनले आफूलाई किन मिडियामा ल्याएको भन्दै प्रश्न गरेका थिए ।

‘शव व्यवस्थापन गरेर त्यहीं सुत्नुले पहिलो पटक जस्तो मात्र देखिन्न’

अनुसन्धानमा संलग्न एक अधिकृतका अनुसार, भण्डारी तीनकुने घटना भएको दिन साँझ ८ बजेतिरै दिव्य स: मिलमा प्रवेश गरेको देखिएको छ ।

‘पछाडि पट्टिको बन्द गेटबाट माथि चढेर विशाल राई बस्ने कोठामा गएर हेर्दा उनलाई नदेखेको बयानमा भनेका छन्’ अनुसन्धान अधिकृत भन्छन्, ‘त्यसपछि सोही कोठाको सोफामा बसिरहेका बेला केहीबेरमा राई आए । तर, त्यतिबेला पनि आफूलाई कुटेपछि हत्या गरेको भनेका छन् ।’

अधिकृतहरुका अनुसार, त्यसपछि अरु थप तीन जनालाई पनि हत्या गरेर उनले शवहरु व्यवस्थापन गरेका थिए । कुमारको शवलाई घिसार्दै टहराको कुनामा शौचालयको ढोका छेउ लगेका थिए । उनकी श्रीमती अम्बिकाको शवलाई पानीको कल छेउ लगेका थिए भने सुभद्राको शवलाई गोदाम छेउ घिसार्दै लगेर फ्याँकेका थिए । त्यसपछि भण्डारीले आफू केही घन्टा त्यहीं सुतेर बसेको बयान दिएका छन् ।

अनुसन्धान अधिकृतहरुका अनुसार, ११ः१५ देखि ११ः२० बजेको बीचमा स: मिलको मुख्य गेटमा भण्डारीले आवाज सुनेका थिए भने बत्ती पनि बलेको देखेपछि सतर्क भएका थिए । त्यसपछि उनले माथिबाट हेरेको बयान दिएका छन् ।

‘कोही आएको देखेपछि आत्तिएर पछाडिबाटै निस्किएको देखिएको छ’ अनुसन्धानमा संलग्न अधिकृत भन्छन्, ‘तीनकुने चोकमा उनी ११ः३१ बजेमा भाग्दै गरेको देखिन्छन् ।’ त्यतिबेला छिरेका व्यक्ति मृतक नविनका आफन्त दीपेन्द्र राई थिए ।

रगताम्ये अवस्थामा देखेपछि प्रहरीले सुरुमा उनलाई शंकास्पद भएको आशंकामा नियन्त्रणमा लिएको थियो । तर सीसीटीभी फुटेज हेर्दा भण्डारीको संलग्नता खुल्यो ।

‘हत्यापछि उनले आरामले शव व्यवस्थापन गर्न खोजेको देखिन्छ, चुपचाप त्यहीं सुतेको पनि देखिन्छ । यसले उनी पहिलो पटक मात्र हत्यामा संलग्न होइनन् कि भन्ने संकेत दिन्छ’ अनुसन्धानमा संलग्न एक अधिकृत भन्छन्, ‘उनको हत्या गर्ने शैली पनि अनुभवी जस्तो देखिएको छ ।’

लेखकको बारेमा
गौरव पोखरेल

पोखरेल अनलाइनखबरका लागि राष्ट्रिय सुरक्षा एवं समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?