+
+

गोरखामा चीन प्रवेशका लागि ‘बोर्डर पास’ वितरण सुरु

विकास मरहट्टा विकास मरहट्टा
२०८० असोज १७ गते १९:२५

१७ असोज, गोरखा । गोरखाको चुमनुब्री गाउँपालिकाका बासिन्दालाई चीनको सीमा प्रवेश अनुमति पत्र (बोर्डर पास) वितरण सुरु भएको छ । चुमनुब्री–३ सिर्दिबासको फिलिमस्थित इलाका प्रशासन कार्यालयबाट बुधवार पास वितरण सुरु गरिएको प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले बताए ।

पास वितरणका लागि सहायक प्रमुख जिल्ला अधिकारी पुष्कर रानासहितको टोली सोमवार नै सिर्दिबास पुगेको थियो । सो टोलीमा नायक सुब्बा विश्व रोका मगर र कम्प्युटर अपरेटर सीता गुरुङ छन् । पहिलो दिन २० जनालाई पास वितरण गरिएको सहायक प्रजिअ रानाले बताए ।

उक्त पासको म्याद एक बर्षको हुनेछ । ‘हामीले वितरण गर्ने पासको म्याद एक बर्षको हुन्छ, त्यसपछि नवीकरण गर्नुपर्ने हुन्छ’, उनले भने । यसअघि पास लिएकाहरुले पनि नयाँ पास लिनुपर्ने उनले बताए । नेपाल भरका सबै बोर्डर पासमा एकरुपता ल्याउने उद्देश्यले नयाँ डिजाइनमा पास छपाइ भएकाले पुराना पास भएकाहरुले पनि त्यो बुझाएर नयाँ लिनुपर्ने सहायक प्रमुख जिल्ला अधिकारी रानाले जानकारी दिए ।

गृह मन्त्रालयले पठाएको डिजाइन अनुसार जिल्लामै पास छपाइ गरिएको हो । विगत चार बर्षदेखि बन्द अवस्थामा रहेको तिब्बत नाका चीन सरकारले खुल्ला गरिसकेको छ । तर पास नभएकै कारण उत्तरी गोरखाका स्थानीयहरु नाका प्रवेश गर्न पाएका थिएनन् ।

पास उपलब्ध गराइदिन आग्रह गर्दै उनीहरु पटक पटक गृहमन्त्रालय समेत धाएका थिए । गृहमन्त्रालयले निर्देशन पश्चात पास वितरण थालिएको प्रशासनले जनाएको छ ।

सीमाबाट ३० किलोमिटर आसपासका बासिन्दा र नेपाली नागरिकताको प्रमाणपत्र भएका व्यक्तिले पास पाउनेछन् ।

उत्तरी गोरखाका बासिन्दा सामान किनमेलका लागि विगतमा तिब्बत जाने गर्थे । तर पछिल्लो समय सीमा नाकाबाट आवतजावत सहज नहुँदा समस्या थियो ।

लेखकको बारेमा
विकास मरहट्टा

मरहट्टा अनलाइनखबरका गोरखा संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?