
काठमाण्डौं । अभिनेता अनमोल केसी काममा फर्किएका छन् । उनको आगामी फिल्म ‘फर्की फर्की’को कार्यशाला सुरु भएको छ । निर्माता रोहित अधिकारीले उपलब्ध गराएका तस्वीरमा केसीलाई ताजा आभामा देख्न सकिन्छ ।
दुई साताअघिसम्म करिअरकै उतारचढावपूर्ण श्रृंखलाको साक्षी बनेका अनमोल शुक्रबारदेखि नियमित काममा फर्किएका हुन् । निर्माता अधिकारीले कलाकार र निर्देशकीय टिमको उपस्थितिमा फिल्मको वर्कसप सुरु भएको जनाए ।
अभिनेत्री जसिता गुरुङले केही दिनमा वर्कसप ज्वाइन गर्नेछिन् । यतिबेला अनमोलसहित समृद्धि अर्याल, रवि काफ्लेले फिल्मबारे बुझिरहेका छन् ।
सुयोग गुरुङ निर्देशित ‘फर्की फर्की’ फिल्मले रिलिज मितिसमेत तय गरेको छ । यो फिल्मलाई आगामी जेठ ११ गते रिलिज गर्ने निर्माताले घोषणा गरेका छन् । छायांकन मंसिर १ गतेदेखि सुरु हुने भएको छ । प्रेमकथामा आधारित यो फिल्मको छायांकन काठमाडौं, पोखरा लगायतका स्थानमा हुने भएको छ । एक रोमान्टिक गीतलाई इण्डोनेसियाको बालीमा सुट गर्ने तयारी छ ।
अधिकारी र ओमप्रकाश अग्रवालको निर्माणमा बन्ने फिल्मको सहनिर्मातामा मनोज वली र ओम अग्रवाल छन् । नरेन्द्र मैनालीको छायांकन हुने फिल्ममा रोमन बज्राचार्य, नरेन लिम्बू र अनमोल गुरुङको संगीत हुनेछ ।
केही दिनअघि अनलाइनखबरसँग कुरा गर्दै अभिनेता केसीले २०८१ सालमा आफ्ना तीन फिल्म रिलिज हुने बताएका थिए । जसमा फर्की फर्की, जेरी अनटप र शीर्षक तय भइनसकेको होम प्रोडक्सन फिल्म छ ।
प्रतिक्रिया 4