+
+
अष्टावक्र :

कणादको गुरुत्वबल र परमाणु सिद्धान्तलाई फर्केर हेर्दा 

डा. कमल ढकाल डा. कमल ढकाल
२०८० असोज १५ गते १०:५४

सन् २००६ तिर त्रिभुवन विश्वविद्यालय भौतिकशास्त्र विभाग कीर्तिपुरमा एमएस्सी पढ्दा प्रो. डा. उदयराज खनाल सरले कुनै प्रसंगमा भनेको याद छ— ‘कणादले पदार्थ अणुबाट बनेको हुन्छ भनेका थिए। कणादको अणुहरूप्रति यति रुचि थियो कि उनी गाउँघर चहारेर फालेका अन्नहरूको कण-कण सँगाल्दै हिंड्थे र त्यही खान्थे।’

यो नै पहिलो पटक हो मैले आचार्य कणादको नाम सुनेको। उनको बाल्यकालको नाम कश्यप भए पनि कण खाँदै हिंड्ने भएकोले उनको नाम नै कणाद भएको रहेछ। उतिवेला पूर्वीय दर्शनमा ज्ञान नभएकोले मैले उनको सिद्धान्तको बारेमा चासो राखिनँ र यसका बारेमा सोधखोज पनि गरिनँ।

स्मरणीय छ, भौतिकशास्त्रमा डा. खनाल सर जस्तो ज्ञान नेपालमा सायद कमै व्यक्तिसँग छ। उदयराज खनाल सरको पिता सरदार यदुनाथ खनाल पनि नेपालकै चर्चित विद्वान् हुनुहुन्थ्यो। आधुनिक नेपालको कूटनीति र परराष्ट्रको जग बसालेको नै उहाँले हो। राजा महेन्द्रदेखि गिरिजाप्रसादका प्रिय यदुनाथ सर चीन, भारत र अमेरिकाको राजदूत भएर काम गर्नुभएको थियो। कूटनीतिमा उहाँ जस्तो उचाइ भएको अर्को व्यक्ति नेपालमा भेट्न मुस्किल छ।

परमाणु सिद्धान्तको क्रम विकास 

हाम्रा स्कुलदेखि कलेजका विज्ञानका किताबमा पढाइ हुने परमाणुको सिद्धान्तको सुरुवात जोन डाल्टनको सिद्धान्तबाट सुरु हुने गर्छ किनकि उनै वैज्ञानिकले पहिलोपल्ट परमाणुको संश्लेषित अवधारणा प्रस्तुत गरेका थिए। तर पश्चिमतिरका पुस्तकमा परमाणुको अवधारणा राख्ने पहिलो श्रेय ईसापूर्व तेस्रो शताब्दीका ग्रीक दार्शनिकहरू डेमोक्रिटस र लुक्पसलाई दिन्छन् जसले सबै चिजहरू ‘एटोमोस’ भनिने साना, अविभाज्य कणहरूबाट बनेका हुन्छन् भनेर प्रस्ताव गरेका थिए।

१९औं शताब्दीको प्रारम्भतिर जोन डाल्टनले प्रत्येक तत्व एक अद्वितीय प्रकारका परमाणुहरू मिलेर बनेको थियो र यी परमाणुहरू न बनाउन सकिन्छ न नाश गर्न सकिन्छ भनेर पदार्थको आधारभूत कणको परमाणु सिद्धान्तलाई अगाडि बढाए। यसले आधुनिक विज्ञानमा आणविक सिद्धान्तको सुरुवात गर्‍यो।

१९औं शताब्दीको उत्तरार्धमा जे.जे. थमसनले आफ्नो क्याथोड रे प्रयोग मार्फत ऋणात्मक चार्ज (आवेग) भएका कणहरू पत्ता लगाए, जसलाई पछि इलेक्ट्रोन भनियो। उनले ऋणात्मक चार्ज इलेक्ट्रोनहरूको वरिपरि धनात्मक चार्ज भएका कणहरू हुन्छन् भने। यसलाई पछि रदरफोर्ड नामका वैज्ञानिकले प्रोटोन भने।

