+
+

सामाजिक सद्भावका लागि सांसदहरुले खोजे सरकारको हस्तक्षेपकारी भूमिका

अनलाइनखबर अनलाइनखबर
२०८० असोज १६ गते १४:१७

१६ असोज, काठमाडौं । सांसदहरुले सामाजिक सद्भावका लागि सरकारको भूमिका आवश्यक भएको बताएका छन् ।

मंगलबार प्रतिनिधिसभाको बैठकमा आकस्मिक समय, शून्य समय र विशेष समयमा बोल्दै सांसदहरुले जाति र धर्मका नाममा हुन खोजेका अवाञ्छित गतिविधि रोक्न सरकारको हस्तक्षेपकारी भूमिका खोजेका हुन् ।

नेपाली कांग्रेस सांसद ईश्वरी देवी न्यौपानेले पूँजीवादका कारण नेपाली समाजको एकतामा प्रहार भएको बताइन् ।

‘केही घटनाले बहुजातीय बहुसांस्कृतिक, बहुधार्मिक एकता भन्नेमा हाम्रो बहुमूल्य पूँजीवादले प्रहार गरे जस्तो लाग्दछ’ न्यौपानेले भनिन् । विविधतामा रहेको एकतामा दरार ल्याउने प्रयास गम्भीर विषय भएको उल्लेख गर्दै उनले बेलैमा ध्यान नपुगे गम्भीर दुर्घटना निम्तिन सक्ने भन्दै सरकारको ध्यानाकर्षण गरिन् ।

नेकपा एमाले सांसद अमृतादेवी अग्रहरीले देशमा सरकार छ वा छैन भन्ने अवस्था रहेको बताइन् ।

कांग्रेस सांसद अम्बिका बस्नेतले पनि समाजमा विभाजन देखा परेको भन्दै सरकारको ध्यानाकर्षण गरिन् ।

‘धर्म, जातिका नाममा समाज विभाजित भइराखेको छ’ उनले थपिन्, ‘देश डरलाग्दो अवस्थामा गएको महसुस हुन्छ ।’

एमाले सांसद ईश्वरप्रसाद रिजालले सरकारले सामाजिक सद्भाव कायम गराउने गरी भूमिका खेल्नुपर्ने बताए ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद धवलशमशेर जबराले सामाजिक संजालमार्फत सद्भावमा खलल पुर्याउने प्रयास भइरहेको भन्दै नियन्त्रणका लागि सरकारको ध्यानाकर्षण गरे । साइबर क्राइमलाई प्रभावकारी रुपमा कारबाहीको दायरामा ल्याउन उनको माग छ ।

उनले भनेका छन्, ‘सरकारलाई अनुरोध छ– हिंसाका घटनाहरु तुरुन्तै कन्ट्रोलमा ल्याउनुपर्यो । यो सबैको जड मोबाइल हो । साइबर क्राइमलाई तुरुन्तै कारबाहीको दायरामा ल्याउनुपर्यो ।’ सामाजिक सद्भावका साथ आफ्ना विषय राख्न पनि उनको अपील छ ।

स्थानीय प्रशासनले सामाजिक र धार्मिक सद्भाव भड्किने संकेत देखिएको भन्दै बाँकेको नेपालगञ्जमा कर्फ्यू लगाएको छ । कर्फ्यू जारी भएको उल्लेख गर्दै उनले भनेका छन्, ‘सद्भावको शहरमा अशान्ति नफैलाउन नेपालगञ्जवासीलाई अनुरोध गर्दछु !’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?