
२७ असोज, मलेखु (धादिङ) । धादिङको त्रिपुरासुन्दरी–६ गोलाङमा रहेको भीमोदय माध्यामिक विद्यालयले गाउँमै विद्यार्थी टिकाउन १० लाख रुपैयाँको अक्षय कोष स्थापना गरेको छ ।
गोलाङ घर भई हाल अमेरिकामा बस्दै आएका दिवाकर पाण्डेको परिवारले स्व पिताको सम्झनामा ‘हिक्मतबहादुर पाण्डे–२०८०’ अक्षय कोष स्थापना गरेका हुन् ।
जन्मथलोमा रहेको विद्यालयको शैक्षिक गुणस्तर सुधार्ने र पढाइका लागि गाउँ छोड्नुपर्ने बाध्यतामा पुगेका विद्यार्थीलाई गाउँमै टिकाइ राख्ने उद्देश्यले केही रकम छुट्याएर कोषमा स्थापना गरेको उनले बताए ।
‘विद्यार्थी भाइबहिनीहरु गाउँ छोडेर अन्यत्र जानुपर्ने स्थिति अहिले देखिएको छ । घर आँगनकै विद्यालयबाट गुस्तरीय शिक्षा प्रदान गरेर उनीहरुलाई सहयोग पुर्याउने उद्देश्यले कोष स्थापना गरेको हुँ’, एनआरएन अमेरिकाको सहकोषाध्यक्षसमेत रहेका पाण्डेले भने, ‘विद्यालय स्थापनाका लागि बुबाको भूमिका अहम् थियो । यो कोष उहाँको सम्मानका लागि पनि हो ।’
आफू देश बाहिर भए पनि जन्मथलोसँग जोडिएको भावनात्मक सम्बन्धलाई फेरि जोड्नका निमित्त सहयोग गरिएको पाण्डेको भनाइ थियो । विद्यालयमा अक्षय कोष स्थापना भएसँगै आर्थिक अवस्था कमजोर भएर पढाई छोड्नुपर्ने बाध्यता भएकाका विद्यार्थीको शैक्षिक गन्तव्य सुनिश्चितता हुने भएपछि विद्यालयका शिक्षकको भनाइ छ ।
प्रतिक्रिया 4