अचम्मको कुरा तिनै वैज्ञानिक डाल्टन ड्युट्रोनोपिया थिए अर्थात् उनी सबै रंगहरू देख्न सक्दैनथे। नीलो र पहेंलो मात्र देख्ने उनले हरियो र रातो रंग देख्दैनथे। अति तीक्ष्ण बुद्धिका उनले आफ्नै आँखाको बारेमा अध्ययन गरेर एक सिद्धान्त प्रतिपादन गरेका थिए तर पछि त्यो गलत साबित भयो।

तर २०औं शताब्दीको प्रारम्भतिर अर्नेस्ट रदरफोर्डले सुनको पातलो पत्ताको प्रयोगद्वारा थमसनको मोडेललाई गलत साबित गरे। उनले पत्ता लगाए कि परमाणुको केन्द्रमा धनात्मक चार्ज भएका कणहरूको झुण्ड हुन्छ यसलाई पछि न्यूक्लियस भनियो र उनले यसलाई वरिपरि इलेक्ट्रोनहरूले घेरिएको हुन्छ भने।

यही सिद्धान्त नै पछि सही साबित हुँदै गयो। सन् १९१३ मा निल्स बोहरले इलेक्ट्रोनहरू एक निश्चित परिधिमा मात्र घुम्छन् र यी इलेक्ट्रोनहरू एक परिधिबाट अर्को परिधिमा उछिट्टिएर जाँदा प्रकाश वा ऊर्जा निस्कन्छ भने। यो विज्ञानको सबैभन्दा ठूलो उपलब्धि हो। हाम्रो दैनिक जीवनमा अहिले प्रयोग भइरहेका एलईडी बत्तीहरू  यही सिद्धान्त अन्तर्गत बनेका छन्। यो मोडेलले गर्दा अर्को झन् महत्वपूर्ण विज्ञानको विधा क्वान्टम मेकानिकको जन्म भयो र परमाणुहरूमा क्वान्टम गुण बारे हाम्रो बुझाइ सुरु भयो।

गुरुत्वबल 

गुरुत्व बलको पूरा श्रेय १७औं शताब्दीका ब्रिटिश वैज्ञानिक सर आइज्याक न्युटनलाई जान्छ। उनले यसलाई सबै पदार्थको बीचमा हुने आकर्षणको विश्वव्यापी शक्तिको रूपमा वर्णन गरे। यद्यपि २० औं शताब्दीमा, अल्बर्ट आइन्स्टाइनको सामान्य सापेक्षताको सिद्धान्तले यो बुझाइलाई गलत साबित गरिदियो र दिककालमा पिण्डले बनाउने खाल्टो (स्पेस टाइम कर्वेचर) को रूपमा पुनर्स्थापित गर्‍यो। ठूला वस्तुहरूले दिककालमा वक्रता बनाउँछन्  र यो वक्रतालाई आधुनिक विज्ञानले गुरुत्वाकर्षणको रूपमा बुझ्छ।

कणादको वैशेषिक सूत्रमा व्याख्या गरिएको गुरुत्वबल र परमाणु सिद्धान्त 

जसरी अहिले परमाणुको सिद्धान्तको अवधारणाको सुरु गर्ने भनेर डेमोक्रिटस र लुक्पस र गति र गुरुत्वबलको न्युटनलाई दिइन्छ, यसको श्रेय हाम्रै पूर्वीय दर्शनलाई पनि दिनुपर्दछ। यसको यो बलियो प्रमाण हो

हाम्रो नौ पूर्वीय दर्शन मध्येको एक वैशेषिक दर्शन हो। यो दर्शन प्रकृतिवाद लागि परिचित छ। यो दर्शन अहिलेको विज्ञानवादसित मिल्दोजुल्दो छ। यो प्राकृतिक दर्शनमा परमाणुवाद एक प्रमुख वाद हो। यसले भौतिक ब्रह्माण्डका सबै वस्तुहरू परमाणुद्वारा बनेको छ, व्यक्तिका अनुभवहरू पनि पदार्थको अन्तरक्रिया परमाणुहरूको कार्य, तिनीहरूको संख्या र अवस्थाबाट व्युत्पन्न हुन्छन् भनी व्याख्या गरिएको छ। वैशेषिक दर्शनका अनुसार, ज्ञान र मुक्ति अनुभव संसारको पूर्ण वस्तुहरूको समझबाट प्राप्त हुन्छ भनिएको छ।

