+
+

प्रधानमन्त्री प्रचण्ड र एमसीसीकी सीईओको फोटो एकसाथ देख्दा ग्लानि भयो : रघुजी पन्त

अनलाइनखबर अनलाइनखबर
२०८० असोज १८ गते १४:३४

१८ असोज, काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसद रघुजी पन्तले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पदीय हैसियत विपरीत एमसीसी कार्यान्वयन भएको हर्षोल्लास कार्यक्रमको उद्घाटनमा सरिक भएको भनी प्रश्न उठाएका छन् ।

मंगलबार प्रधानमन्त्री प्रचण्ड र अमेरिकी सहयोग सम्बन्धी परियोजना मिलेनियम च्यालेन्ज कार्पोरेसन (एमसीसी)का प्रमुख कार्यकारी अधिकृत (सीईओ) एलिस अलब्राइट हर्षोल्लास कार्यक्रममा उपस्थित भएका थिए । उक्त कार्यक्रमको फोटोलाई देखाउँदै एमाले सांसद पन्तले प्रश्न उठाएका हुन् ।

‘ज्वाइन्ट गर्दा इक्युभ्यालेन्ट हेरिन्छ । प्रधानमन्त्री पदसँग सुहाउने मान्छे भए त ठीकै छ । तर एमसीसीको एक्जुकेटिभ अफिस डाइरेक्टर र प्रधानमन्त्री बराबर हो ? सभामुख महोदय हेप्न छोड्दैनन्’ पन्तले बुधबार प्रतिनिधिसभाको बैठकमा भने ।

उक्त कार्यक्रमको फोटो देख्दा आफूलाई ग्लानि भएको उनको भनाइ छ । ‘एउटा स्वाभिमानी नेपाली नागरिकको हैसियतले, स्वाभिमानी नागरिकलाई प्रतिनिधित्व गर्ने प्रतिनिधिसभाको हैसियतले त्यो फोटो हेर्दा मलाई ग्लानि भयो’ उनले भने, ‘कृपया प्रधानमन्त्रीज्यू र परराष्ट्र मन्त्रालयले भविष्यमा यस्ता विषयहरुमा ध्यान देयोस् ।’ उनी अगाडि भन्छन्, ‘आफ्नो इज्जत आफैंले राख्ने हो । देशको इज्जत आफैंले राख्ने हो ।’

हैसियत नमिल्ने ठाउँमा अडान लिन सके समस्या नआउने र ग्लानि हुने कार्यमा सरिक हुन नपर्ने उनको भनाइ छ । अन्यथा, हेपिनुपर्ने उनलाई लाग्छ ।

पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र कांग्रेस नेता गणेशमान सिंहबाट सिक्न प्रधानमन्त्री प्रचण्डलाई एमाले सांसद पन्तको सुझाव छ ।

उनका अनुसार माधव नेपाल प्रधानमन्त्री हुँदा मनमोहन प्रतिष्ठानले चलाउने मनमोहन टेक्निकल इन्ष्टिच्युटमा दक्षिणको छिमेकीले केही भवनहरु बनाइदिएको थियो । त्यसबेला भारतीय दूतावासबाट तत्कालीन भारतीय राजदूत राकेश सुद र प्रधानमन्त्री माधव नेपालले संयुक्त रुपमा भवनहरु उद्घाटन गर्ने प्रस्ताव आएको थियो

‘म त्यसबेला प्रधानमन्त्रीको प्रमुख सल्लाहार थिएँ । मैले भने प्रधानमन्त्री जानुहुन्छ भने प्रधानमन्त्री एक्लैले उद्घाटना गर्नुहुन्छ । राजदूतले गर्ने भए एक्लै गर्नुहुन्छ, नत्र मिल्दैन भनें’ सांसद पन्तले सुनाए, ‘एउटा सहसचिवसँग उभिएर गर्नुहुँदैन भनेर स्ट्यान्ड लियौं, पछि प्रधानमन्त्रीले एक्लै उद्घाटन गर्नुभयो ।’

कांग्रेसको नेता गणेशमान सिंहले २०४६ सालको आन्दोलनपछि भारतीय नेताहरुले भेट्न खोज्दा होटलमा आउँदिन भनेको पनि उनले स्मरण गरे ।

‘भारतका मन्त्रीले भोट्न खोज्दा उहाँले होटलमा जान्न भन्नुभयो । भेट्न पर्छ भने यहीं आए हुन्छ भनिदिनुभयो’ पन्त अगाडि भन्छन्, ‘भारतको सिटिङ प्रधानमन्त्री आइके गुजराल चाक्सीबारीमा गएर गणेशमान सिंहलाई भेट्न गए । कांग्रेसले यो सिके हुन्छ । हाम्रा प्रधानमन्त्री (प्रचण्ड)ले यो सिके हुन्छ ।’

विदेशीले अनेक रुपमा हेप्न सक्ने हुँदा सतर्क हुनुपर्ने उनको राय छ । भारतीय स्वतन्त्रता लडाइँको समयमा इन्दिरा गान्धीसँग बेलायतले वार्ता गर्न चाहेको तर वार्तामा सहभागी हुँदा ड्रेस कोड ख्याल गर्नुपर्ने बताएको उनले सुनाए ।

‘ब्रिटिसहरुको ड्रेस कोड हुन्छ, डिनर हुँदा कुन चम्चाले सुप खाने । दायाँ हातले के खाने । आदि सिकाइन्छ । गान्धीलाई पनि त्यही भनियो । गान्धीले ड्रेस कोड पालना गरेर आउँदिन भने र गान्धीले लगौंटी र धोती लगाएर लण्डन गएर वार्ता गरे । त्यसबेला ड्रेस कोड तोडियो’ अडान लिंदा हेपिनुपर्ने उदाहरण दिंदै सांसद पन्तले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?