+
+

अख्तियारमा एक वर्षमा २० हजार उजुरी

अनलाइनखबर अनलाइनखबर
२०८० असोज १५ गते १८:३५

१५ असोज, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत आर्थिक वर्ष २०७९/८० मा २० हजार भन्दा बढी उजुरी परेको छ । गत वर्ष दर्ता भएका र पुराना गरी अख्तियारले १८ हजारभन्दा बढी उजुरी फर्स्योट गरेको छ ।

गत आर्थिक वर्ष २०७९/८० मा १८ हजार ७९९ वटा उजुरीको स्क्रिनिङ र प्रारम्भिक छानबिनबाट फर्स्योट गरेको प्रवक्ता भोला दाहालले जानकारी दिए ।

आयोगले आफ्नो ३३ औं वार्षिक प्रतिवेदन सोमबार राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाएको छ । सो प्रतिवेदनका अनुसार आयोगमा आर्थिक वर्ष २०७९/८० मा २० हजार ९०५ उजुरीहरु परेका थिए । अघिल्लो आर्थिक वर्ष २०७८/७९ बाट ७ हजार १६२ उजुरीहरु सरेर आएका थिए ।

कारबाही गर्नुपर्ने कुल २८ हजार ६७ उजुरीमध्ये १८ हजार ७९९ वटा उजुरीको फर्स्योट भएको आयोगका प्रवक्ता दाहालले सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । उनका अनुसार १ हजार १३३ वटा उजुरीउपर विस्तृत अनुसन्धान गरिएको छ ।

त्यस्तै ७ हजार ८६९ उजुरी तामेलीमा राखिएको, गरिएको, १५२ उजुरीउपर सुझाव दिई तामेली गरिएको र ९ हजार ६४५ उजुरी अन्य कारबाहीका लागि पठाइएको उनले बताए । प्रारम्भिक छानबिनका क्रममा रहेका ९ हजार २६८ उजुरी आर्थिक वर्ष २०८०/८१ मा जिम्मेवारी सरेर आएको उनले जानकारी दिए ।

आयोगले आर्थिक वर्ष २०७९/८० मा विस्तृत अनुसन्धान भई आयोगमा निर्णयका लागि पेश भएका कुल ८७८ उजुरीहरु उपर आयोगबाट ९३७ वटा निर्णय भएकोमा १६२ वटा आरोपपत्र दायर गरेको छ । त्यस्तै ६५६ वटा उजुरी तामेलीमा राखिएको, ६३ वटा संवद्ध निकायलाई सुझाव दिइएको, २७ वटा मुल्तबीमा राखिएको र २९ वटा अन्य निर्णय भएको जनाइएको छ ।

विशेष अदालतमा दर्ता भएका १६२ वटा आरोपपत्रमध्ये गैरकानुनी लाभ हानीसँग सम्बन्धित ६४ वटा, घुस/रिसवतसँग सम्बन्धित ३२ वटा, सार्वजनिक सम्पत्तिको हानी नोक्सानीसँग सम्बन्धित २७ वटा र गैरकानुनी सम्पत्ति आर्जनसम्बन्धी १३ वटा मुद्दा रहेका छन् ।

त्यस्तै शैक्षिक योग्यताको नक्कली प्रमाणपत्रसम्बन्धी ८ वटा, राजस्व चुहावटसम्बन्धी ७ वटा र विविध विषयका ११ वटा रहेको अख्तियारले जनाएको छ । विशेष अदालतमा दर्ता भएका आरोपपत्रबाट कुल ७६६ जनालाई प्रतिवादी बनाई एक अर्ब ७७ करोड ५८ लाख ४६ हजार, ४३७ रुपैयाँ मागदाबी लिइएको प्रवक्ता दाहालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?