+
+

इजरायलमा नेपाली बंकरमै, काठमाडौंमा सरकार अलमलमै

परराष्ट्रमन्त्री भन्छन्-इजरायल सरकारसँग क्लोज कन्ट्याक्टमा छौं

अनलाइनखबर अनलाइनखबर
२०८० असोज २१ गते २२:१६

२१ असोज, काठमाडौं । दुई साताअघि मात्रै इजरायल गएका थिए, दाङ घोराही उपमहानगर ११ नारायणपुरका विपिन सुवेदी ।

इजरायलको सेदोत नेगेभस्थित कृषि अध्ययन केन्द्र नेर भएको हमास आक्रमणमा आफ्ना साथीहरु मारिएको, घाइते भएको देखे–सुनेपछि उनी चरम पीडामा छन् । इजरायल प्यालेस्टाइन सिमानाभन्दा ८ सय मिटर वर छ उनीहरुको सेदोत नेगेभ अध्ययन केन्द्र ।

असोज ९ गते इजरायल गएका उनी साउन महिनासम्मका लागि कृषि सिक्ने अनि कमाउने (अर्न एन्ड लर्न)का लागि गएका हुन् । नजिकका फार्महरुमा उनका साथीहरु छन्, जोसँग उनको सम्पर्क हुन पाएको छैन । इजरायलको बंकरमै रहेका उनको यति बेला एउटै कामना छ, पहिले सबै साथीहरुलाई एकै ठाउँमा राखियोस् । त्यसपछि छिटोभन्दा छिटो उद्धार गरियोस् । कम्तीमा धेरै नेपाली एक ठाउँमा बसे एक अर्कालाई ढाडस दिन पाइने उनको भनाइ छ ।

तर आफ्नो आग्रहलाई इजरायलस्थित नेपाली दूतावासले राम्रोसँग नसुनेको उनी बताउँछन् । ‘बन्दुकले ढलेका, छर्रा लागेका साथीहरुबारे हामीले बताएका थियौं, तर उहाँहरुले आफूहरु एकदम व्यस्त भएकाले धेरै फोन नगर्न भन्नुभयो,’ सुवेदीले आक्रोश पोखे, ‘बरु हामीलाई नेपालस्थित इजरायली दूतावासले बेलाबेला सम्पर्क गर्ने, हाम्रो देशमा यस्तो भयो, सरी भन्ने गरिरहेको छ, तर आफ्नै दूतावासको के तरिका हो यो ?’

सुवेदीजस्तै थुप्रै नेपाली यति बेला सरकार गुहारिरहेका छन् । आज परराष्ट्रमन्त्री एनपी साउदले संसदमा बोल्दै इजरायलको पछिल्लो अवस्था अनि सरकारले गरिरहेको कामको प्रगति सुनाएका थिए । आइतबार साँझ इजरायल आक्रमणमा १० नेपाली मारिएको अरु थुप्रै घाइते भएको सूचना पुष्टि नै भएको छ ।

मन्त्री साउदले अनलाइनखबरसँग भने, ‘हामीले पाएको सूचना भन्दा बढ्दा हताहतिको सम्भावना छैन, म नेपालीहरुलाई धैर्य राख्न आग्रह गर्छु । सरकारले इजरायल सरकारसँग क्लोज कन्ट्याक्टमा रहेर नेपालीको उद्धार पहल गरिरहेको छ ।’

उनले आक्रमणबीच एयरपोर्टहरु खुलै रहेकाले फर्कन चाहनेका लागि व्यवस्थापन मिलाउने काम भइरहेको बताए ।

तर, सरकारले अहिलेसम्म इजरायलमा रहेका नेपालीलाई सचेत रहन र घटनाबारे जानकारी दिन विज्ञप्ति जारी गर्ने बाहेक अन्य कदम चालेको छैन । अहिलेसम्म सरकारी तबरबाट उद्धारको लागि समन्वय र ठोस योजना तयारीको काम समेत भएको छैन । इजरालका नेपाली राजदूत कान्ता रिजालले आधिकारिक रुपमै १० जना नेपालीको मृत्यु भएको बताइरहँदा परराष्ट्र मन्त्रालयका तर्फबाट आधिकारिक विज्ञप्ति समेत जारी हुन सकेको छैन ।

विपक्षी दलहरुले आपतका बेला सरकारले असाध्यै ढिलो रेस्पोन्स गरिरहेको भन्दै चिन्ता जनाएका छन् । पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले यो बेला प्रधानमन्त्रीस्तरको सक्रियता आवश्यक रहेको बताए ।

समकक्षी प्रधानमन्त्री बेन्यामिने नेतान्याहुलाई फोन गरी हमास आक्रमणमा ज्यान गुमाएका इजरायली, नेपाली लगायतका लागि समवेदना साथै आवश्यक उद्दार पहलका लागि आग्रह गर्नुपर्ने उनको भनाइ छ । ‘स्लो रेस्पोन्स भयो, यस्तो बेला चाहिनेजति संवेदननशीलता सरकारी पक्षबाट देखिएन,’ ज्ञवालीले भने, ‘प्रधानमन्त्री प्रचण्डले इजरायलका प्रधानमन्त्रीलाई फोन गर्ने, आवश्यक सहायताका लागि आग्रह गर्ने गर्नुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?