+
+

चाबी बोकेर जब जनप्रतिनिधि सिंहदरबार छिरे …

रवीन्द्र घिमिरे रवीन्द्र घिमिरे
२०८० असोज २१ गते २१:४३

२१ असोज, काठमाडौं । आइतबार हरिपूर्वा नगरपालिकाका मेयर विनोदकुमार साहसहित १० जना कार्यपालिका सदस्य संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालय पुगे । उनीहरुको योजना थियो, मन्त्री अनिता देवीलाई भेटेर नगरपालिका कार्यालयको चाबी बुझाउने ।

प्रमुख प्रशासकीय अधिकृतमा रुपमा हाजिर भएको २४ घण्टामै शम्भुप्रसाद यादवको जिम्मेवारी खोसिएपछि मन्त्रीसँग जवाफ माग्ने र चित्त बुझ्दो ढंगले सम्बोधन नभए नगरपालिकाको चाबी बुझाउने गरी बहुमत कार्यपालिका सदस्यहरु मन्त्रालयमा ‘डेलिगेसन’ आएका हुन् ।

तर, मन्त्रीलाई मन्त्रालयमा नभेटेपछि उनीहरु सचिव विनोदसिंह कुँवरको मा पुगे, सचिव पनि मन्त्रालयमा नभएको थाहा भएपछि उनीहरु सहसचिव सुमन दाहालको कार्यकक्षमा हुल बाँधेरै छिरे ।

हरिपूर्वामाथि अन्यायूर्ण तबरले प्रमुख प्रशासकीय अधिकृत नै नदिने गरी षडयन्त्र भएको र त्यसमा मन्त्रालयको भूमिका समेत विवादास्पद देखिएको भन्दै जवाफ माग गरे । दाहालले किन २४ घण्टामै प्रमुख प्रशासकीय अधिकृत फिर्ता भए भन्ने स्पष्ट जवाफ दिएनन् । तर, मन्त्री यादवको टिमलाई हरिपूर्वाको समस्याबारे जानकारी गराएको र छिट्टै समस्या समाधान हुने आश्वास दिलाए ।

तर, हरिपूर्वा नगरपालिकाको सो समूहले मन्त्री यादवसँग भेटेर मात्रै फर्किने भन्दै दिनभर मन्त्रालयमै अड्डा जमायो । तर, दिनभर मन्त्री नभेटेपछि सोमबार मन्त्रालयमा फेरि आउने भन्दै उनीहरु बाहिरिए ।

‘भोलि मन्त्रीज्यूसँग कुराकानी गर्दा पनि मिलेन भने हामी यहीँ धर्ना सुरु गर्छौं,’ मेयर साहले भने,‘प्रमुख प्रशासकीय अधिकृत नै नदिएर नगरपालिका नै नचेल्ने अवस्था बनाउन पाइन्न, यसका विरुद्ध सिंहदरबारभित्रै लड्छौं ।’ उनले चाबी समेत लिएर आएको भन्दै तुरुन्तै समस्या समाधान नभए मन्त्रीलाई नै बुझाएर जाने चेतावनी दिए ।

के भएको हो हरिपूर्वामा ?

मेयर साहले प्रमुख प्रशासकीय अधिकृत नहुँदा नगरसभा समेत गर्न नपाएको र दशैंअघि कर्मचारीलाई तलब समेत खुवाउन नसकिने अवस्था आएको भन्दै गुनासो गरे ।

गत १४ असोजमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले रौतहटको  देवाहीगोनाही नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रहेका यादवलाई हरिपूर्वा नगरपालिकामा थप जिम्मेवारी दिने गरी निर्यण गरेको थियो । उनलाई अर्को व्यवस्था नभएसम्मका लाथि हरिपूर्वामा थप जिम्मेवारी लिन भनिएको थियो । तर, उनले हरिपूर्वामा हाजिर भएर नियमित काम सुरु गर्न नै पाएनन् । १७ असोजमा हाजिर भएका उनले १८ असोजमा कर्मचारीहरुसँग छलफल गरेका थिए । तर, सोही दिन नै मन्त्रालयले उनको थप जिम्मेवारी दिने निर्णय उल्ट्याएर देवाहीगोनाहीका लागि मात्रै प्रमुख प्रशासकीय अधिकृतका रुपमा काम गर्न तोकेको छ ।

