+
+

राहुल महरालाई थुनामा पठाउन न्यायाधीशले टेकेका ४ आधार

अनलाइनखबर अनलाइनखबर
२०८० असोज २६ गते २०:३८

२६ असोज, काठमाडौं । जिल्ला अदालत काठमाडौंले चार विभिन्न आधार र तथ्यको विश्लेषण गर्दा राहुल महरा विद्युतिय चुरोट (भेप)बाट सुन तस्करी गरेको घटनामा संलग्न देखिएको प्रारम्भिक निष्कर्ष निकाल्दै उनलाई थुनामा पठाउन आदेश दिएको छ ।

न्यायाधीश डण्डपाणि शर्माको इजलासले पहिलो र दोस्रो अभियोगपत्र तथा विभिन्न प्रमाणहरुबाट घटनामा उनको संलग्नता देखिएको प्रारम्भिक निष्कर्ष निकालेको हो ।

न्यायाधीश शर्माले उनको संलग्नताको चार आधार प्रस्तुत गरेका छन् । राहुल पूर्वसभामुख कृष्णबहादुर महराका छोरा हुन् ।

जिल्ला अदालतको आदेश अनुसार, भेप प्रकरणको पहिलो मुद्दामा राहुल महरा सुन किन्ने समूहमा रहेको खुलेको छ । उनीहरुले कुराकानी गर्ने जी–लिंक च्याटमा राहुल सुन किन्ने समूहमा रहेको देखिएको थियो ।

प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोमा बयान गर्दै भन्सार कार्यालयका कर्मचारीहरु मुक्तिप्रसाद श्रेष्ठ र अरुण पोखरेलले आफूहरुलाई राहुल महराले भेप छुटाउन दबाव दिएको भनी मौकाको कागज गरेका थिए, त्यसलाई समेत अदालतले प्रमाणको रुपमा लिएको छ ।

राहुल महराले सामान छुटाउन भन्सार कार्यालयमा पटकपटक फोन गरेको र दबाब दिएको घटना पुष्टि हुने भन्दै प्रहरीले अरु प्रमाण पनि पेश गरेको थियो ।

त्यसका साथै, राहुल र अरु व्यक्तिबीचको फोन सम्पर्कको विश्लेषण (कल डिटेल रेकर्ड)का आधारमा हेर्दा पनि राहुलले भन्सारका अधिकारीहरुलाई दबाब दिएको देखिएको आदेशमा उल्लेख छ । प्रहरीले त्यो प्रतिवेदनले अरु आरोपलाई ‘समर्थित गरेको’ भनेको छ ।

न्यायाधीश शर्माको आदेशमा भनिएको छ, ‘मिसिल संलग्न कागजात, प्रतिवादीको अनुसन्धान, अदालतको बयान र अभियोग दावी अनि हुनसक्ने सजाय समेतलाई विचार गर्दा हाल राहुल महरा निर्दोष रहेछन् भन्न मिल्ने नदेखिँदा पुर्पक्षका लागि थुनामा राख्न कारागार कार्यालय, जगन्नाथ देवल पठाउनु ।’

गत वर्ष भेपमा लुकाएर भएको सुन तस्करी प्रकरणमा जोडिएका चिनियाँ व्यापारी दावासँग राहुलको पटक पटक टेलिफोन सम्पर्क भएको सीआईबीकै अनुसन्धानबाट खुलेको थियो । तर सो प्रकरणमा सरकारी वकिल कार्यालयले उनीविरुद्ध मुद्दा चलाएको थिएन ।

तस्करीमा संलग्न व्यापारीसँग माओवादी उपाध्यक्ष महरा र उनका छोरा राहुलको पटक पटक टेलिफोन सम्पर्क भएको खुले पनि उनीहरुमाथि अनुसन्धान नभएको भन्दै सार्वजनिक रुपमा विरोध भइरहेको थियो ।

महराले भने घटनामा आफू संलग्न नभएको, बरु जफत भएका सामानको लिलामी प्रक्रियाबारे मात्रै बुझ्न खोजेको जवाफ दिएका थिए ।

जिल्ला अदालतको आदेशपछि राहुल अब थुनामा जानेछन् । जिल्ला अदालतको आदेश चित्त नबुझाए उनी उच्च अदालत पाटनमा जान पाउँछन् ।

उच्च अदालतले जिल्लाकै आदेश सदर हुने, धरौटी माग्ने वा सामान्य तारिखमा छाड्नेमध्ये एउटा आदेश गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?