+
+

‘राज्यको हस्तक्षेप नभए यी डेढ सय परिवार सुकुम्बासी बन्छन्’

कतिपय बस्तीका सबैजसो परिवारको लालपुर्जा शरणप्रसाद आचार्यको नाममा रहेको थाहा पाएपछि यो घटना बाहिर आएको हो । समस्या समाधान भएन भने दनुवार बस्तीका करिब डेढ सय घरपरिवार सुकुम्बासी हुन्छन् ।

लक्ष्मी दनुवार, पूर्व-उपप्रमुख, पाँचखाल नगरपालिका लक्ष्मी दनुवार, पूर्व-उपप्रमुख, पाँचखाल नगरपालिका
२०८० असोज २६ गते २०:२८

पाँचखाल नगरपालिका वडा नं. १२ मा घना दनुवार बस्ती छ । दनुवार पिछडिएको समुदाय हो । शिक्षाको अवसरबाट वञ्चित हाम्रो समुदाय आर्थिक, सामाजिक रूपमा पनि अपहेलित छ ।

पछिल्लो समय दनुवार समुदायका बालबालिका पढ्न थाले । उनीहरूमा ‘म कुन समुदायबाट आएको हुँ, मेरो संघर्ष के हो ?’ भन्ने चेतना बढ्दै गयो । त्यसले आफ्नो घर, समुदाय र समाजमा परेको समस्या हेर्न, अन्याय विरुद्ध बोल्न र संगठित हुन सिकाउँदो रहेछ ।

नयाँ पुस्ताका युवाले आ–आफ्नो घरमा भएको समस्या खोज्ने क्रममा दनुवार बस्तीको विकराल समस्या बाहिर आएको हो । २०७२ सालमा भूकम्पले नयाँ अवस्था नबनेको भए जग्गाको स्वामित्व कसको छ ? हामीले आफ्नो जग्गाको हक कागजी रूपमा पाएका छौं कि छैनौं भन्ने चेतना पलाउन अझै कति वर्ष कुर्नुपर्ने थियो थाहा छैन । जग्गाको यो समस्या सजिलै बाहिर आउने थिएन ।

भूकम्पपछि सरकारले घर बनाउन अनुदान रकम दिन थाल्यो । त्यसबेला ३ लाख रुपैयाँ अनुदान लिन आफ्नो नामको जग्गा चाहिन्छ भन्ने कुरा थाहा भयो । लालपुर्जाको फोटोकपीदेखि नागरिकता र अरू कागजात आवश्यक पर्ने भएपछि दनुवार बस्तीमा ती कागजातको खोजी हुनथाल्यो ।

खोज्दै जाँदा कतिपयले आफ्नो नाममा जग्गा भेटाएनन् । त्यसले अनुदानको घर पनि आफ्नो नाममा बनाउन पाएनन् । कतिपयले मञ्जुरीनामा लिएर अर्को जग्गाधनीको नाममा घर बनाए ।

पाँचखालमा शरणप्रसाद आचार्य भन्ने व्यक्ति हुनुहुन्छ । उहाँले दनुवारहरूलाई ऋण दिने गर्नुहुन्थ्यो । केहीले थोरै ऋण लिएका थिए, केहीले सामान्य खर्च मात्रै सापटी मागेका थिए ।

उनीहरूले जग्गा पास गरेर शरणप्रसादलाई दिएको खुल्यो । एउटा पुर्जामा २/३ कित्ता जग्गा थियो, ऋण दिंदा एउटा मात्रै कित्ता आफ्नो नाममा लिनुपर्नेमा उहाँले सबै जग्गा पास गरेर लिनुभयो ।

यसरी बाउबाजेको पालादेखिको जग्गा छिमेकीले हडपेको र आफ्नो नाममा कब्जा गरेको थाहा पाएपछि दनुवारहरू एकजुट हुन थाले । जग्गा माग्न जान थालेपछि उहाँले ‘जग्गा दिन्छु’ भन्ने तर नदिने प्रवृत्ति देखाउनुभयो । ‘मैले दिनुपर्ने हिसाब कति हो, बुझाउँछु, जग्गा फिर्ता चाहियो’ भन्दा उहाँ भेट्नै नखोज्ने, तर्केर हिंड्ने गर्न थाल्नुभयो ।