उदयराज सरले भनेको १८ वर्षपछि उनै कणादको वैशेषिक सूत्र अध्ययन गर्ने मौका मिल्यो त्यो पनि अमेरिकामा रहेको ओक्लोहोमा स्टेट विश्वविद्यालयको कम्प्युटर तथा भौतिकशास्त्रका प्राध्यापक डा. सुवास काकले लेखेको पुस्तक ‘म्याटर एण्ड माइन्ड- द वैशेषिक सूत्र अफ कणाद’ भन्ने किताब मार्फत।

तर यतिवेला भने म आफैं पनि भौतिकशास्त्रको जानकार रहेको र पूर्वीय दर्शन र संस्कृत भाषाको केही ज्ञान बटुलिसकेको हुनाले कणादका सूत्रहरूलाई बुझ्न सक्ने भएको छु। यही पृष्ठभूमिमा म यसको संक्षिप्त व्याख्या गर्ने प्रयासमा छु।

वैशेषिक दर्शनको स्थापना ईसापूर्व ६ देखि दोस्रो शताब्दीमा कानद कश्यपले गरेका थिए। कणादले आधुनिक विज्ञानको जस्तो गणितको भाषा प्रयोग नगरे पनि पदार्थ र प्रकृतिको वैज्ञानिक व्याख्या सविस्तार गरेका छन् जुन आधुनिक विज्ञानसँग धेरै मेल खान्छ।

उनले गति, गुरुत्व जस्ता भौतिक वस्तुहरूको व्याख्या मात्र नभई चेतना र मनको समेत भौतिक तरिकाले व्याख्या गरेका छन्। उनको किताबमा दश अध्याय छन्। पहिलो र दोस्रो अध्यायले पदार्थको वर्गीकरण गरी यसका गुण बारे व्याख्या गर्छ। तेस्रोले मन र शरीरको बारेमा। चौथो, पाँचौं र छैटौंले परमाणु र पदार्थको बनोट, ज्ञान र प्रेसेप्सन जस्ता कुराको व्याख्या गर्दछ।

आठौं र नवौंले सत् र असत् ज्ञानको बारेमा र अन्तिम दश अध्यायले कुनै पनि घटनाको कारण बारे व्याख्या गर्छ।

उनका अनुसार नौ वर्गका पदार्थहरू छन्, जसमध्ये केही परमाणुरहित र केही परमाणु सहित छन्। परमाणुरहित ईथर (आकाश), अन्तरिक्ष (दिक) र समय (काल) पदार्थहरूद्वारा बनेका छैनन् र अविनाशी छन्। पृथ्वी जल (आपस), अग्नि (तेजस), र वायु अविभाज्य, र अविनाशी परमाणुहरू (अणु) मिलेर बनेका हुन्छन्। आठौंमा चेतना जो सर्वव्यापी र अनन्त छ; र अन्तमा, नवौं, मन (मानस) हो, जसको परमाणु आयामहरू छन्।

तर अफसोच यस्तो प्रणालीबद्ध शुद्ध विज्ञान जहाँ कुनै प्रकारको पर शक्ति वा ईश्वरको कल्पना विना प्रकृति र पदार्थको व्याख्या गरिएको पुस्तक नेपालमा विज्ञान विषयतिर कहींकतै उल्लेख गरेको मैले थाहा पाइनँ। यहाँ उनका केही सूत्रहरूको मात्र व्याख्या गर्दछु।

कर्मं कर्मसाध्यं नविद्यते॥१।१।११॥ (गतिबाट अर्को नयाँ गति थाहा पाउन सकिंदैन।)

कारणाभावात्कार्याभावः ॥१।२।१॥ (कारणको अभावमा कार्य (यहाँ गतिलाई भन्न खोजिएको हो) गति उत्पन्न हुँदैन।

