
काठमाडौं । फिल्म ‘प्रसाद २’ विवादमा चलचित्र निर्देशक समाजले पहिलोपटक संस्थागत अभिव्यक्ति दिएको छ । निर्देशक सुदर्शन थापा लगायतविरुद्ध पक्राउ पुर्जी जारी गर्नुलाई संघले आपत्तिजनक भएको बताएको छ ।
महासचिव अरुणकुमार प्रधानद्वारा जारी वक्तव्यमा भनिएको छ, ‘सुदर्शन थापालाई निर्देशकीय जिम्मेवारी मात्र प्रदान गरिएको हो । उहाँलाई फिल्म बिक्री वितरण गर्ने अधिकार पनि हुँदैन । प्रहरी बिना कारण, बिना प्रमाण, एकतर्फीरुपमा चलचित्र बिक्री वितरणको आरोप लगाउँदै परेको उजुरीको भरमा पक्राउ पुर्जी जारी गर्नु आपत्तिजनक छ ।’
संघले फिल्मको विवादलाई प्रहरी र अदालतसम्म पुर्याउने प्रवृत्तिको पनि विरोध गरेको छ । फिल्म क्षेत्रका समस्या समााधान गर्न फिल्मकर्मीका संघसंस्था आफैं सक्षम रहेको समाजको दाबी छ । यस्तो विवादलाई मिलापत्र गराउने वातावरण गराइदिन अदालत र प्रहरी प्रशासनलाई समाजले आग्रह समेत गरेको छ ।
‘हामी यस्ता विवादास्पद विषयलाई समन्वय गरी समाधान गर्ने कोसिस गर्नेछौं । यदि सहमति नजुटेमा फैसलाका लागि सम्मानित अदालत छँदैछ,’ विज्ञप्तिमा भनिएको छ । ‘प्रसाद २’ विवादमा ओएसआर डिजिटलका सञ्चालक ओमप्रकाश अग्रवाल र सम्पादक मिलन श्रेष्ठ निर्दोष रहेको दाबी पनि निर्देशक समाजले गरेको छ ।
उनीहरुले फिल्मका निर्माता सुभाष थापासँग सम्झौता बमोजिम काम गरेको उल्लेख गर्दै समाजले यसबारे निष्पक्ष छानबिन गर्न आग्रह गरेको छ । यो विवादलाई सहजीकरण गरिदिन पनि समाजले निर्देशक सुदर्शन थापालाई आग्रह गरेको छ ।
प्रतिक्रिया 4