पाँचखाल उपत्यकामा करिब १६ सय घरपरिवार दनुवार छन् । हरेक टोलमा १०/१५ जना पीडितहरू छन् । दनुवार बाहेक बाहुनक्षेत्री समुदायका कतिपय मानिसहरू पनि मिटरब्याज र जग्गा हडप्ने समस्याबाट पीडित छन्, तर बाहिर बोल्न चाहँदैनन् ।

केही वर्ष अघिसम्म त मापसे (मादक पदार्थ सेवन) को लतमा लागेका मानिसहरूले त्यही लोभमा २÷४ हजार पाएमा पनि जग्गा पास गरिदिएका रहेछन् । केहीलाई तिमीहरूको पुरानो लालपुर्जा काम लाग्दैन, नयाँ बनाइदिन्छु भनेर धुलिखेल लगेर रक्सी र मासु खुवाइदिएपछि शरणप्रसादले जे भने, गाउँका दनुवारले त्यही गरे, जग्गा अर्काको नाममा गयो । तर वर्षौंसम्म आफ्नो नामको लालपुर्जा अर्काको नाममा गएको उनीहरूलाई थाहै भएन ।

२०७४ सालमा हामी निर्वाचित भएपछि दनुवार बस्तीबाट जग्गासम्बन्धी २/३ वटा उजुरी लिएर आउनुभयो । हामी उहाँको घरमा गयौं । उहाँले ‘यो हाम्रो छुट्टै कारोबार हो, किन यसरी आएको ? मूल कारोबार तिमीहरूसँग होइन’ भन्नुहुन्थ्यो । त्यसपछि मैले त्यति धेरै चासो दिइनँ ।

उहाँले एक जना दिदीको जग्गा झुक्याएर आफ्नो नाममा पार्नुभएको रहेछ । उहाँको माइतीबाट बाबुआमाले फोन गरेर ‘मेरो छोरीको जग्गा खाएर उठीबास लगाइदिने भए । ज्वाईंले ३ लाख लिनुभएको रहेछ, अहिले ६ लाख बुझाइसक्यौं भन्छन् । जग्गा फिर्ताको पहल गर्नुप¥यो’, भन्नुभयो ।

मैले पीडितलाई सँगै लिएर गएँ । शरणप्रसाद आचार्यले भन्नुभयो, ‘लेनदेन मसँग छ, नगरपालिकाको उपमेयर यहाँ किन आउनुप¥यो ? उपमेयरको काम छैन ।’

मानमर्दन गर्न थालेपछि म उहाँको घरमा जान छाडें । भोलिपल्ट फेरि जग्गा दिन्छ कि भनेर ती पीडित दिदी जानुभएछ । त्यो जग्गा पछि अर्कैको नाममा बेचिएको थाहा भयो । न उहाँले बुझाएको पैसा फिर्ता पाउनुभयो, न जग्गा ।

शरणप्रसाद आचार्य र उनका छोराहरूले ‘ऋण तिरेमा जग्गा फिर्ता गरिदिन्छु’ भन्छन् । पैसा जुटाएर ऋण तिर्न गएपछि पैसा लिन्छन्, जग्गा दिंदैनन् । कतिपयले पैसा बुझाउन गए पैसा लिंदैनन्, तर ऋणको ब्याज जोडिरहन्छन् ।

दनुवार समुदायमा १०/२० वर्षअघि त शिक्षितहरूको संख्या निकै कम थियो । उनीहरूले ३० हजार ऋण लिएमा ३ लाख भयो भनेर कागजात बनाइदिए पनि कुनै पत्तो नपाउने अवस्था थियो । मेरो काका ससुराको जग्गा मैले ३ महिना लडेर फिर्ता लिएको हो ।

उहाँहरूले ३० हजार लिएको भन्नुहुन्छ, तर शरणप्रसादले ३ लाख लिएको कागजात र हिसाब राख्नुभएको रहेछ । थोरै पैसा दिएर धेरैलाई सास्ती दिने बानी देखियो । पछि विवाद नगरी ३ लाख तिरेर जग्गा फिर्ता लिनुभएको थियो । त्यो जग्गा दृष्टिबन्धक गरेर डिल्लीबजार मालपोत कार्यालयमा पु¥याइएको रहेछ । फुकाउन जाने क्रममा पनि उहाँले पटक–पटक झुलाउनुभयो ।

