
काठमाडौं । हास्य कलाकार मदनकृष्ण श्रेष्ठ हालैको एक अपरान्ह रमाइलो मुडमा सुनिए । उनी दर्शकलाई जोक्स सुनाइरहेका थिए । गीत सुनाएर दर्शकलाई मन्त्रमुग्ध बनाइरहेका थिए ।
काठमाडौंमा आयोजित ‘मदनकृष्ण नाट्यशाला’मा दर्शकले मदनकृष्णको अर्को आयाम देख्न पाए । उनले आफ्नो जीवनी, कलाकारिता र बितेका रमाइला क्षणलाई दर्शकसामु पस्किए । आफूलाई सुन्न दर्शकदीर्घामा आसिन पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि उनले कटाक्ष गर्न भ्याए ।
सिस्नुपानी नेपालको आयोजना र पाठशाला नेपालको सहकार्यमा आयोजित कार्यक्रममा उनले प्रस्तुति दिए । जहाँ हिट र कालजयी गीत प्रस्तुत गरे । श्रेष्ठको स्वास्थ्य लाभ र पारिवारिक साधनाको प्रस्तुतिमा उनले आफ्ना कालजयी गीत पस्किए ।
मदनकृष्णलाई सुन्न दर्शकदीर्घमा पूर्वप्रधानमन्त्रीहरु केपी शर्मा र डा. बाबुराम भट्टराई, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती, कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालगायत संवैधानिक अंगका विशिष्ट व्यक्ति, चिकित्सक सन्दुक रुइत लगायत पनि सहभागी रहे ।
‘मदनकृष्ण मुड’मा श्रेष्ठले आफ्ना चर्चित गीत ‘अरबौं मान्छेहरूमा, खोलावारि खोलापारि, एउटै सपना छ, हे भगवान, फूलबुट्टे सारी लगायतका गीत प्रस्तुत गरे ।
श्रेष्ठलाई साथ दिन मञ्चमा उपस्थित छोरा यमन श्रेष्ठले एउटै लक्ष्यको बाटोमा, नौलो बस्ती, सेल्फी गीत प्रस्तुत गरे । छोरी सराना श्रेष्ठले ती जूनजस्तै, एकतर्फी माया न हो जस्ता कालजयी गीत प्रस्तुत गरिन् । तीनै जनाले ‘सयथरी बाजा’ गीत सामूहिक रुपमा प्रस्तुत गरे । उनीहरूलाई वाद्यवादनमा भूपेन्द्र रसाइली, कृष्ण लिम्बू, प्रवीण श्रेष्ठ, वैभवविक्रम परियार र मिलन घिमिरेले साथ दिए । उनलाई सुन्न देशका विभिन्न क्षेत्रमा ख्याति कमाएका व्यक्ति हलमा उपस्थित थिए । हलभित्र नअटाएका दर्शकले बाहिर डिस्प्लेमा कार्यक्रमलाई नियालेका थिए ।
कलाकार श्रेष्ठको जन्म २००७ साल वैशाख ७ गते काठमाडौंको जितपुरफेदीमा भएको हो । उनी रामकृष्णलाल श्रेष्ठ र लक्ष्मीका एक्ला छोरा हुन् ।
प्रतिक्रिया 4