
काठमाडौं । अन्तिम समयमा बिपिन कार्कीले बलिउड फिल्म ‘एनिमल’ गुमाउनुपर्यो । सोही समयमा ‘प्रसाद २’को छायांकन सेड्युल जुधेपछि बिपिनका लागि तत्काल बलिउड डेब्यु टरेको थियो ।
तर, ‘एनिमल’ निर्देशक सन्दीप रेड्डी भांगाको आगामी एक फिल्ममा बिपिन देखिने सम्भावना छ । उनी केही दिनदेखि भांगाको सम्पर्कमा छन् र यी दुईबीच उक्त प्रोजेक्टलाई लिएर कुराकानी पनि भएको छ ।
अनलाइनखबरसँग कुरा गर्दै बिपिनले आफूलाई निर्देशक भांगाले आगामी फिल्मका लागि आश्वासन दिएको र उनीसँग काम गर्नु आफ्नो ‘ड्रीम पर्फमेन्स’ समेत हुने बताएका छन् ।
यो विकासबारे बिपिनले भने, ‘म अझै पनि कुरा गर्दैछु उहाँहरुसँग । मलाई भांगासँग एउटा फिल्ममा काम गर्न मन छ । उहाँको एउटा आश्वासन पनि छ । ‘एनिमल’मा नभैसकेपछि उहाँले बिपिन हामीले पहिलो काम पो गर्न खोजेको त, तँलाई भर्खर पो चिनेको त । यही नै अन्तिम पनि होइन नि त । तैंले खेल्न पाइँन भनेर तँ चिन्तित नहोऊ भनेर भन्नुभएको थियो ।’
बिपिन थप भन्छन्, ‘मैले त्यहाँ काम गर्न लागेर पनि हुन नसकेको कुरा मेरो आफ्नै कारणले हो । उहाँले आगामी प्रोजेक्ट गर्दै हुनुहुन्छ भन्ने थाहा छ । हामी निरन्तर कुराकानी गरिरहेका छौं । आगामी फिल्ममा म हुन्छु भन्ने कुरामा आशावादी छु ।’
बिपिन ‘एनिमल’मा नभएपछि निर्माताले अर्का एक नेपाली कलाकारलाई लिएर लण्डनमा फिल्म सुटिङ गरेको थियो । ‘कबीर सिंह’ फेम्ड निर्देशक भांगाको नयाँ फिल्म ‘एनिमल’ डिसेम्बर १ मा प्रदर्शन तयारीमा छ । नेपालमा बिपिन अभिनित फिल्म ‘पशुपतिप्रसाद २ : भष्मे डन’ प्रदर्शन तयारीमा छ ।
प्रतिक्रिया 4