+

चीन ३३७ पदकसहित शीर्षमा, भारतको सय पदक पूरा, नेपाललाई एक कांस्य

२०८० असोज  २० गते १०:३९ २०८० असोज २० गते १०:३९
चीन ३३७ पदकसहित शीर्षमा, भारतको सय पदक पूरा, नेपाललाई एक कांस्य

२० असोज, हान्झाउ । छिमेकी राष्ट्र चीनको हान्झाउमा भइरहेको १९औं एसियाली खेलकुदमा आयोजक चीनले पदक तालिकामा दबदबा कायम राख्दा अर्को छिमेकी भारतले इतिहासमै पहिलो पटक एक सय पदक जितेको छ ।

नेपालले भने बल्ल एक कांस्य पदक आफ्नो खातामा जोडेको छ ।

१९औं एसियाली सकिन अब दुई दिन बाँकी हुँदा अहिलेसम्म ४५ मध्ये ४१ राष्ट्रले पदक जितेका छन् । जसमा आयोजक चीन १८८ स्वर्ण १०५ रजत र ६४ कांस्यसहित कुल ३३७ पदक जितेर शीर्ष स्थानमा  छ ।

जापान ४७ स्वर्ण, ५७ रजत र ६५ कांस्यसहित १६९ पदक जितेर दोस्रो तथा दक्षिण कोरिया ३७ स्वर्ण ५१ रजत र ८६ कांस्यसहित १७४ पदक जितेर तेस्रो स्थानमा छ ।

भारतको शतक पदक

एसियाडको ७२ वर्षे इतिहासमा भारतले २५ स्वर्ण ३५ रजत र ४० कांस्य गरी १०० पदक जितेको छ । भारत पदक तालिकामा चौथो स्थानमा छ । भारतले इतिहासमै पहिलो पटक यति धेरै पदक जितेको हो ।

शनिबार बिहान जिओसान ग्वाली स्पोर्ट्स सेन्टरमा भारतीय महिला कबड्डी टोलीले फाइनलमा चाइनिज ताइपेईलाई २६-२५ ले हराएर स्वर्ण जितेपछि भारतले एक सय पदकको कोशेढुंगा पार गरेको हो ।

नेपालले भने एसियाडको अन्त्यतिर आइपुग्दा शुक्रबार महिला कबड्डीमा कांस्य पदक जितेको हो । नेपालले २९ खेलमा २५३ खेलाडी सहभागी गराउँदा पहिलो पटक एसियाड खेलेको महिला कबड्डी टिमले पदक जितेको हो ।

शनिबारै महिला कबड्डीको फाइनल खेल सकिएपछि पदक वितरण गरिएको हो । जहाँ भारतले स्वर्ण जित्दा चाइनिज ताइपेइले रजत तथा सेमिफाइनलमा पराजित नेपाल र इरानले कांस्य पदक प्राप्त गरेका हुन् ।

नेपालसहित बंगलादेश, कम्बोडिया, लेबनोन, प्यालेस्टाइन र सिरियाले समान एक/एक कांस्य जितेका छन् ।

दक्षिण एसियाको भुटान र माल्दिभ्स, यमन र टिमोर लिस्टेले अहिलेसम्म कुनै पदक जित्न सकेका छैनन् ।

१९औं एसियाडको समापन समारोह आइतबार हुनेछ ।

तस्वीर : राजेन्द्र चित्रकार

एसियाली खेलकुद
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय