
२३ असोज, काठमाडौं । अक्टोबर १० अर्थात् विश्व मानसिक स्वास्थ्य दिवसका दिन मंगलबार सरकारी तथा गैरसरकारी संस्थाहरुले मानसिक स्वास्थ्यको बारेमा विभिन्न कार्यक्रम गरी मनाए । मन्डला थिएटर थापागाउँमा भने मानसिक स्वास्थ्यको बहस भिन्न कोणबाट भयो ।
कलाकार कोरियोग्राफर जेडी तमुले लेखन निर्देशन गरेको नाटक ‘ब्युँझिएको सिरानी’ मा पेशा र परिवारबीचको अन्तद्र्वन्द्व सम्हाल्न नसकेको पीडित व्यक्तिलाई मूख्य पात्र बनाइएको छ ।
उसले आफूलाई वरिपरिका समस्याबाट उम्काउन खोजिरहन्छ, तर पटक पटक त्यही समस्याको जन्जाल पार गर्न नसकेपछि कठोर पीडाको बाटो रोज्छ । परिवार, साथीभाइ, गुरु कसैले पनि आफ्नो भावना नबुझेपछि उक्त व्यक्तिले सामना गर्ने परिस्थिति कस्ता होलान्, यो बुझ्न भने नाटक नै हेर्नुपर्छ ।
कोरियोग्राफर जेडी तमुको निर्देशकीय अवतारमा पनि प्रशस्तै नृत्यहरु प्रयोग भएका छन् । गुरुङ, लिम्बु संस्कृतिदेखि पाश्चात्य कलाहरुको उत्कृष्ट नृत्य÷संगीत संयोजन, अनि धेरैजसो भागमा दर्शक हाँसेको हाँस्यै बनाउने संवाद र दृश्यहरु छन् । सहनिर्देशकका रुपमा सुरज तमुको मिहेनत अलग्गै चिनिने गरी प्रकट भएको छ ।
‘मेरा लागि मानसिक स्वास्थ्यको समस्या चित्रण गर्दाको अनुभूति नाटकभन्दा बढ्ता संवेदनशील लागिरहेको थियो, अहिलेको पुस्ताले भोगिरहेको समस्यालाई नृत्य, संगीत, संवाद, प्रकाश आदिको माध्यमबाट भन्न खोजेको हुँ,’ जेडी तमुले भने, ‘करुणाभाव, समझदारी र मायालु क्रियाकलापबाट मानसिक समस्यालाई समाधान गर्ने हो, समस्या भोगिरहेको व्यक्तिलाई उपेक्षा वा घृणा गर्ने होइन । त्यसैले म नाटकमार्फत् यो सन्देश दिन लागिपरें ।’
नाटक ‘ब्यूँझिएको सिरानी’ मा रूपेश लामा, वेदना राई, सुरज तमू, मनि के राई, सुजन सेनेहाङ, सृष्टि महर्जन, दिया शाक्य, रेनुका घर्ति मगर, मुस्कान राउत, लुनिभा महर्जन, रामचन्द्र पनेरू, ग्लोरी थापा लगायतको अभिनय रहेको छ ।
अनिल सुब्बाको कला निर्देशन गरेको नाटकमा झुमा लिम्बुको संगीत संयोजन रहेको छ ।
नाटक असोज २८ गतेसम्म सोमबारबाहेक हरेक साँझ ५ बजे मञ्चन हुनेछ । शनिबार भने दिउँसो १ बजे अतिरिक्त शो मञ्चन हुने आयोजकले बताएको छ ।
प्रतिक्रिया 4