+
+

बंकरका विद्यार्थीलाई प्रधानमन्त्री र परराष्ट्रमन्त्रीको फोन, इजरायलले अनुमति दिनेबित्तिकै विमान पठाउने आश्वासन

अनलाइनखबर अनलाइनखबर
२०८० असोज २२ गते १५:३०

२२ असोज, काठमाडौं । इजरायलको सेदोत नेगेभस्थित बंकरमा रहेका नेपाली विद्यार्थीलाई प्रधानमन्त्री प्रचण्ड र परराष्ट्रमन्त्री एनपी साउदले फोन गरेका छन् ।

बंकरमा रहेका दाङ नारायणपुरका विपिन सुवेदीले अनलाइनखबरलाई बताए अनुसार प्रधानमन्त्री प्रचण्डले सुरक्षित बस्न आग्रह गरे । सरकारले सक्दो छिटो उद्धारका लागि सबै प्रयास गरिरहेको भन्दै  तयारी अवस्थामा बस्न पनि प्रधानमन्त्रीले भने ।

प्रधानमन्त्रीलाई उद्धृत गर्दै विपिनले भने, ‘सक्दो छिटो उद्धारका लागि प्रयास भएको छ, धैर्य गर्दै सुरक्षित बस्नुहोस् भन्नुभयो ।’

प्रधानमन्त्रीलाई विपिन र साथीहरुले आफूहरुलाई यो बेला शीघ्र नेपाल फर्कने चाहना बाहेक अरु केही नचाहिएको भन्दै सरकारसमक्ष गुहार मागे ।

प्रधानमन्त्रीले इजरायल सरकारको अनुमति पाउनेबित्तिकै उडाउनका लागि विमान तयारी हालतमा राखिएको भन्दै धैर्य गर्न आग्रह गरे ।

प्रचण्डभन्दा अघि बोलेका परराष्ट्रमन्त्री एनपी साउदले इजरायल दूतावासका कर्मचारी सहित सुरक्षाकर्मीबाट उद्धार हुने आश्वासन दिए ।

दूतावासले एनआरएन प्रतिनिधिसहित उद्धार पहल गरिरहेको उनले बताए ।

विपिनका अनुसार केही समयभित्र आफूहरुलाई तेल अबिब लैजान पहल भइरहेकाे दूतावासले बताएको छ । आफूहरु छिटोभन्दा छिटाे उद्धारको पर्खाइमा रहेकाे उनले बताए ।

प्रधानमन्त्री प्रचण्ड र विपिनबीचको कुराकानी :

प्रधानमन्त्री : सुदूरपश्चिमको सबै विद्यार्थीहरुको नेतृत्व गरेको हो ?

विपिन सुवेदी : हो हो हो ।

प्रधानमन्त्री : यहाँ रमेशजी (प्रधानमन्त्रीका स्वकीय)सँग तपाईंको लगातार कुरा भइरहेको थाहा पाइरहेको छु ।

विपिन :हजुर ।

प्रधानमन्त्री : अहिले परराष्ट्रमन्त्रीसँग कुरा पनि भइ नै हाल्यो । हामी अस्तिदेखि नै लगातार लागिरहेका छौं । स्थिति एउटा विस्तारै अवस्थामा आइरहेको छ । यही विषयको लागि अहिले क्याबिनेटको बैठक पनि बोलाइएको छ । सर्वदलीय बैठक पनि बोलाइएको छ ।  इजरायली राजदूतावासमा पनि लगातार कुरा भइराखेको छ । सायद अहिले परराष्ट्र मन्त्री स्तरमा पनि कुरा होला ।

यो सबै कुरा तपाईंले त्यहाँ सबै विद्यार्थीहरुलाई कम्युनिकेट गरिदिनुपर्‍यो । ह्याभोक क्रियट गर्ने हुन्छन् ।

विपिन :सबै जनालाई भन्दिइसकें ।

प्रधानमन्त्री : अँ अँ ।

विपिन :अहिलेको अवस्थामा एकजोर कपडा र पासपोर्ट व्यागमा हालेर रेडी भएर बस्नुस् । केयर गर्नुस् भनें । सबै जना रेडी हुनुहुन्छ ।

प्रधानमन्त्री : थ्याङ्कु विपिनजी । रमेशजीसँग कम्युनिकेसनमा बस्नुस् ल ।

विपिन : हामीलाई छिटोभन्दा छिटो नेपाल फर्काइदिनुस् ।

प्रधानमन्त्री : ल ल । हामी त्यो तयारी गरिरहेका छौं । सक्रियताको साथ गरिराखेका छौं । ल हस् त ल ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?