२०५०/५५ सालतिर हामी साना थियौं । बुढापाकाको कुरा सुन्दा उहाँले केहीलाई ऋण दिएर लालपुर्जा लिनुभएको रहेछ । पछि लालपुर्जा हराएको नाममा नयाँ निकाल्नुप¥यो । त्यसक्रममा बकसपत्र वा अरू केही विधिबाट फर्जी कागजात बनाएर जग्गा आफ्नो नाममा पार्नुभयो । अहिले सबैले आवाज उठाउन थालेपछि अप्ठेरो हुन थालेको छ । अनि ‘बकस गरेको जग्गा फिर्ता दिन्छु, मेयर उपमेयरलाई नभन्नु है’ भन्न थालेका छन् ।

उहाँले डरधम्की र त्रास देखाएकाले कतिपय पीडितहरू नगरपालिकासम्म पुग्न सकेका छैनन् । नगरपालिकासम्म पुग्ने कागजात पनि आफ्नो साथमा छैन । भएको जग्गा अर्कैको नाममा छ । मुद्दामामिला गर्न धुलिखेल जानु त टाढाको कुरा भयो ।

अब नगरपालिकाले सरकारसँग समन्वय गरेर पीडितको माग सम्बोधन र छानबिन गर्नुपर्छ । मिटरब्याजको समस्या सम्बोधन गर्न बनेको आयोगले राजधानी नजिकैको एउटा पिछडिएको समुदाय नै मारमा परेको घटनालाई गम्भीर भएर हेर्नुपर्छ ।

अहिलेको नयाँपुस्ताले यसरी बेसुरमा ऋण लिने र आफ्नो महत्वपूर्ण कागजात अरूलाई दिने गर्दैनन् । पहिले खसी काटेर भतेर खुवाउने र प्रलोभन दिएको भरमा ठग्ने काम हुन्थ्यो । अहिलेको पुस्ता त्यो प्रलोभनमा फस्दैनन् । बरु सहकारीमा चर्को ब्याज तिर्न तयार छन्, उसको घरमा गएर ऋण लिंदैनन् ।

दनुवार समुदायबाट प्रतिनिधि निर्वाचित भएपछि पछिल्लो पुस्ताका बालबालिका स्कुल पढ्न जान थाले । पढेकामध्ये कतिपयले विदेश पढ्न जान ऋण लिन खोजे । त्यसबेला लालपुर्जा खोज्दा घरमा भेटिएन । अनि विस्तारै आफ्नो समस्या र यथार्थ थाहा हुन थाल्यो ।

केही बस्तीका सबैजसो परिवारका लालपुर्जा शरणप्रसाद आचार्यको नाममा रहेको थाहा पाएपछि यो घटना बाहिर आएको हो । नगरपालिकाका जनप्रतिनिधिहरूले पीडितलाई सहयोग गरिरहेका छन्, तर जग्गा फिर्ता हुने गरी काम भएको छैन ।

यो समस्या समाधान भएन भने दनुवार बस्तीका करिब डेढ सय घर परिवार सुकुम्बासी हुन्छन् । कतिपय डरले अहिले पनि बाहिर बोल्न सकेका छैनन् । २०÷२५ हजार ऋण लिएर लालपुर्जा दिएको घरमा १२÷१५ कित्ता जग्गा शरणप्रसादले आफ्नो नाममा बनाएका छन् ।

शरणप्रसादले ती जग्गा अब बेच्न थालेका छन् । जसले गर्दा नयाँ जग्गाधनीले दनुवारहरूलाई घरबस्तीबाट हटाउने अवस्था आउँदैछ । भोलिका दिनमा समस्या समाधान भएन भने द्वन्द्व बढ्दै जान्छ । त्यसैले अहिले नै समस्यामा परेकाहरूको हितलाई केन्द्रमा राख्नुपर्छ, उनीहरूलाई सुकुम्बासी हुनबाट जोगाउनुपर्छ ।

(पूर्व उपप्रमुख दनुवारसँग अनलाइनखबरले गरेको कुराकानीमा आधारित ।)

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?