
१६ असोज, काठमाडौं । सामाजिक र धार्मिक सदभाव भड्किने संकेत देखिएपछि कर्फ्यू लगाइएको नेपालगञ्जमा स्थितिलाई नियन्त्रणमा लिन प्रशासनले नेपाली सेनाको समेत सहयोग लिएको छ ।
स्थानीय प्रशासन ऐन, २०२८ अनुसार कर्फ्यू लागेको अवस्थामा सेनाको सहयोग लिन मिल्ने भएकाले त्यसअनुसार निर्णय गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले बताए ।
हिन्दु र मुस्लिम समुदायबीच तनाव सिर्जना हुने संकेत देखिएपछि मंगलबार दिउँसो १ बजेदेखि नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु जारी गरिएको छ । पूर्वमा राप्ती नदी पुल, पश्चिममा खजुरा रोडको इन्द्रपुर जाने बाटो, उत्तरमा राँझा चोक र दक्षिणमा जमुनाहा नाकासम्म कर्फ्यु लगाइएको छ ।
त्यसपछि प्रशासनले गरेको निर्णय अनुसार सेनाको टोलीले पट्रोलिङ गरिरहेको नेपाली सेनाको जंगीअड्डाका सूचना तथा जनसम्पर्क निर्देशनालयका प्रमुख सहायक रथी कृष्णप्रसाद भण्डारीले बताए । उनले भने, ‘प्रशासनलाई सहयोगका लागि सेना खटिएको हो ।’
हिन्दुहरुको समूह मंगलबार नेपालगञ्जमा भेला भएर प्रदर्शनमा उत्रिएको थियो । ओमकार परिवार, हिन्दु समाज र शिव सेना नेपालले संयुक्त रुपमा बागेश्वरी मन्दिरदेखि सुरु गरेको र्यालीले बजार परिक्रमा गरेको थियो । ठूलो संख्यामा निस्किएको र्यालीमा घरमाथिबाट ढुंगा र ईंटा प्रहार भएर स्थिति असामान्य हुँदा कर्फ्यु लगाइएको थियो ।
नेपालगञ्जमा सम्भावित तनावलाई मध्यनजर गर्दै आज बिहान सदभाव र्यालीसमेत निकालिएको थियो । सामाजिक सद्भाव र धार्मिक एकता कायम गर्ने उद्देश्यले बागेश्वरी मन्दिरका महन्त चन्द्रनाथ योगी, मुस्लिम धर्मका धर्मगुरु मौलाना अब्दुल जब्बार मञ्जरीलगायतका धर्मगुरु, नागरिक समाजका प्रतिनिधि र सर्वसाधारणको सहभागितामा पदयात्रा निकालिएको थियो ।
जिल्ला प्रशासन कार्यालय बाँकेले सोमबार मात्र जरुरी सूचना जारी गरी धार्मिक आस्थामा आँच पुर्याउने, धार्मिक विद्वेष फैलाउने जस्ता गतिविधि नगर्न र सामाजिक सन्जालमा पनि एकअर्काविरुद्ध जथाभावी नलेख्न भनेको थियो । यदि त्यसो गरेमा स्थानीय प्रशासन ऐन २०२८ तथा प्रचलित कानुन बमोजिम कडा कारबाही गर्ने चेतावनी दिएको थियो ।
प्रतिक्रिया 4