१७ वैशाखमा पनि हरिपूर्वामा हाजिर भएको एक घण्टामै उनको काजमा खटाउने निर्णय फिर्ता भएको थियो । मधेश प्रदेशको मुख्यमन्त्री कार्यालयमा शाखा अधिकृत रहेका उनले हरिपूर्वामा खटाएलगत्तै हाजिर नहुन दबाब खेप्नु परेको थियो । जोडबल गरेर नगरपालिकामा हाजिर भएका उनलाई एक घण्टामै सामान्य प्रशासन मन्त्रालयले साविककै जिम्मेवारीमा फर्किन पत्र काटेको थियो ।

उपसचिवमा बढुवा भएपछि अहिले रौतहटमा देवाही गोनाहीमा प्रमुख प्रशासकीय अधिकृत रहेका उनी फेरि हरिपूर्वा जान चाहिरहेकै थिए । हरिपूर्वाका मेयर  साह पनि उनलाई लैजान दुई सातासम्म सिंहदरबार धाएरै जोडबल लगाएका थिए । २४ भदौमा मन्त्रालयले आफू खटिन इच्छुक रहेको स्थानीय तह उल्लेख गरेर निवेदन माग्दा शम्भुप्रसाद यादवले हरिपूर्वामा सरुवा माग्दै आवेदन दिएका थिए । रौतहटको देवाही गोनाहीमा प्रमुख प्रशासकीय अधिकृत रहेका उनले घरपायक हुने गरी हरिपूर्वा नगरपालिकामा सरुवा मागेका थिए ।

५ असोजमा मन्त्रालयले शाखा अधिकृत दिलीप कुमार यादवलाई हरिपूर्वामा पठाएको थियो । तर, सिरहाबाट पठाइएका दिलीपकुमार हरिपूर्वा जान तयार नभएको भन्दै निवेदन दिएपछि शम्भुकमार यादवलाई थप जिम्मेवारी दिइएको थियो ।

मेयर साहले हरिपूर्वा नै गृहनगर भएका संघीय सरकारका खानेपानी मन्त्री महिन्दद्र राय यादवका कारणले यस्तो अवस्था आएको आरोप लगाउँदै आएका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पनि खानेपानीमन्त्री यादवले नै शम्भुप्रसाद यादवदाई फिर्ता गराउन दबाब दिएको स्वीकारेको छ ।

‘खानेपानी मन्त्रीज्यू कुनै पनि हालतमा आफूअनुकुलमा मान्छेबाहेक अरुलाई त्यहाँ काम गर्न दिने पक्षमा हुनुहुन्न रहेछ,’ एक अधिकारीले भन्छन्,‘उहाँ मेयरलाई फेल गराउन चाहाने र मेयर पनि आफूले खोजेकै मान्छे लैजाने अडानमा रहँदा यस्तो अवस्था आयोे ।’

यही कारण चैत यता हरिपूर्वा नगरपालिकामा ५ जना प्रमुख प्रशासकीय अधिकृत खटिइसके । तर, कसैले पनि हाजिर भएर राम्रोसँग काम गर्न पाएका छैनन् । सवारी चालक र कार्यालय सहयोगी भर्नालाई लिएर नगरपालिकाकै जनप्रतिनिधिले दुर्व्ययवहार गरेपछि तत्कालीन प्रमुख प्रशासकीय अधिकृत बसन्त न्यौपाने १५ चैत २०७९ मा मिथिला नगरपालिका सरुवा लिएर हिंडेका थिए । उनको स्थानमा गएका ध्रुवराज आचार्य हरपूर्वामा हाजिर हुनै पाएनन् । नगरपालिका नटेक्दै धम्की खेपेका उनी २९ चैत २०७९ मा बाटैबाट सरुवा भए ।

