
ब्राजिलको अमेजन नदी तथा त्यसका शाखाहरुमा पछिल्लो एक हप्तामा १२० वटा डल्फिन मरेका छन् । डल्फिनका शवहरु फेला पर्ने क्रम जारी छ ।
आखिर विश्वकै ठूलो अमेजन नदीमा त्यतिधेरै डल्फिन किन मरिरहेका छन् ? यसले आम मानिस तथा जीव वैज्ञानिकहरुलाई पनि आश्चर्यमा पारेको छ र चिन्तित बनाएको छ ।
वैज्ञानिकहरुका अनुसार धेरै गर्मी तथा खडेरीका कारण अमेजन नदीको जलस्तर घटेको छ । साथै बढ्दो गर्मीका कारण पानीको तापमान बढिरहेको छ र सोही कारणले पानीमा अक्सिजनको मात्रा पनि कम कम भएको छ ।
जीव वैज्ञानिकहरुका अनुसार डल्फिनले न त धेरै गर्मी सहन सक्दछ, न त अक्सिजनको मात्रामा हुने गिरावट नै । पछिल्लो दिनमा अमेजन नदिको पानीमा अक्सिजनको कमीका कारण हजारौँ माछाहरु मरेका घटना सार्वजनिक भएका थिए ।
अमेजन नदीमा व्यापक रुपमा डल्फिन पाइन्छ । कतिपय डल्फिनहरू गुलाबी रङका हुन्छन् । केही प्रजातीहरु त केवल अमेजन नदीमा मात्रै पाइने खालका छन् । अमेजनमा अहिले यी सुन्दर डल्फिनका केही प्रजातिहरु मात्रै अस्तित्वमा छन् ।
हाल मरेकामध्ये ८० प्रतिशत गुलाबी डल्फिन रहेका छन् । यी डल्फिनलाई ब्राजिलमा बोटोस भनिन्छ ।
ब्राजिलमा पाइने बोटोस डल्फिनमध्ये १० प्रतिशत टेफे नदी र तालमा पाइन्छ । बोटोसका अलावा त्यहाँ खैरो डलफिन पनि पाइन्छन्, जसलाई टकूक्सी भनिन्छ । यी दुवै प्रजातिहरु आईयूसीएनको रेड लिस्टमा सामेल छन् । अर्थात् यी प्रजातिहरु संकटापन्न अवस्थामा छन् ।
उसै पनि सुस्त गतिको प्रजननका कारण डल्फिन खतरामा परिरहेको छ । त्यसमाथि दर्जनौं डल्फिनहरू केही दिनमै मर्न थालेपछि यो जीवको अस्तित्व नै संकटमा पर्ने हो कि भने चिन्ता थपिएको छ ।
पछिल्लो समयमा फेला परिरहेका मृत डल्फिनका शवलाई वैज्ञानिकहरुले परीक्षण गरिरहेका छन् । जसबाट डल्फिनको मृत्युको खास कारण पहिल्याइनेछ ।
यद्यपि हालका लागि डल्फिनको मृत्युको कारणचाहिं अत्यधिक गर्मी, सुख्खा तथा नदीको पानीको अक्सिजनको मात्रामा आएको कमीलाई मानिएको छ । तर, खास कारण पत्ता लगाउनका लागि जाँच भने अहिले पनि चलिरहेको छ ।
वैज्ञानिकहरुले अमेजनको शाखा नदीको रुपमा रहेको टेफे नदीमा कुनै ब्याक्टेरियाको संक्रमण पो छ कि भनेर पत्ता लगाउने कोसिस पनि गरिरहेका छन् । गत हप्ता टेफे नदी तथा ताल क्षेत्रमा ७० वटा डल्फिनका शव फेला परेका थिए ।
पछिल्लो हप्ता टेफे तालको तापमान ३९ डिग्री सेल्सियस पुगेको थियो । जुन औसत तापमान भन्दा १० डिग्री सेल्सियस बढी हो ।
केही दिनसम्म पानीको तापमान कम भए पनि पछि बढेर ३७ डिग्री सेल्सियस पुगेको थियो । अमेजनको पर्यावरण संरक्षणमा क्रियाशील संस्थाहरुले यसको दोष जलवायु परिवर्तन तथा विश्व उष्णीकरणलाई दिइरहेका छन् ।
प्रतिक्रिया 4