+
+

इजरायल घटनापछि नेपालमा पनि आक्रोश बढ्न सक्ने भन्दै प्रहरीले बढायो सतर्कता

अनलाइनखबर अनलाइनखबर
२०८० असोज २२ गते १९:१०

२२ असोज, काठमाडौं । इजरायलमा हमासको आक्रमणमा परेर १० जना नेपाली मारिएपछि नेपालमा उत्पन्न हुनसक्ने परिस्थितिप्रति नेपाल प्रहरीले समीक्षा गरेको छ ।

निर्दोष नेपाली विद्यार्थीको मृत्यु र घाइते भएको घटनापछि नेपालमा आक्रोश बढ्न सक्ने आँकलसहित अप्रिय गतिविधि हुन नदिन प्रहरीले सतर्कता बढाएको छ ।

विगतमा यस्ता घटनालगत्तै विरोध प्रदर्शन, आन्दोलन भएको समेत स्मरण गर्दै निमित्त प्रहरी प्रमुख एआईजी टेकप्रसाद राईले सात वटै प्रदेशका प्रहरी प्रमुखलाई उच्च सर्तकता अपनाउन निर्देशन दिएका छन् ।

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार, राईले सम्भावित सुरक्षा चुनौतिलाई विश्लेषण गर्दै सोही अनुरुप विशेष सुरक्षा योजना बनाएर शान्ति सुरक्षा कायम गर्न निर्देशन दिएका छन् ।

इजरायल घटनापछि विगतमा जस्तो विरोध प्रदर्शन, तोडफोड, मुस्लिम समुदायमाथि आक्रमण, घुम्न आएका इजरायलीमाथि आक्रमण जस्ता गतिविधि हुनसक्ने प्रहरीको विश्लेषण छ । त्यस्ता गतिविधिलाई निस्तेज पार्न प्रहरी नेतृत्वले निर्देशन दिएको छ ।

प्रहरी प्रधान कार्यालय, नक्सालबाट सोमबार भिडियो कन्फरेन्स गर्दै उनले सातै प्रदेश प्रहरी प्रमुखलाई शान्ति सुरक्षा सहज बनाउन अन्य सरोकारवाला निकायसँग पनि समन्वय गरेर कार्यसम्पादन गर्न निर्देशन दिए ।

सोही अवसरमा निमित्त प्रहरी प्रमुख राईले नजिकिँदै गरेको चाडपर्वमा हुनसक्ने कालोबजारी र तस्करी नियन्त्रणका लागि पनि सक्रियता देखाउन निर्देशन दिए । उनले दशैंमा हुनसक्ने सवारी दुर्घटना न्यूनिकरणका लागि पनि अझ बढी सक्रियता देखाउन निर्देशन दिए ।

त्यसअवसरमा सातै प्रदेश प्रहरी कार्यालयका प्रमुख तथा प्रतिनिधिले आ-आफ्नो क्षेत्रको शान्ति सुरक्षाको अवस्था, विशेष सुरक्षा योजना तथा कार्यान्वयन र भइरहेका गतिविधिबारे जानकारी गराएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?