+
+

बैंकहरूले थप ०.५ प्रतिशत पुँजीकोष कायम गर्नुपर्ने

१ सय रुपैयाँ ऋण दिन हाल प्राथमिक पुँजी ८.५ प्रतिशत कायम गर्नुपर्नेमा अब थप ०.५ प्रतिशत अर्थात् ९ प्रतिशत चाहिने भएकाे हाे

अनलाइनखबर अनलाइनखबर
२०८० असोज १८ गते २१:४५

१८ असोज, काठमाडौं । बैंकहरूले थप ०.५ प्रतिशत पुँजीकाेष कायम गर्नुपर्ने भएकाे छ।

राष्ट्र बैंकले बैंकहरूलाई चालू आर्थिक वर्ष ०८०/८१ को मौद्रिक नीतिमा  क्यापिटल एडुकेसी फ्रेमवर्क २०१५ काे काउन्टर साइक्लिकल बफर कार्यन्वयन गर्नुपर्ने व्यवस्था गरेको थियो ।

सो व्यवस्थाअनुरुप चालू आर्थिक वर्षकाे अन्यसम्ममा उक्त बफर ०.५ प्रतिशत कायम गर्न केन्द्रीय बै‌ंकले विहीवार निर्देशन दिएकाे हाे । हाल प्राथमिक पुँजीकाेष ८.५ प्रतिशत र पुरक पुँजी २.५ गरि न्युनतम ११ प्रतिशत पुँजीकाेष कायम गर्नुपर्ने व्यवस्था थियाे । काउन्टर साइक्लिकल बफर पनि प्राथमिक पुँजीबाट नै कायम गर्नुपर्ने हुन्छ । त्यसअनुसार अब बैंकहरूकाे प्राथमिक पुँजीकाेष न्यूनतम ९ प्रतिशत हनुपर्ने भएकाे छ।

बैकहरूले लगानी गर्ने कर्जाकाे प्रकृति अनुसार १५० प्रतिशतसम्म जाेखिम भार गणना गर्नुपर्ने हुन्छ । कुनै कर्जामा ५० देखि बढीमा १५० प्रतिशत र सरकारी ऋणपत्र लगायतमा गर्ने लगानीमा जाेखिम भार शून्य हुन्छ।

कर्जाकाे प्रकृतिअनुसारकाे कुुल जाेखिम भारित सम्पत्ति निकालेर त्यसकाे निश्चित प्रतिशत बैंकहरूले आफ्नाे स्वपुँजी कायम गर्नुपर्छ । बाँकी बै‌ंकहरूले निक्षेपबाट स्राेत व्यवस्थापन गर्न सक्छन् । १ सय रुपैयाँ ऋण दिन हाल प्राथमिक पुँजी ८.५ प्रतिशत कायम गर्नुपर्नेमा अब थप ०.५ प्रतिशत अर्थात् ९ प्रतिशत चाहिने भएकाे हाे ।

प्राथमिक पुँजीमा बैककाे चुक्ता पुँजी, जगेडा काेष र सञ्चित नाफा लगायत गणना हुन्छ । यस्तै पूरक पुँजीमा ऋणपत्रलगायत गणना हुन्छ ।

पुँजीकाेष थप भएसँगै बैकहरूकाे कर्जा विस्तार गर्ने क्षमता कमजाेर हुन्छ ।

कुल गार्हस्थ उत्पादनमा भएकाे वृद्धिदर भन्दा निजी क्षेत्रमा भएकाे कर्जा विस्तार उच्च भएमा कर्जा विस्तारलाई नियन्त्रण गर्न काउन्टर साइक्लिकल बफर लगाइन्छ । पछिल्लाे आर्थिक वर्षमा कर्जा विस्तार न्यून भए पनि काेभिडपछि आर्थिक वर्ष २०७७/७८ र आर्थिक वर्ष २०७८/७९ मा भएकाे उच्च कर्जा विस्तारले गर्दा ५ वर्षकाे कुल गार्हस्थ उत्पादनमा निजी क्षेत्रकाे कर्जाकाे अनुपातकाे औसत र गत आर्थिक वर्षकाे कुल गार्हस्थ उत्पादनमा निजी क्षेत्रमा प्रवाह भएकाे कर्जाको अनुपातकाे अन्तर गणना गरेर उक्त व्यवस्था कार्यन्वयनमा आएकाे हाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?