+
+

भेपमार्फत सुन तस्करी प्रकरणमा चिनियाँ नागरिकका ड्राइभर पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८० असोज १७ गते १३:५०
भेप । फाइल तस्वीर

१७ असोज, काठमाडौं । विद्युतीय सिगरेट (भेप) मार्फत भएको ९ किलो सुन तस्करी प्रकरणमा प्रहरीले तस्कर समूहका चिनियाँ नागरिक दावोजिन वाङका गाडी चालक लोकेन्द्र पौडेललाई पक्राउ गरेको छ ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले उनलाई केही दिनअघि पक्राउ गरेको एक अधिकृतले अनलाइनखबरलाई बताए ।

चौतर्फी दबाबपछि सीआईबीले १३ भदौमा पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुललाई पक्राउ गरेर सुन तस्करीबारे फेरि अनुसन्धान थालेको थियो । दोस्रो पटक थालिएको अनुसन्धानका क्रममा पौडेल पक्राउ परेका हुन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा नियमित जाँचका क्रममा २९ माघ २०७९ मा दुई वटा सुटकेशभित्र ७३ बट्टामा ७३० वटा भेप बरामद भएको थियो ।

गोदाममा राखिएका बेला त्यसमा सुन भएको थाहा पाएपछि भन्सारका नायब सुब्बा समेतको मिलेमतोमा भेप साटफेर गरेर ९ किलो सुन बिक्री गरिएको खुलेको थियो ।

प्रकरणमा अनुसन्धान गरेर सीआईबीले २७ असार २०८० मा जिल्ला अदालत, काठमाडौंमा आपराधिक विश्वासघात र संगठित अपराधको कसुरमा अभियोग पत्र दायर गरेको थियो । त्यसमा कृष्णबहादुर महरा र उनका छोरा राहुलको नाम समेत उल्लेख भएपछि उनीहरुमाथि अनुसन्धान गर्न दबाब बढेको थियो ।

पौडेलको दाबी – ड्राइभर हुँ, सुनबारे थाहा छैन

पक्राउ पर्नु केही साताअघि अनलाइनखबरसँग कुरा गर्दै पौडेलले आफू वाङको सवारी चालक भएको खुलाएका थिए ।

यसअघि सीआईबीले दायर गरेको मुद्दाको अभियोग पत्रमा उनलाई सुन ल्याउने समूहका व्यक्तिहरुको सूचीमा राखिएको थियो । त्यसमा तस्कर समूहका दाओजिङ वाङसँग उनको ६५१ पटक सम्पर्क भएको विवरण राखिएको थियो । अर्का चिनियाँ नागरिक लुईले समेत उनलाई ३ पटक फोन गरेका थिए ।

लोकेन्द्रले अनलाइनखबरसँग कुरा गर्दै लुई वाङको कार्यालय आइरहने भएकाले सम्पर्क रहेको बताएका थिए । ‘वाङ चाहिँ फलफूलको व्यापार गर्नुहुन्थ्यो, मैले उहाँको गाडी कुदाउने हो, सुनबारे केही थाहा भएन’, उनले अनलाइनखबरसँग भनेका थिए ।

यही प्रकरणमा ब्यूरोले सोमबार पूर्वसभामुख महरालाई समेत बयान कागज गराएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?