संयोगाभावे गुरुत्वात् पतनम् ॥५।१।७॥ (कारणको अभावमा वस्तु गुरुत्व बलले गर्दा खस्छ) न्यूटनको गुरुत्वबलको नियम यही हो।

नोदनविशेषाभावान्नोर्ध्वं न तिर्य्यग्गमनम् ॥५।१।८॥ (बाहिरी बल नहुने हो भने वस्तुको माथि वा कुनै दिशातिर गति हुँदैन)। यसलाई यसरी पनि बुझ्न सकिन्छ। बाहिरी बल प्रयोग नगर्ने हो भने स्थिर अवस्थामा रहेको वस्तु स्थिर र गति अवस्था रहेको वस्तु गतिमा रहन्छ। यो हाईस्कुलतिर पढिने न्युटनको पहिलो नियम ७/८ कक्षा पढ्ने विद्यार्थीलाई सोद्धा हुन्छ।

कार्य्यविरोधि कर्म ॥१।१।१४॥ कार्य (एक्सन) र कर्म (रियाक्सन) विपरीत हुन्छन्। यो न्यूटनको तेस्रो नियम हो एक्सन एण्ड रियाक्सन आर इक्वाएल एण्ड अपोजिट)। त्यस्तै अध्याय ४ मा पदार्थ र अणुको बारेमा उल्लेख छ।

अणुसमयोगस्तवप्रतिष्द्व: ॥४।२।४॥ अणुहरू (परमाणु)को संयोग निषेध छैन। अर्थात् एक अणु अर्को अणु सित मिल्न सक्छ। अतोविपरितमणु ॥७।१।१०॥ अणु अरु जस्तो छैन विपरित छ अर्थात् जोड्न घटाउन मिल्दैन भन्ने विषयको कुरा गरेका छन्।

अझ गहन विषय त के छ भने समय के हो भन्ने कुरा अझै विवादित छ। अठारौं शताब्दीसम्म वा भनौं न्यूटनले समयलाई एक छुट्टै आयामको रूपमा व्याख्या गरे जस्तै पिण्ड, दूरी जस्तै समय पनि एक हो उनको सिद्धान्त अनुसार। तर आइन्स्टाइनले समय त छुट्टै हुँदै होइन यो त स्पेसटाइम (दिककाल) को एक अक्ष हो भन्दिए।

हुन पनि हो, समय निपेक्ष हुँदैन र यो गुरुत्वाकर्षण बल र गति जस्ता कुराहरूमा भर पर्छ। वैशेषिक सूत्रको सातौं अध्यायको २५औं श्लोकमा समय त कारण हो कुनै निरपेक्ष वस्तु होइन भनेका छन्। यो त झन् अहिलेको विज्ञानसित मिल्दोजुल्दो छ। कारणे काल : ॥७।१।२५॥

जसरी अहिले परमाणुको सिद्धान्तको अवधारणाको सुरु गर्ने भनेर डेमोक्रिटस र लुक्पस र गति र गुरुत्वबलको न्युटनलाई दिइन्छ, यसको श्रेय हाम्रै पूर्वीय दर्शनलाई पनि दिनुपर्दछ। यसको यो बलियो प्रमाण हो। पुष्टि सामान्य इन्टरनेटबाट खोजेर समेत गर्न सकिन्छ। हाम्रा विज्ञानको पाठ्यपुस्तकमा कणादको संक्षिप्त परिचय र उनको सिद्धान्त जानकारीका लागि राख्नुपर्दछ। किनकि उनी कुनै ईश्वरमा आस्था राख्ने व्यक्ति पनि होइनन्। उनको दर्शन नास्तिक छ भने उनका कतिपय सिद्धान्त आधुनिक विज्ञानसित मेल खान्छ ।

लेखकको बारेमा
डा. कमल ढकाल

भौतिकशास्त्रमा विद्यावारिधि गरेका लेखक हाल अमेरिकामा कार्यरत वैज्ञानिक हुन् । उनी विज्ञान र दर्शनमा गहिरो रुचि राख्छन् । यहाँ व्यक्त विचारले उनी कार्यरत संस्थाको प्रतिनिधित्व गर्दैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?