त्यसपछि निमेष मिश्र प्रमुख प्रशासकीय अधिकृत भएर गए । २४ वैशाखमा सरुवा भएका उनी ‘राजनीतिक विवादको भुमरीमा नफस्ने’ भन्दै लामो समय नगरपालिकामा हाजिर हुनै चाहेनन् ।  ४ महिनादेखिको झगडाका कारण नगरपालिकामा तालाबन्दी समेत भएकाले उनी हरिपूर्वा जान खोज्दा पनि हच्किएका थिए ।

तत्कालीन संघीय मामिला सचिव कृष्णहरि पुष्करसँग सहमतिपछि मिश्र १० असारमा नगरपालिकामा हाजिर भए । २० असारमा बसेको नगर बैठकले २९ असारमा नगरसभा बोलाउने निर्णय ग¥यो, तर नगरसभा बस्नुअघि नै प्रमुख प्रशासकीय अधिकृत मिश्रले हरिपूर्वा छाडे । मेयर साहले बहुमतका बलमा नगरसभाबाट बजेट पास गर्न खोजेपछि सद्भाव नै खल्बलिने डर भएको भन्दै उनी सर्लाहीबाट हिँडेका थिए ।

काठमाडौं आएका मिश्र नगरपालिका नफर्किएपछि नगरसभा नै प्रभावित भयो । २३ साउनमा नगरपालिकाले मिश्रलाई हाजिर गराइदिन संघीय मामिला मन्त्रालयलाई पत्र लेख्यो । पत्रमा मिश्र फर्किन नमाने अर्को कुनै उपसचिव पठाउन आग्रह गरिएको थियो । ४ भदौमा मिश्र सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकामा सरुवा भए, तर हरिपूर्वामा नयाँ प्रमुख प्रशासकीय अधिकृत तोकिएन ।

त्यसपछि मेयर साहले नगरवासी समेत रहेका उपसचिव शम्भुप्रसाद यादवलाई हरिपूर्वा ल्याउन लबिइङ थालेका थिए भने त्यसमा सहमत शम्भुप्रसादले मन्त्रालयमा आवेदन समेत दिएका थिए । तर, मन्त्रालयले अधिकृतस्तरका कर्मचारीलाई सिरहाबाट प्रमुख प्रशासकीय अधिकृत बनाएर पठाएपछि फेरि मेयर सहा काठमाडौं आएर शम्भुप्रसाद यादवलाई थप जिम्मेवारी दिने निर्णय गराएर फर्किएका थिए ।

तर, खानेपानीमन्त्री यादवले हरिपूर्वामा शम्भु यादवलाई खटाउने निर्णय फिर्ता लिन दबाब दिएको स्रोतको दाबी छ । मन्त्री यादव र उपसचिव शम्भुप्रसाद यादवको गाउँ एउटै भएपनि उनीहरूबीच सुमधुर सम्बन्ध छैन ।

मेयर साह भने नगरपालिकालाई नियमित सेवा सञ्चालन नै गर्न नसक्ने अवस्थामा पु¥याइएकाले आफूहरु सिंहदरबारमा बहुमत कार्यपालिका सदस्यसहित आएको बताउँछन् । ‘महिला जनप्रतिनिधिहरु पनि मन्त्रीज्यूसाग कुरा राख्छौं भनेर आउनु भएको छ,’ उनले भने,‘मन्त्रालयले नगरपालिकामा सिर्जना गरेको अस्थिरताविरुद्ध नगरमा नागरिकस्तरबाटै विरोध प्रदर्शन समेत भइरहेको छ ।’

लेखकको बारेमा
रवीन्द्र घिमिरे

घिमिरे अनलाइनखबरका प्रशासन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?