+
+

एमालेमा नियन्त्रित लोकतन्त्रको अभ्यास भयो : विनोद ढकाल

अनलाइनखबर अनलाइनखबर
२०८० असोज १८ गते १७:४५

१८ असोज, विराटनगर । नेकपा एमालेको कोशी प्रदेश अधिवेशनमा अध्यक्षमा पराजित नेता विनोद ढकालले पार्टीभित्र नियन्त्रित लोकतन्त्रको अभ्यास भएको बताएका छन् ।

बिहीबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै उनले पार्टीका स्थायी कमिटी र केन्द्रीय कमिटीकै सदस्यहरु खुलेआम एउटा उम्मेदवारको पक्षमा लागेर अर्कोविरुद्ध घेराबन्दीमा लागेको आरोप लगाएका हुन् ।

‘के हामीले चाहेको यस्तै नियन्त्रित लोकतन्त्र हो, पार्टी अध्यक्षको नजरमा कोही कार्यकर्ता नजिक र कोही टाढा हुनसक्छन् ?’, ढकालले प्रश्न गरे ।

प्रदेश अधिवेशनमा कोशी सरकारको पनि दुरुपयोग गरिएको उनले आरोप लगाए । एमालेको कोशी प्रदेश अधिवेशनमा ढकालले घनश्याम खतिवडासँग अध्यक्ष पदमा प्रतिस्पर्धा गरेका थिए । तर खतिवडा निर्वाचित भए भने ढकाल पराजित भएका थिए ।

उनले चुनावी परिणाम स्वीकार गरेर निर्वाचित कोशी प्रदेशको नेतृत्वलाई सहयोग गर्ने बताए ।

‘आगामी दिनमा उहाँहरुप्रति कुनै भेदभाव वा आग्रह नराखी कामको जिम्मेवारी दिन र पार्टी काममा उहाँहरूको योगदानको सदुपयोग गर्न नेतृत्व समक्ष आग्रह पनि गर्दछु’, उनले भने, ‘त्यस्तो व्यवहार भएमा विभेदमा परेका नेता कार्यकर्ताको संरक्षणका लागि मैले नैतिक रूपमा आवाज उठाउनुपर्ने हुन्छ ।’

नेता ढकालले अधिवेशनको समापन सत्रमा आफूलाई बोल्न नदिएको गुनासो पनि गरे ।

‘नवनिर्वाचित पदाधिकारीको शपथग्रहणमा बधाई धन्यवाद तथा आभार प्रकट गर्न पाइन्छ कि भन्ने ठानेको थिएँ, अध्यक्षको निकटतम प्रतिस्पर्धीको नाताले समापन समारोहको मञ्चबाट धन्यवाद दिने अवसर नपाएका कारण यसरी पत्रकार सम्मेलन गर्दैछु’, उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?