+
+

एमाले सुदूरपश्चिम अधिवेशन : निर्वाचनबाटै नेतृत्व चयन गर्न उम्मेदवारको माग

अनलाइनखबर अनलाइनखबर
२०८० असोज २४ गते ११:३९

२४ असोज, धनगढी । नेकपा एमाले सुदूरपश्चिम प्रदेशको नेतृत्व निर्वाचनबाटै हुनुपर्ने भन्दै उम्मेदवारहरूले ध्यानाकर्षण गराएका छन् ।

अध्यक्षका उम्मेदवार भरत साउद, सचिवका उम्मेदवार रतनराज रेग्मी र उपसचिवका उम्मेदवार नरबहादुर विकले संयुक्तरुपमा वक्तव्य जारी गर्दै मतदानबाटै नेतृत्व चयन गर्नुपर्ने माग गरेका हुन् ।

उम्मेदवारको प्रारम्भिक सूची सार्वजनिक भइसकेको अवस्थामा सहमतिको नाममा नामावलीमै नभएका व्यक्तिलाई समावेश गरिएको उल्लेख गर्दै उनीहरुले आपत्ति जनाएका छन् ।

उम्मेदवारहरूसँग कुनै छलफल नै नगरी सार्वजनिक र घोषणा हुने कुनै पनि गतिविधि आफूहरुलाई मान्य नहुने उनीहरूको भनाइ छ । ‘कार्यकर्ताले आफ्नो अभिमत प्रकट गर्ने वातावरण निर्माण गर्नका लागि कमरेडहरूको ध्यानाकर्षण गराउनु चाहन्छौं,’ अधिवेशनका अध्यक्ष मण्डलका अध्यक्ष र एमाले सुदूरपश्चिम नेतृत्वलाई लेखेको पत्रमा उल्लेख छ ।

एमाले नेताहरूले भने अध्यक्ष केपी ओलीको निर्देशन अनुसार सहमतिमै नेतृत्व चयन गर्ने गरी छलफल गरिरहेका छन् । जसका कारण निर्वाचन प्रक्रिया लम्बिरहेको छ ।

अध्यक्षमा अछामका कृष्णप्रसाद जैशी, उपाध्यक्षमा बाजुराका कालीबहादुर शाही, सचिवमा कैलालीका रणबहादुर चन्द, उपसचिव कैलालीकै नेपालु चौधरी र कञ्चनपुरकी कलसा महरालाई बनाउने गरी खाका बनेको छ । त्यसैमा सहमति गराउने प्रयासमा नेताहरू लागेका छन् ।

सहमति भएको भनी नेतृत्व घोषणा गर्ने तयारी गरिरहेका बेलामा अरु उम्मेदवारहरूले निर्वाचन समितिको समेत ध्यानाकर्षण गराएका हुन् ।

अध्यक्षमा उम्मेदवारी दिएका कमल तिमिल्सिना, वचनबहादुर सिंह र भरत साउँदले अहिलेसम्म उम्मेदवारी फिर्ता लिएका छैनन् । साउँदले चुनाव गर्नुपर्ने माग गरिरहेका छन् भने अरुले औपचारिक रुपमा वक्तव्य जारी गरेका छैनन् ।

उपाध्यक्षतर्फ पनि हजारीसिंह साउँदले उम्मेदवारी फिर्ता लिए पनि कालीबहादुर शाहीसहितका पाँच जनाको उम्मेदवारी यथावत छ ।

सचिवमा उम्मेदवारी दिएका जीवन बमले फिर्ता लिएका छन् भने राजेश खाती र रतनबहादुर रेग्मीको उम्मेदवारी कायमै छ ।

उपसचिवमा पल्लभराज भट्टले उम्मेदवारी फिर्ता लिएका छन् भने अन्यको उम्मेदवारी कायमै छ । सहमति नभएपछि निर्वाचनि समितिले उम्मेदवारी फिर्ताको समय सारेको सार्‍यै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?